• १२ असार २०८१, बुधबार

अपाङ्ग र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

blog

मैवाखोला गाउँपालिकाका ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य परीक्षण गरिँदै । तस्बिर: गोरखापत्र

ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले घरघरमा पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ । गाउँपालिकाले ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ तथा ‘क’ र ‘ख’ वर्गका अपाङ्ग नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो ।

मैवाखोला गाउँपालिकाले गत असारमा सार्वजनिक गरेको चालू आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा पालिकाभित्रका वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तिको घर–घरमै गएर स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको थियो । आफ्नो नीति कार्यक्रममा घोषणा गरेअनुसार कार्यान्वयन गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । अध्यक्ष वनेमका अनुसार मैवाखोला गाउँपालिका–४ साँघुको ओदकबाट अभियान सुरु गरिएको छ । 

ज्येष्ठ नागरिक तथा तोकिएका अपाङ्गता भएका व्यक्तिका घर–घरमै स्वास्थ्यकर्मीको टोली गएर प्राथमिक स्वास्थ्य परीक्षण र स्वास्थ्य परामर्श दिन थालेको गाउँपालिकाले जानकारी दिएको छ । अभियानलाई पालिकाका ६ वटै वडामा कार्यान्वयन गरिने पनि गाउँपालिकाले जनाएको छ । अभियानमार्फत लक्षित वर्गको स्वास्थ्य परीक्षणसँगै प्राथमिक औषधि राखेर एक–एक थान किट बक्ससमेत उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार किट बक्समा टाउको दुख्ने, रुघाखोकीजस्ता स्वास्थ्यमा सामान्य समस्या आउँदा आफैँले प्रयोग गर्न सक्ने औषधिहरू राखिएको छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।