• ७ पुस २०८१, आइतबार

बिरामी बालकको उपचार शुल्क मिनाहा

blog

अस्पतालमा बिरामी अशोक शाही । तस्बिर – पलाँता गाउँपालिका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बमबट ।

प्रेमराज सिंखडा

कालीकोट, मङ्सिर २६ गते । पलाँता गाउँपालिकाद्वारा सञ्चालित अस्पतालमा उपचार खर्च तिर्न नसकेका एक बालकको शुल्क मिनाहा भएको छ । 

२० दिनसम्म उपचार गराइरहनुभएका पलाँता ६ का घाटे शाहीका छोरा वर्ष १३ का अशोक शाहीको ४० हजार रुपियाँ अस्पतालले निःशुल्क गरेको हो । यसअघि शुल्क तिर्न नसक्दा अस्पतालले डिस्चार्ज गरेको थिएन ।

उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बन्धक शीर्षकमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि गाउँपालिकाको निर्देशनमा शुल्क मिनाहा गरिएको हो । 

गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले शुल्क मिनाहा गर्न निर्देशन दिएकाले अस्पताल प्रमुख डा. विजयकुमार महतोले सबै शुल्क छुट गरेको बताउनुभयो ।   

बिरामी बालककी आमा बेलपुरा शाहीले शुल्क मिनाहा भएकाले आफूलाई निकै सहज भएको बताउनुभयो ।