• ४ जेठ २०८१, शुक्रबार

दूधमा आत्मनिर्भर बनाउन उन्नत जातको गाई वितरण

blog

ढुङ्गे साँघुका किसानलाई वितरण गरिएको उन्नत जातको गाई । तस्बिर: गोरखापत्र

ताप्लेजुङ, मङ्सिर २० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गे साँघुका किसानलाई उन्नत जातको गाई वितरण गरिएको छ । दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले ढुङ्गे साँघुका किसानलाई होलस्टेन र जर्सी जातको गाई वितरण गरिएको हो । 

गाई पालनमा संलग्न किसानलाई वडा कार्यालयको ५० प्रतिशत सहयोगमा उन्नत जातको गाई वितरण गरेको वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो । वडाध्यक्ष तामाङका अनुसार करिब आठ लाख रुपियाँ बराबरको १३ वटा उन्नत जातको गाई खरिद गरी किसानलाई वितरण गरिएको हो । कूल लागतको ५० प्रतिशत रकम किसान आफैँले बेहोरेका छन् । 

ढुङ्गे साँघुका स्थानीय किसानलाई वितरण गरिएको होलस्टेन र जर्सी जातको गाई चितवनदेखि खरिद गरेर ल्याइएको पनि वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँकाअनुसार दूध उत्पादन गरी आत्मनिर्भर बन्न चाहने किसानलाई वडाले सहयोग गरेको हो । यता वडा कार्यालयको ५० प्रतिशत सहयोगमा उन्नत जातको गाई पाउँदा स्थानीय किसान हर्षित भएका छन् ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।