• १२ असार २०८१, बुधबार

ताप्लेजुङमा मोतिया विन्दुका रोगी धेरै

blog

शिविरमा बिरामीको आँखा परीक्षण गर्दै चिकित्सक । तस्बिर : चन्द्र पन्दाक ।

ताप्लेजुङ, मङ्सिर २२ गते । ताप्लेजुङमा मोतिया विन्दुका रोगी उल्लेख्य पाइएको छ । सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि सुरु भएको तीन दिने नि:शुल्क आँखा शिविरमा मोतिया विन्दुका रोगी (बिरामी) उल्लेख्य आएका छन् । 

शिविरको पहिलो दिन मङ्गलबार र दोस्रो दिन बुधबार उपचार सेवा लिन आएकामध्ये ७५ जनामा मोतिया विन्दु पहिचान भएको छ । आँखा परीक्षणका क्रममा शल्यक्रिया नै गर्नुपर्ने खालको मोतिया विन्दुका रोगी फेला परेका जिल्लास्थित डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो । 

इन्चार्ज गुरुङका अनुसार मोतिया विन्दुका रोगी ७५ मध्ये बुधवार बेलुका सम्ममा ४५ जनाको शल्यक्रिया गरिएको छ । बाँकी रहेका र शिविरमा उपचार सेवा लिन आउने सेवाग्राहीमा मोतिया विन्दु पहिचान भएका सबैको शल्यक्रिया गरिने पनि उहाँले जानकारी दिनुभयो ।

मुख्य आयोजक नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङका अनुसार शिविर सुरु भएको दुई दिन अर्थात् बुधबार सम्ममा चार सय बढी सेवाग्राहीले आँखाको परीक्षण तथा उपचार गराएका छन् । मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा फुङ्लिङ नगरपालिका, सेवा फाउन्डेसन, लायन्स क्लब अफ काठमाडौं, हाम्रो रूपान्तरण अभियान, सानिमा मध्यतमोर जलविद्युत परियोजना र सानिमा बैङ्कको साझेदारीमा आँखा शिविर सञ्चालन गरिएको बताइएको छ ।

यता शिविरमा मेची आँखा अस्पताल झापाका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीको नेतृत्वमा १३ जनाको चिकित्सक र प्राविधिकसहितको आँखा उपचार तथा परीक्षणमा संलग्न रहेको नेत्र ज्योति संङ्घ ताप्लेजुङका सचिव खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । शिविर बिहीबार आज सम्पन्न हुने छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।