• १२ असोज २०८१, शनिबार

ओखलढुङ्गा प्रहरीलाई नयाँ भवन

blog

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाकाे अत्याधुनिक नयाँ भवन

शेरबहादुर राई 

ओखलढुुङ्गा, मङ्सिर २० गते । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा अत्याधुनिक नयाँ भवनमा सरेको छ । साबिक प्रहरी परिसरमा १० करोड १० लाख ४४ हजार रुपियाँको लागतमा सुविधा सम्पन्न भवन औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

नवनिर्मित भवनको एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले उद्घाटन गर्नुभयो । कार्यालय भवनसँगै, जवान ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत र जुनियर अधिकृत आवासलगायत नव निर्मित भवनहरूको आइजिपी सिंहले उद्घाटन गर्नुभएको हो । 

प्रहरी सङ्गठन जनताप्रति समर्पित एक कुशल र प्रतिबद्ध सङ्गठनलाई भएका थप मजबुद, सक्रिय र जनमैत्री बनाउन नवनिर्मित भौतिक संरचनाहरूले ठूलो भूमिका खेल्ने आइजिपी सिंहले बताउनुभयो । नवनिर्मित भवनले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीको अव्यक्त पीडाको अन्त्य भएको विश्वास व्यक्त गर्दै यसले थप हौसला मिल्ने अपेक्षा रहेको उहाँको भनाइ छ । 

नव–निर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, भान्साघर तथा शौचालयका भवनहरू भौगोलिक बनावटअनुसार भूकम्प प्रतिरोधात्मक, मजबुद र सुन्दर रहेको १ नं. प्रदेश प्रहरी भौतिक पूर्वाधार शाखा प्रमुख प्राविधिक प्रहरी उपरीक्षक इन्जिनियर अनिल रानाले बताउनुभयो ।

अत्यावश्यक भौतिक संरचनाको व्यवस्था भएसँगै सेवा प्रवाहमा सहज हुने ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शुकदेव खनालले बताउनुभयो । 

२०७६ साल पौष महिनादेखि सुनकोसी कन्स्ट्रक्सन नेपाल प्रालिले जिल्ला प्रहरी कार्यालयको भवन निर्माण कार्य सुरु गरेको थियो । यस अघि जिल्ला प्रहरी कार्यालय भूकम्पले जीर्ण बनाएको पुरानो कच्ची भवनमा थियो ।