शङ्कर केसी
शारदा (सल्यान), चैत ११ गते । सल्यान–सुर्खेत सिमानाको घना जङ्गल । जहाँ नजिकै मान्छेको बस्ती छैन, रात पर्दा जनावर र हावा चलेको आवाजबाहेक अरू केही सुनिँदैन । त्यही जङ्गलको बिचमा कालिमाटी गाउँपालिका–७, वनगाउँका जितबहादुर सार्कीको परिवार बर्सौंदेखि कष्टकर जीवन बिताइरहेको छ । काठ र खरको कमजोर छाप्रोभित्र गरिब जिन्दगी जिउनुपर्ने यो परिवारका सदस्यहरूको बाध्यता छ ।
करिब ४५ वर्षदेखि यही जङ्गलको छाप्रोमा बसोबास गर्दै आएको जितबहादुरको परिवारसँग आजसम्म सुरक्षित बसोबासको आधारभूत सुविधा छैन । न बलियो घर, न त नियमित आम्दानी । दिन गुजार्नै मुस्किल परिरहेको अवस्थामा उहाँहरूको लागि एउटा सानो सुरक्षित घर नै सबैभन्दा ठुलो सपना बनेको छ । “हामीलाई ठुलो केही चाहिएको छैन,” जितबहादुर भन्नुहुन्छ, “ओत लाग्ने एउटा घर कसैले बनाइदिए हुन्थ्यो ।”
उहाँकी श्रीमती पानसरीले बर्खायाममा छाप्रोमा पानी पसेर सुत्नै नसकिने अवस्था, हिउँदयाममा अत्यन्तै चिसो हुने समस्यासँगै पछिल्लो समय बाघको त्रासमा जीवन बितिरहेको बताउनुहुन्छ । केही समयअघि यस क्षेत्रमा बाघले तीन जना मानिसको ज्यान लिएपछि त झन् बाघको त्रासले यो परिवार दिनरात अशान्त बनेको छ । “सानो बच्चा छ, घर राम्रो भए भित्र सुताएर बाहिर काम गर्न पाइन्थ्यो,” पानसरी भन्नुहुन्छ, “तर यहाँ त सधैँ डर लाग्छ, कतिखेर के हुन्छ भन्ने नै टुङ्गो छैन ।” वैशाख, जेठको समयमा वनमा डढेलो लाग्ने गर्दा बासस्थान छाडेर अन्यत्र भाग्नुपर्ने बाध्यता छ ।
आयआर्जनका लागि यो परिवारले अर्को सानो टहरो बनाएर गाईबाख्रा पालेको छ । त्यही नै मुख्य सहारा भए पनि जीवन धान्न पर्याप्त छैन । पुख्र्यौली सम्पत्ति केही छैन, आफ्नै नाममा जग्गा छैन अनि ऐलानी जमिनमा लगाएको बालीसमेत जनावरले पाक्न नपाउँदै नष्ट गरिदिन्छन् । यो परिवारले कहिले बाख्रा बेचेर त कहिलेकाहीँ मजदुरी गरेर जेनतेन बिहान बेलुकीको छाक टारिरहेको छ ।
स्थानीय बासिन्दाका अनुसार पछिल्लो समय कालिमाटी–७ र अन्य वडामा बाघको आक्रमण बढ्दो छ । किसानका गोठमा पसेर पशुचौपाया मार्ने घटना लगभग दैनिकजसो भइरहेका छन् । यस्तो जोखिमपूर्ण वातावरणमा एउटा छाप्रोमा पाँच जनाको परिवार बस्नु कति असुरक्षित छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । यो सङ्घर्षसँगै बाँचिरहेको एउटा परिवारको कठोर यथार्थ हो ।
कालिमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालका अनुसार जितबहादुरको घर गाउँबाट करिब डेढ किलोमिटर टाढा जङ्गलमा छ । उहाँहरूको अवस्था अत्यन्तै दयनीय भएकाले सुरक्षित घर निर्माण गर्नु पहिलो प्राथमिकता ठानेर आफूले व्यक्तिगत रूपमा समेत केही सहयोग गरेर आर्थिक सङ्कलन अभियान थालिएको उहाँले बताउनुभयो । गाउँपालिकाबाट जस्तापाता वितरण कार्यक्रम भए पनि जितबहादुरको परिवारले घर बनाउन सक्ने आर्थिक अवस्था नभएकै कारण त्यो सुविधासमेत उपयोग गर्न सकेका छैनन् ।
सरकारले विपन्न तथा दलित समुदायका लागि सञ्चालन गर्दै आएको जनता आवास कार्यक्रम अन्तर्गत धेरैले घर पाएका छन् । तर जितबहादुरले त्यो सुविधा पाउनुभएको छैन । यही पीडा महसुस गर्दै अहिले सहयोग अभियान सुरु गरिएको छ । कालिमाटीकै सामाजिक अभियन्ता हिमाल मगरको सक्रियतामा र वडा कार्यालयसँगको समन्वयमा आर्थिक सङ्कलन अभियान अगाडि बढाइएको छ । भर्खरै सुरु भएको अभियान अन्तर्गत हालसम्म २० हजार रुपियाँ सहयोग जुटेको हिमालले बताउनुभयो ।