• २२ कात्तिक २०८२, शनिबार

प्रहरीको नेतृत्वमा चार घर, सात काठेपुल निर्माण

blog

बागचौर नगरपालिका –८ की ८० वर्षीया एकल महिला नोखा भण्डारीको घर निर्माण पश्चात् सम्मान व्यक्त गर्दै जिल्ला प्रहरी प्रमुख । तस्बिरः शंकर केसी

शंकर केसी

सल्यान, कात्तिक २२ गते । कानुन कार्यान्वयन र अपराध नियन्त्रणको अलावा सल्यानमा नेपाल प्रहरीको नेतृत्वमा बेसहारा गरिव नागरिकको घर तथा सार्वजनिक काठेपुल निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालयले नागरिकहरुसँग सहकार्य गर्दै हालसम्म गरिब र बेसहारा परिवारका लागि चार वटा घर, विभिन्न नदी तथा खोलामा सातवटा काठे पुल निर्माण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले हाल शारदा नगरपालिकामा सामुदायिक विद्यालयको जिर्ण भवन भत्काएर नयाँ निर्माण भइरहेको जानकारी गराउँदै अर्को एक विद्यालय भवनको निर्माण कार्य तत्काल सुरु गरिने बताउनुभयो । यसअघि प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा जोखिमयुक्त ३५ किलोमिटर बढी सडक मर्मत गरेको थियो ।

३५ वर्षकै उमेरमा श्रीमान् र दुई छोरा गुमाउनुभएकी बनगाड कुपिण्डे नगरपालिका –९ ठन्डारा निवासी बेसहारा ७६ वर्षीया वृद्धा अमृता परियारले प्रहरी र सहयोगी दाताले आफ्नो नयाँघर बनाइदिएको भन्दै खुसी व्यक्त गर्नुभयो । परियारले जङ्गलको बिचमा खरको घरमा एक्लै जिवन बिताउँदै आउनुभएको थियो । जिल्ला प्रहरी कार्यालय सल्यान र समाजसेवी मधुसुदन सिजवालको सहकार्यमा नयाँ घर निर्माण गरिएको छ ।

यसअघि बनगाड कुपिन्डे नगरपालिका –९ रातामाटाकी ५९ वर्षीया भगी विकको नयाँ घर पनि निर्माण गरिएको थियो । बागचौर नगरपालिका –८ की ८० वर्षीया एकल महिला नोखा भण्डारीको चर्किएको र जोखिमपूर्ण घर पनि प्रहरीकै नेतृत्वमा नयाँ बनाइएको छ । कालिमाटी गाउँपालिका –३ मर्चेबारीमा पनि लक्ष्मी कुवरको घर निर्माण गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले कानुनको कार्यान्वयन गर्ने सन्दर्भमा होस् या अपराध नियन्त्रण, शान्ति, सुरक्षाको सन्दर्भमा प्रभावकारी रुपमा काम गरिरहेको छ, जिल्ला प्रहरी प्रमुख डा. केसीले भन्नुभयो, “यस्ता काममा मात्र सीमित हुने संस्था होइन प्रहरी, नागरिकको सुख दुःखमा पनि प्रहरीले हातेमालो गर्दछ ।” स्थानीयस्तरमा पाइने सामग्रीहरूको अधिकतम प्रयोग गरेर भौतिक संरचना निर्माणमा हामी लागेको उहाँको भनाइ छ। 

शारदा नगरपालिका –११ तल्लो स्यालास्थित बाल कल्याण आधारभूत विद्यालयको नयाँ पाँच कोठे भवन निर्माणको काममा पनि दैनिक ५० जना प्रहरी जनशक्ति खटिरहेको प्रहरीले जनाएको छ । यो बिद्यालय भवन जनश्रमदानबाट निर्माणका लागि शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी सहितका अन्य जनप्रतिनिधि तथा स्थानीयहरु खट्नुभएको छ।