• १२ असोज २०८१, शनिबार

सव-स्टेसन बनाउन घिसिङद्वारा सम्भाव्य स्थानको अवलोकन

blog

धनगढीका नगर प्रमुख गोपाल हमाल र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङ भेटवार्ता गर्नुहुँदै । तस्बिर : सामाजिक सञ्जालबाट

अविनाश चौधरी

धनगढी, मङ्सिर १८ गते । नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धनगढीमा विधुत सव–स्टेसन बनाउनका लागि सम्भावित स्थानको अवलोकन गर्नुभएको छ । शनिबार र आइतबार उहाँले सम्भावित स्थानको अवलोकन गर्नुभएको हो । 

सव–स्टेशन बनाउन तीनवटा विकल्प हेरिएको नेपाल विधुत प्राधिकरण धनगढी वितरण शाखाका प्रमुख सूर्यनारायण मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो विकल्प धनगढी वितरण शाखाकै कार्यालयभित्र हेरिएको छ । ‘त्यसलाई सुधार गरेर सव–स्टेशन बनाउन सकिने प्रस्ताव गरिएको छ’ प्रमुख मण्डलले भन्नुभयो ।  

यसैगरी, दोस्रो विकल्पको रूपमा कञ्चनपुरको पुनर्वासलाई हेरिएको छ । त्यहाँ सव–स्टेशन बनाएर यता ल्याउने प्रस्ताव पनि गरिएको छ । यस्तै, अर्को विकल्पको रूपमा धनगढीको मटियारीलाई हेरिएको छ । 

तीनमध्ये सबैभन्दा उपयुक्त विकल्पलाई छनोट गरेर आगामी दिनमा धनगढी सवस्टेशन बनाइने प्रमुख मण्डलले बताउनुभयो । यसैगरी प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले शनिबार टनकपुरको भ्रमण गर्नुभएको छ । 

सुदूरपश्चिममा बढी उत्पादन भएको विद्युत् भारतमा पठाउने सन्दर्भमा उहाँले टनकपुरको भ्रमण गर्नुभएको हो । अब एक वर्षपछि सुदूरपश्चिममा विधुत उत्पादन बढी हुने धनगढीका प्रमुख मण्डलले बताउनुभयो । ‘त्यो विधुत भारतमा बिक्रीका लागि कसरी पठाउने भनेर बुझ्नका लागि उहाँ (घिसिङ) टनकपुर जानुभएको थियो’ मण्डलले भन्नुभयो । 

उहाँका अनुसार सुदूरपश्चिममा बढी उत्पादन भएको विधुत भारतमा पठाउनका लागि बढी क्षमताको छुट्टै लाइन बनाउन आवश्यक छ । ‘अहिले भएको हाम्रो लाइन कम क्षमताको हो’, मण्डलले भन्नुभयो, ‘हामीले भारतमा विधुत पठाउन बढी क्षमताको लाइन बनाउनु पर्नेछ । त्यो लाइन कहाँबाट लैजाने, कसरी बनाउने, भनेर बुझ्नका लागि उहाँ टनकपुर पुग्नुभएको थियो ।’ 

यसैबीच, धनगढी उपमहानगरपालिकाले कार्यकारी निर्देशक घिसिङलाई स्वागत गर्दै धनगढीमा रहेको विद्युत् तारलाई ‘अण्डर ग्राउण्ड’ गरिदिन आग्रह गरेको छ । घिसिङ र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले धनगढी बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेको विधुत तारको अवलोकनसमेत गर्नुभयो ।