• १२ साउन २०८१, शनिबार

प्रविधिको प्रयोगले अप्ठेरोमा खेलाडी

विश्वकपमा 'इन्जुरी' समय र 'अफसाइड'को पिरलो

blog

काठमाडौं, मङ्सिर ११ गते । कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबलको रौनकता चुलिँदो छ । विश्वकपमा सहभागी ३२ राष्ट्रबीच समूह चरणका खेल जारी रहँदा साविक विजेता फ्रान्सले नकआउट चरणमा स्थान बनाएको छ । 

फ्रान्स नकआउट चरणमा पुग्ने पहिलो देश बन्दा समूह चरणबाट बाहिरिने अभागी टोलीको अपजस आयोजक कतारले पाएको छ । विश्वकप फुटबलमा सर्वाधिक धनराशी खर्च गरेको कतारलाई नतिजाको हिसाबले फिफा विश्वकप खल्लो बनेको छ । 

विश्वकपमा सदाबहार टोलीको सोचे जस्तै नतिजा आइरहँदा कतारबाहेक अन्य एसियाली देशले पनि औसत खेल प्रदर्शन गरिरहेका छन् । समूह चरणको पहिलो खेलमा स्पेन र इङ्ल्यान्डले फराकिलो नतिजा निकाले पनि अन्य टोलीको जित र हारको अन्तर त्यति ठूलो छैन । त्यसैले विश्वकपमा सहभागी टोलीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

विश्वकपमा कडा प्रतिस्पर्धासँगै फिफाले यस विश्वकपमा अघि सारेको अफसाइड प्रविधि र इन्जुरी समय भने दर्शकका लागि टाउको दुःखाइ बनेको छ । हरेक खेलमा औसत ७ देखि १० मिनेट इन्जुरी (थप) समय थपेपछि नतिजा उल्टने क्रमले विश्वकपको चर्चासँगै आलोचनासमेत भइरहेको छ । 


इन्जुरी समय बढी हुँदा दर्शकको छटपटी मात्र होइन, मैदानमा खेलिरहेका खेलाडी र टिम अफिसियललाई समेत तनाव बढाएको देखिन्छ । रेफ्रीले इन्जुरी समय बढी थपेको विषयमा गुनेको साउदी अरब र अर्जेन्टिनाबीचको खेलबाटै सुरु भएको थियो । उक्त खेलमा रेफ्रीले दोस्रो हाफमा आठ मिनेट इन्जुरी समय थपेलगत्तै साउदी अरबका समर्थकले प्यारापिटमा सिठ्ठी बजाउँदै असन्तुष्टि पोखेका थिए । 

साउदीका प्रशिक्षक हर्भ रेनार्ड र बेन्चका बसेका खेलाडीसमेत टचलाइनमा गएर रेफ्रीलाई घडी हेर भन्दै चिच्याइरहेका थिए । अर्जेन्टिनालाई २–१ गोलले पछि पारेको साउदीलाई इन्जुरी समय बढी हुँदा गोल खाने डरले सताएको थियो । 

यस्तै अर्को इङ्ग्ल्यान्ड र इरानबीचको खेलमा पहिलो हाफमा १४ र दोस्रो हाफमा १० मिनेट थपिएको थियो । इङ्ग्ल्यान्डले ६–२ गोलको जित निकालेको उक्त खेलमा इरानले पहिलो हाफ र दोस्रो हाफको इन्जुरी समयमा मात्र दुई गोल खाएको थियो । 

दोस्रो हाफमा इन्जुरी समयमा खेलाडी घाइते भएपछि रेफ्रीले थप चार मिनेट खेलाएका थिए । खेलमा इरानले दोस्रो हाफको इन्जुरी समयको अन्तिम अर्थात् १३औं मिनेटमा गोल खाएको थियो ।अघिल्ला विश्वकपको तुलनामा जारी विश्वकपमा इन्जुरी समय बढी भएकोले जितको नजिक पुगेको टोलीलाई समेत नतिजा जोगाउन गाह्रो परेको देखिन्छ । 


