• ८ वैशाख २०८१, शनिबार

नवनिर्वाचित सांसदको शपथ आज

२६ सांसदले विभिन्न १४ मातृभाषामा शपथ

blog

काठमाडौं, पुस ७ गते । सङ्घीय संसद् सचिवालयले आज (बिहीबार) नवनिर्वाचित २७४ सांसदलाई शपथ ग्रहण गराउने भएको छ । सचिवालयका अनुसार आज दिउँसो १ बजे शपथ ग्रहण गराइनेछ । नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ । ज्येष्ठ सदस्य जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (बुधबार) शपथ गराउनुभएको थियो ।

सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमालले २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ ग्रहण गर्नुहुने जानकारी दिनुभयो । बाँकी सांसदले नेपाली भाषामा शपथ ग्रहण गर्नुहुनेछ ।

नेकपा (एमाले)का सांसद सराज अहमद फारुकीले उर्दुमा, नेकपा (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले तामाङमा र सांसद दुर्गा राईले कोई–कोयू मातृभाषामा शपथ ग्रहण गर्नुहुनेछ ।

यसैगरी, जनता समाजवादी पार्टीका सांसदहरु प्रदीप यादव र रामसहाय प्रसाद यादवले भोजपुरी, रन्जुकुमारी झाले मैथिलीमा शपथ ग्रहण गर्नुहुने सहायक प्रवक्ता धमालले जानकारी दिनुभयो ।

त्यस्तै, नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले खस भाषा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अरुणकुमार चौधरी, रन्जिता श्रेष्ठ (चाैधरी), गङ्गाराम चौधरी डगौराले थारु भाषामा शपथ ग्रहण गर्नुहुँदैछ ।

साथै, स्वतन्त्र सांसदहरु लालवीर चौधरीले थारु र किरणकुमार साहले संस्कृत भाषामा शपथ ग्रहण गर्नुहुँदै छ ।
यसैगरी, जनमत पार्टीका सांसदहरु विनीताकुमारी सिंह, चन्द्रकान्त राउत, अनितादेवीले मधेशी भाषा र सोनु मुर्मुले सन्याली भाषामा शपथ ग्रहण गर्नुहुँदै छ ।
सहायक प्रवक्ता धमलाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु सुमना श्रेष्ठले नेपालभाषा, मनीष झाले मैथिली, लक्ष्मी तिवारीले अवधी, अशोककुमार चौधरीले थारु र असीम शाहले नेपाली/मुस्लिममा शपथ लिनुहुँदै छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का सांसदहरु मिना तामाङ र सूर्यमान तामाङ (दोङ)ले तामाङमा शपथ लिनुहुँदैछ। यसैगरी, नेकपा (माओवादी केन्द्र)काे चुनाव चिन्ह लिएर निर्वाचित हुनुभएका सांसदहरू महिन्द्र राय यादवले हिन्दीमा, रुपा सो.सि. चौधरीले थारु र उमरावती देवी यादवले भोजपुरीमा शपथ लिनुहुँदैछ । 

शपथ ग्रहणका लागि विभिन्न पार्टीका निर्वाचित प्रतिनिधि सभाका सदस्यहरू आ–आफ्नै भेषभूषामा संसद् भवनभित्र प्रवेश गरिरहनुभएकाे छ ।