• १२ असोज २०८१, शनिबार

केवलकार निर्माणविरुद्ध सङ्घर्ष समिति गठन

blog

केवलकार निर्माणविरुद्ध सङ्घर्ष समिति गठनबारे जानकारी गराइँदै । तस्बिर – चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ ११ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा केवलकार निर्माण गर्न नहुने भन्दै सङ्घर्ष समिति गठन गरिएको छ । पाथीभरामा निर्माण गर्न लागिएको केबलकार खारेजीको माग गर्दै ‘केबलकार निर्माण खारेजी सङ्घर्ष समिति’ गठन गरिएको हो । 

पाथीभरामा केवलकार निर्माण प्रक्रिया सुरु भएपछि बनेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान सङ्घले सङ्घर्ष समितिको घोषणा गरेका छन् ।

उक्त संस्थाहरुले एकहजार आठ सदस्यीय केवलकार निर्माण खारेजी सङ्घर्ष समिति गठन गरेको सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । 

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्षसमेत रहनुभएका खगेन्द्र फेम्बू लिम्बूको संयोजकत्वमा उक्त सङ्घर्ष समिति घोषणा गरिएको हो । सङ्घर्ष समिति सार्वजनिक गर्दै केवलकार निर्माणविरुद्ध जस्तोसुकै मूल्य चुकाउन आफूहरु तयार रहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिका संयोजक श्री लिङ्खिमले बताउनुभयो ।

लिम्बू समुदायको ऐतिहासिक धार्मिक आस्थाको केन्द्र मुक्कुमलुङको रक्षा तथा प्राकृतिक स्रोतको संरक्षणका लागि सङ्घर्ष समितिको नेतृत्वको हैसियतले आफूले जस्तोसुकै बलिदान दिन तयार रहेको खगेन्द्र फेम्बूले बताउनुभयो ।

लिम्बूको मुन्धुमी स्थल पवित्र धार्मिक आस्थाको केन्द्र मुक्कुमलुङको अस्तित्व मात्र नभई यस क्षेत्रमा पाइने रुख बिरुवा, बहुमूल्य जडीबुटी, लोपोन्मुख वनस्पतिलगायत जैविक विविधता नाश हुने हुँदा यसको संरक्षणका लागि आफूहरु लागिपरेको संयोजक फेम्बूको भनाइ छ । 

विकासको नाममा धार्मिक स्थलसँगै प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अस्तित्वमाथि नै असर पुग्नेगरी कुनै पनि कार्य गर्न नहुने सङ्घर्ष समितिका विभिन्न नेतृत्वले बताएका छन् । केवलकारको कुनै पनि काम गर्न नदिने र काम सुरु गरेमा आफूहरु सशक्त प्रतिरोधमा उत्रिने समितिले जनाएको छ । 

पाथीभरामा पाथीभरा दर्शन केवलकार प्रालिले केवलकार निर्माण गर्नेगरी सबै प्रक्रिया पूरा गरिसकेको जनाइएको छ । स्थानीय समुदायको सहमति विना व्यवसायिक योजनाका साथ केवलकार निर्माण गर्ने प्रक्रियाको थालनी भएको भन्दै सुरुदेखि नै विरोध हुँदै आएको छ ।