विश्व फुटबल महासङ्घ (फिफा)ले अग्रता लिएको टोलीले समय खेर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न इन्जुरी समय बढाइएको जनाएको छ । फिफाले विश्वकपमा बल रोकिएको हरेक समयको हिसाब गर्दै इन्जुरी समय थप्ने निर्णय यसअघि नै गरेको थियो । 

रेफ्री समितिका अध्यक्ष पिएरलुइजी कोलिनले विश्वकप सुरुहुनु अघिनै सबै टोलीलाई यसको जानकारी गराएको बताउनुभयो । ‘‘यस पटक रेफ्रीले खेलको दौरानमा भएका घटनाको समय राम्रो तरिकाले हिसाब गरेका छन् । गोलको खुसियाली मनाउँदा, खेलाडी परिवर्तन गर्दा, खेलाडीलाई चोट लाग्दा, भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) हेर्दा लागेको समय हिसाब गरेर इन्जुरी समय बढाइएको छ,’’ कोलिनले भन्नुभयो ।  गोल सङ्ख्या बढ्यो भने इन्जुरी समय स्वत: बढ्ने फिफाको भनाइ छ । 

यसैगरी इन्जुरी समयसँगै फिफाले विश्वकपमा प्रयोगमा ल्याएको ‘सेमि–अटोमेटेड अफसाइड’ प्रविधिले पनि विश्वकपलाई थप चर्चामा ल्याएको छ । फिफाले यस प्रविधिको विषयमा गत जुलाई महिनामै जानकारी गराएको थियो । 

नयाँ अफसाइड प्रविधिले बढी चर्चा भने अर्जेन्टिना र साउदी अरबको खेलबाटै पायो । अर्जेन्टिनाले पहिलो हाफमा गरेको तीन वटा गोल अफसाइड भएको थियो । मैदानमा खेलाडीले अफसाइड गरेजस्तो नदेखिए पनि टिभी स्क्रिनमा वास्तविक समयमा बल कसरी अफसाइड भयो भन्ने कुराले दर्शकलाई चकित पारिरहेको छ । 

‘सेमि–अटोमेटेड अफसाइड’ प्रविधिले थ्रीडिभन्दा पनि सटिक रुपमा छोटो समयमा अफसाइड भएको जानकारी दिँदा दर्शक छक्क परिरहेका छन् । रुसमा सन् २०१८ मा आयोजना भएको फिफा विश्वकपबाट भीएआर प्रविधि प्रयोगमा आएको थियो । सोही प्रविधिलाई थप सहयोग पुर्‍याउन फिफाले ‘सेमि–अटोमेटेड अफसाइड’ प्रविधि समावेश गरेको हो । 


याे प्रविधिले मैदानमा सहायक रेफ्रीको काम गरिरहेको हुन्छ । कतार विश्वकपमा प्रत्यके स्टेडियमको छानामा १२ वटा विशेष क्यामेरा राखिएको छ । जसले बल र प्रत्येक खेलाडीलाई नियालिरहेको हुन्छ । जसले गर्दा खेलाडी कुन समयमा कुन स्थानमा के गरिरहेको छ ? भन्ने कुरा ‘भीएआर’ कक्षबाट स्पस्ट देखिन्छ । यसमा जाेडिएको डेटाले खेलाडीको अफसाइड भए नभएको स्वतः जानकारी दिन्छ । 


फिफाको अनुसार कतार विश्वकपमा प्रयोगमा ल्याइएको ‘अल रिह्ला’ नाममा बलमा समेत ‘मोसन सेन्सर’ जडान गरिएको छ । एडिडास कम्पनीले बनाएको यस बलले पनि सेमी–अटोमेटेड अफसाइड प्रविधिलाई थप सघाएको छ । त्यसैले यस पटकको विश्वकपमा दर्शकले बढी अफसाइड देखेका हुन् । एजेन्सी