• २१ वैशाख २०८१, शुक्रबार

पार्टी सभापति देउवाद्वारा सङ्कल्प प्रस्ताव सार्वजनिक

कांग्रेसको प्रतिज्ञा : ११ काम गर्ने, नौ काम नगर्ने

blog

पार्टी सभापति देउवाद्वारा सङ्कल्प प्रस्ताव सार्वजनिक । तस्बिर : केशब गुरुङ

ललितपुर, कात्तिक १२ गते । नेपाली कांग्रेसले ५२ पृष्ठको ‘संविधानको रक्षा, स्थिरता, समुन्नतिको आधार : नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने मुख्य नारासहित आगामी निर्वाचनका लागि सङ्कल्प प्रस्ताव (घोषणापत्र) सार्वजनिक गरेको छ ।

कूल पाँच खण्डमा विभाग गरिएको घोषणापत्रमा सुरुमा पार्टीका शीर्ष नेताहरू प्रति श्रद्धा र सम्मान प्रकट गरिएको छ ।

खण्ड एकमा समसामयिक राजनीति र राष्ट्रिय मुद्दाहरू समावेश छन् । विगत पाँच वर्षको समीक्षा, साझा राष्ट्रिय सूची र नेपाली कांग्रेसको दृष्टिकोणका साथै संविधान सम्बन्धमा कांग्रेसको दृष्टिकोण यस खण्डमा समावेश छ ।

दोस्रो खण्डमा इतिहासका सात दशक, लोकतन्त्रको अथक यात्रा मुख्य शीर्षक रहेको छ । यसमा लोकतान्त्रिक आन्दोलनको संवाहक, लोकतान्त्रिक समाजवाद र आर्थिक विकासको अभियन्ता र सामाजिक रूपान्तरणको उत्प्रेरक भनेर चित्रण गरिएको छ ।

खण्ड तीनमा समुन्नत नेपालको मार्ग चित्रलाई प्रमुख रूपमा उठाइएको छ । जसका लागि चार वटा आधार सम्मुनतीका  सैद्धान्तिक आधार तात्कालिक आर्थिक एजेण्डा, तात्कालिक भौतिक पूर्वाधार एजेण्डा र तृतीय व्यवस्थापनलाई जोड दिइएको छ ।

कांग्रेसको घोषणापत्रको चौथो खण्डमा सङ्घीयताको सबलीकरण र प्रदेश सरकारको विषय समावेश छ भने खण्ड पाँचमा क्षेत्रगत प्राथमिकता तोकिएको छ । क्षेत्रगत प्राथमिकतामा ११ आधार तय गरिएको छ । जसमा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी र निजी क्षेत्र, विज्ञान प्रविधि, सञ्चार र डिजिटलाइजेशन, जलवायु परिवर्तन र वातावरण संरक्षण, कृषि, भौतिक पूर्वाधार, ऊर्जा र जलस्रोत, पर्यटन, कला संस्कृति र खेलकुद तथा एकीकृत सामाजिक सुरक्षा: कोखदेखि शोकसम्म समावेश गरिएको छ ।

यसैगरी, पृष्ठ ५१ मा कांग्रेसको प्रतिज्ञा शीर्षकमा ‘हामी के गर्छौ र हामी के गर्दछौ नौ’ भन्ने विषय समावेश छ ।

कांग्रेसको प्रतिज्ञा ११ काम गर्ने, नौ काम नगर्ने

१. सङ्घीय संसद् र प्रदेशसभाले बनाउन बाँकी रहेका कानुन निर्माण र परिमार्जन गरी एक वर्षभित्र सङ्घीय प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाई प्रदेश र स्थानीय तहका क्षमता अभिवृद्धि गर्ने छौँ ।

२. सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्ययनहरूलाई अद्यावधिक गरी उपादेयता नदेखिएका विभाग र सार्वजनिक संस्थाहरू खारेज गर्ने छौँ ।

