• १२ असार २०८१, बुधबार

ताप्लेजुङ प्रहरीलाई उल्लेख्य सफलता

blog

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ ।

ताप्लेजुङ, पुस १० गते । विभिन्न घटनाका दोषी तथा आरोपीलाई पक्राउ गर्ने कार्यमा ताप्लेजुङ प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ । चालू आर्थिक वर्षको पुसको पहिलो साता सम्ममा दोषी तथा आरोपीमध्ये करिब ९३ प्रतिशतलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार विभिन्न अपराधका घटनामा संलग्न ४२ आरोपीमध्ये ३९ जना पक्राउ परेका छन् । चालू आव २०७९/८० को पुस ४ गते सम्ममा ताप्लेजुङमा विभिन्न ६६ वटा घटना भएका छन् । उक्त घटनामा संलग्न रहेका ४२ आरोपीमध्ये ३९ जनालाई पक्राउ गरेको र तीन जना मात्र हाल फरार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार जबरजस्ती करणी, हात हतियार तथा खरखजाना र लागू औषध घटनाका आरोपी तीन जना मात्र हाल फरार रहेका छन् । अपराध घटनाका दोषी तथा आरोपी ३९ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रनाउ राईले बताउनुभयो । उहाँका अनुसार ६६ घटनामध्ये २६ वटा घटनाको फर्स्योट पनि भई सकेको छ । 

हालसम्म कर्तव्य ज्यानका तीन वटा घटनाको फर्स्योट भइसकेको छ । कर्तव्य ज्यान घटनाका पाँचै जना दोषी पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग एक घटनाका तीन आरोपीसमेत पक्राउ परेका छन् । यस्तै फुटकर ज्यानका दुई वटा घटना भएका छन् । बिरामी भई उपचारको क्रममा एक जनाको मृत्यु भएको घटनासमेत प्रहरीमा दर्ता भएको छ । 

त्यस्तै भवितव्य ज्यानका १३ वटा र सवारी ज्यानसम्बन्धी एउटा घटना भएका छन् । यी दुवै मुद्दाको फर्स्योट बाँकी रहेको छ । भीरबाट हाम फालेर एक, झुन्डिएर १६, विष सेवन तीन र खोलामा हाम फालेर एक जनाले आत्महत्या गरेका छन् । उक्त घटनाहरूको कारबाही प्रक्रिया चलिरहेको र मुद्दाको फर्स्योट बाँकी रहेको प्रहरीले जनाएको छ । 

यस्तै जबरजस्ती करणीका चार वटा घटना भएकोमा तीनको फर्स्योट भइसकेको छ । करणी घटनाका पाँच आरोपीमध्ये चार जना पक्राउ परेका छन् । एक जना फरार रहेका र फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरी कार्यालयले जनाएको छ । जबरजस्ती करणी उद्योगका दुई वटा घटनाको फर्स्योट भएको छ भने यस घटनाका दुई आरोपी पक्राउ परेका छन् । 

बहुविवाहको एक घटना भएको र मुद्दाको फर्स्योट पनि भइसकेको छ । बहुविवाहका आरोपी दुई जनानै पक्राउ परेका छन् । अभद्र व्यवहारका पाँच घटना भएकोमा आरोपी पाँचै जना पक्राउ परेका र मुद्दाको फर्स्योट पनि भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता सवारी ज्यानको एउटा घटनामा संलग्न एक जना आरोपी पक्राउ परेको र सो मुद्दाको फर्स्योट भने भइसकेको प्रहरीले जनाएको छ । 

त्यस्तै कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी एउटा घटना भएको छ । हात हतियार तथा खरखजानाका तीन घटना भएकोमा तीन वटै मुद्दाको फर्स्योट भएको छ । घटनाका पाँच आरोपीमध्ये एक जना भने फरार छन् । लागू औषधका चार वटा घटना भएकोमा चारवटैका फर्स्योट भएको छ । यस घटनाका सात आरोपीमध्ये छ जना पक्राउ परेका छन् भने एक जना फरार छन् । 

चोरी तथा डाँकासम्बन्धी एउटा घटना भएकोमा मुद्दा फर्स्योट भई घटनाका चार आरोपी पक्राउ परी पुर्पक्षका लागि थुनामा पठाइएका छन् । त्यस्तै ज्यानसम्बन्धी एक घटना भएकोमा त्यसको फर्स्योट बाँकी रहेको छ भने राष्ट्रसेवकलाई बाधा–विरोध गर्न नहुनेसम्बन्धी एउटा घटनामा संलग्न एक जनालाई पक्राउ गरी मुद्दा चलाइएको र मुद्दाको फर्स्योट पनि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।