• ९ मंसिर २०८१, आइतबार

बसपार्क नहुँदा मार्तडीका सडकमै पार्किङ

blog

बाजुराको सदरमुकाम मार्तडीमा पार्किङ् गरिएका सवारी साधन । तस्बिर – शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, मङसिर २६ गते । बाजुराको सदरमुकाम मार्तडीमा बसपार्क नहुँदा पार्किङको समस्या भएको छ । झण्डै चार वर्ष वर्षअघि मात्रै साँफेमार्तडी राजमार्ग अन्तर्गत बाजुराको बार्जुगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भएको थियो ।

सडक कालोपत्रे भएसँगै बाजुराको सदरमुकाम मार्तडीको कागागारसम्म गाडी पुगे पनि बसपार्क नहुँदा पार्किङको समस्या भएको पवनदुत बस यातायात समितिका काउन्टर इन्चार्ज सन्तोष डँडालले बताउनुभयो । 

उहाँले, मार्तडीमा सडक पुगेर केही सजिलो भए पनि सवारी साधन राख्न पार्किङ नहुँदा समस्या भएको बताउनुभयो । 

काठमाडौं, नेपालगञ्ज, महेन्द्रनगर धनगढी, अत्तरियाबाट आउने सवारी साधन सडकको छेउमै राख्नुपर्छ, डँडालले भन्नुभयो, “यसले गर्दा बाजुराका स्थानीयवासीले दुर्घटनाको जोखिम मोल्नु पर्ने अवस्था छ ।’’

बडिमालिका नगरपालिका –८ को पाल्त भन्ने स्थानमा बसपार्क बन्न लागेको झण्डै दुई, तीन वर्ष भयो । तर अहिलेसम्म त्यो बसपार्क निर्माणको काम सम्पन्न भएको छैन ।

अझैँ बसपार्क निर्माणको काम नहुँदा तलबाट आउने लामो दुरीका सवारी साधन पार्किङ गर्न समस्या भएकाले मार्तडीको तुफानडाँडादेखि कारागारसम्मको झण्डै पाँच सय मिटर सडक छेउमै बस पार्किङ गर्दै आएको डडालले बताउनुभयो ।

बस सडकको छेउमै राखेपछि स्थानीयलाई दुरुसञ्चार आउजाउ गर्न समेत समस्या भएको दूरसञ्चार शाखा बाजुरामा कर्मचारी गङ्गाराज जोशीले बताउनुभयो ।

पार्किङका लागि ठाउँ नहुँदा निजी सवारीसाधन लगेर जानेहरूलाई झन् समस्या हुने गरेको छ । 

पवनदुत, यातायात, पवनदुत महेन्द्रनगर, महाकाली, सुप, कर्णाली, मालिका, जयमालिका, खप्तड मालिका, सुदूरपश्चिम यातायातका दुई दर्जन भन्दा बढी गाडी मार्तडीमा सञ्चालनमा छन् ।

बडिमालिका नगरपालिका प्रमुख अम्मर खड्काले पाल्तमा अघिल्लो नगरकमिटीले बसपार्क निर्माण गरेको छ । तर त्यसमा गाडी सबै नअट्ने भएकाले त्यसलाई कोल्टीसम्म चल्ने जिपहरूका लागि बसपार्क बनाउने र स्थायीरुपमा बाउलीमा बसपार्क निर्माण गर्ने बताउनुभयो ।

उहाँले, अन्य ठूला सवारी साधनका लागि चाँडै नै जमिन खरिद गरी स्थायी रूपमा बसपार्कको निर्माण गर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटीले बसपार्क नहुँदा हामीलाई सवारीसाधन व्यवस्थापनमा निकै समस्या भएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रबहादुर विष्टले अहिले अधिकांश यातायातका सवारी सधान सडकको छेउछाउमै पार्किङ गरिरहेकाले बस व्यवस्थापन समितिलाई व्यवस्थापन गर्न निर्देशन दिएको बताउनुभयो ।