बेरुत (लेबनान), माघ ५ गते । सबैभन्दा जोखिम र सुरक्षा चुनौती मानिएको ‘ब्लु लाइन’ क्षेत्रको सुरक्षाको पूर्ण जिम्मा नेपाली सेनाले लिँदै आएको छ। यस क्षेत्रमा अन्य मुलुकका सैनिकलाई पनि खटाइएकोमा नेपाली सेनाको भूमिका निकै प्रभावकारी देखिएकाले यहाँको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई नै दिइएको हो।
नेपाली सेनाको अनफिल (लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घ अन्तरिम बल) मिसन गोरखबक्स गणका प्रमुख सेनानी विकास केसीले भन्नुभयो, “ब्लु लाइन क्षेत्रको सुरक्षाको जिम्मा अन्य देशका सैनिकलाई दिइएको थियो तर प्रभावकारी हुन सकेन। नेपाली सेनाले निकै सतर्क र कुशलतासाथ सुरक्षा प्रदान गर्दै आएको छ।”
सीमा क्षेत्र जुनसुकै बेला युद्ध भूमिका रूपमा परिणत हुन सक्छ। त्यस्तो अवस्थामा भौगोलिक बनोटअनुसारको प्रशिक्षण, पूर्वतयारी तथा नागरिकसँगको सुमधुर सम्बन्धका कारण जोखिमपूर्ण सो क्षेत्रमा नेपाली सेनाले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको छ। लेबनान र इजरायलबीचको सीमालगायतका विवादका कारण पटक–पटक युद्ध हुँदा दुवै देशतर्फ ठूलो जनधनको क्षति भएको छ। सन् १९४८ मा अरब–इजरायल युद्धपछि इजरायल र लेबनानबीच विवाद बढ्दै जाँदा सिमानामा सधैँ तनावको अवस्था रहेको छ। सम्भावित युद्धका कारण हुन सक्ने मानवीय क्षति रोकथामका लागि संयुक्त राष्ट्रसङ्घले लेबनानमा अनफिल मिसन स्थापना गरी ४८ देशका करिब ११ हजार सैनिक तैनाथ गरेको छ। तीमध्ये सबैभन्दा जोखिम र सुरक्षा चुनौती मानिने ‘ब्लु लाइन’ क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई तोकिएको हो। विवादित सीमामा दैनिक शङ्कास्पद गतिविधि हुने एक अर्काले ‘ब्लु लाइन’ हिंसा गर्न खोज्दा उत्पन्न हुने विवादले जुनसुकै बेला गोलाबारुद प्रहार हुने गर्छ।
लेबनान र इजरायलले आआफ्नै दाबी गरेको सिमानाको विवादित भूमि छुट्याउने गरी गाडिएका ‘ब्लु ब्यारेल’सहितको क्षेत्रलाई ‘ब्लु लाइन’ क्षेत्र भनिन्छ। संयुक्त राष्ट्रसङ्घले दुई देशको द्वन्द्व समाधान गर्ने उद्देश्यले लेबनान र इजरायलको सहमतिमा नै सन् २०००, जनवरी ७ मा स्थापना गरेको हो।
लेबनान र इजरायलले आआफ्नै दाबी गरेको सिमानाको विवादित भूमि छुट्याउने गरी गाडिएका ‘ब्लु ब्यारेल’सहितको क्षेत्रलाई ‘ब्लु लाइन’ क्षेत्र भनिन्छ।
अस्थायी रूपमा नक्साङ्कन गरिएको ‘ब्लु लाइन’मा दुवै देशका सैनिक र गैरसैनिकसहित मानव उपस्थितिमा नै रोक लगाइएको छ। नागरिकको आवरणमा विद्रोही समूहले उक्त मानवरहित क्षेत्रमा प्रवेश गर्दा विवाद र द्वन्द्वको अवस्था सिर्जना हुने गरेको त्यहाँ तैनाथ शान्ति सैनिक बताउँछन्। इजरायल पक्षले आफ्नो भूभागतर्फको जमिनमा काँडेतारसहितको पर्खालले तारबार गरेको छ। लेबनान पक्षले भने आफ्नो काँडेतारभित्रसम्म फैलिएको भन्दै ब्लु लाइनमा प्रवेश गरी इजरायलका पर्खालमा ढुङ्गामुढा, ग्रिनाइडलगायत हातहतियार प्रदर्शन गर्दै आएका छन्।
स्थानीय नागरिकका समस्यामा सहयोगी भूमिका निर्वाह गर्ने र अप्ठ्यारो पर्दा नेपाली सेनाले जुनसुकै बेला सहयोग गर्ने गरेको स्थानीय नासिर हुसेनले बताउनुभयो। उहाँले भन्नुभयो, “नेपाली सैनिक टोलीले विभिन्न स्वास्थ्य तथा शैक्षिक शिविरमार्फत विभिन्न सहयोग गरिरहेको छ।”
संयुक्त राष्ट्रसङ्घको आग्रहमा नेपाली सेना सन् १९५८ मा पहिलो पटक पाँच जनाको पर्यवेक्षक टोली लेबनानमा खटिएको थियो। हाल युनिफिल मिसनअन्तर्गत लेबनानको पूर्व र पश्चिमी सीमानाकामा नेपाली सेनाका १२ वटा युनिटमार्फत ८५० सैनिक तैनाथ गरिएको छ। क्रस बोर्डर हिंसा रोकथामका लागि नेपाली सैनिक टोलीले दैनिक एक सयवटा गस्ती पेट्रोलिङ गर्दै आएको छ। गत ६० वर्षको अवधिमा लेबनानमा ३२ जना नेपाली शान्ति सैनिकले ज्यान गुमाएका छन्।
यसैबीच लेबनानमा तैनाथ अनफिल शान्ति मिसनको अवलोकन भ्रमणका क्रममा नेपाली सेनाका सहायक रथी जोन्सन खड्का र अनफिल मिसन इस्ट सेक्टर कमान्डर स्पेनी ब्रिगेडियर जनरल मेलक्लोर मारिन एलभिराबीच सोमबार भेटवार्ता भएको छ। अनफिल मिसनमा नेपाली सैनिक टोलीको समेत नेतृत्व गर्नुभएका एलभिराले सहायक रथी खड्कासँगको कुराकानीका क्रममा अनफिल मिसन तथा लेबनान सुरक्षामा बढी जानकार नेपाली सेना नै रहेको धारणा व्यक्त गर्नुभयो।
जनरल एलभिराले कमान्ड गरेको विभिन्न देशका सैनिकको जिम्मेवारी लेबनान–इजरायलबीचको विवादित भूमि ‘ब्लु लाइन’को प्रभावकारी सुरक्षा अनुगमन गर्नु रहेको छ, जुन जिम्मेवारी अनफिलमार्फत नेपाली सेनालाई तोकिएको छ।