३. सार्वजनिक संस्थाहरूलाई दलीय हस्तक्षेपबाट मुक्त गर्दै सार्वजनिक पदहरूमा नियुक्ति गर्दा विषयगत योग्यता र व्यक्तिको ‘ट्र्याक रेकर्ड’ हेरेर निश्चित मापदण्डका आधारमा गर्ने छौँ ।

४. निजी क्षेत्रसँगको परामर्शमा खारेज, सुधार वा नयाँ निर्माण गर्नुपर्ने करिब २ दर्जन ऐनहरूको “ओम्निबस आर्थिक प्याकेज” ६ महिनाभित्रै ल्याउने छौँ ।

५. ‘नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’लाई १०० दिन भित्रै विस्तार गरी कार्यान्वयन गर्ने छौँ ।

६. स्वार्थको द्वन्द्वसम्बन्धी एकीकृत कानुन तर्जुमा गर्ने छौँ ।

७. सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्ति भ्रष्टाचार, सामाजिक विचलन वा  नियमितता वा फौजदारी कसुरमा आरोप लागेमा तत्काल पदमुक्त गरी छानबिन गर्ने छौँ ।

८. विद्युतीय प्रणाली मार्फत् पाँच वर्षपछि हुने निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न निर्णायक पहल गर्ने छौँ ।

९. विस्तृत शान्ति सम्झौताको भावना अनुसार सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम अविलम्ब सम्पन्न गर्ने छौँ ।

१०. भ्रष्टाचारलाई प्रभावकारी ढङ्गले नियन्त्रण गर्न मौजुदा कानुनमा अत्यावश्यक सुधार गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनर्संरचना गर्ने छौँ ।

११. सङ्कल्पमा उल्लेखित विषयहरूको कार्यान्वयनको अवस्थाका सन्दर्भमा पार्टीभित्र अनुगमन र मूल्याङ्कन संयन्त्र बनाई प्रभावकारी अनुगमन गर्न हरेक आर्थिक वर्ष समाप्त भएको २ महिनाभित्र ‘पार्टी अडिट’ गर्ने छौँ ।


हामी के गर्दैनौ

१. दलहरूको आन्तरिक विवाद वा फरक दलहरू बीच उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौँ ।

२. सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत–साधनको दोहन गर्दैनौँ, गर्न दिने छैनौँ ।

३. कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम गर्ने छैनौँ ।

४. निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी रूपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम गर्दैनौँ, गर्न दिने छैनौँ ।

५. कानुन, आर्थिक तथा वित्तीय उत्तरदायित्व र अनुशासनको उल्लङ्घन गर्दैनौ, गर्न दिने छैनौँ ।

६. महिलामाथि हुने हिंसा, जातीय भेदभाव, छुवाछुत, लैङ्गिक विभेद, सामाजिक विकृति र विसङ्गतिलाई प्रोत्साहन हुने कुनै पनि कुरामा प्रत्यक्ष तथा परोक्ष रूपमा समेत संलग्न हुने छैनौँ ।

७. स्वार्थले द्वन्द्व सृजना हुने कुनै पनि निर्णय वा नीतिगत प्रक्रियामा संलग्न हुने छैनौँ ।

८. संविधानको मर्म र भावना विपरीत प्रदेश र स्थानीय सरकारका अधिकारमा अवाञ्छित हस्तक्षेप गर्ने छैनौँ ।

९. अन्तर्राष्ट्रिय सम्बन्ध, विदेश नीति, वैदेशिक सहयोग र रूपान्तरणकारी ठूला विकास परियोजनालाई क्षणिक लाभका लागि राजनीतिकरण गर्ने छैनौँ ।

सम्बन्धित समाचार

‘संविधानको रक्षा, स्थिरता, समुन्नतिको आधार : नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’
कांग्रेस निर्वाचन घोषणाप : समावेशी लोकतन्त्रका पाँच आधार (पूर्णपाठसहित)
संविधानको रक्षा र स्थिरता : कांग्रेसकै नेतृत्वमा अबको सरकार