• १६ चैत २०८०, शुक्रबार

मधेशकै मतदाताको विश्वास जित्न सकेन

मधेश प्रदेश सभाको ११ सिटमा खुम्चियो जसपा

blog

जसपाबाट मधेश प्रदेश सभामा निर्वाचित सदस्य ।

काठमाडौं, मङ्सिर १५ गते । मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशमै कमजोर देखिएको छ । मधेशी जनताका मुद्दा उठाएर तराई–मधेशलाई आधार बनाएर राजनीतिक गर्दै आएको दल जसपाले प्रदेशकै मतदाताको विश्वास जित्न सकेनन् । यसको पछिल्लो उदाहरण हो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सार्वजनिक भएको परिणाम ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम लगभग सार्वजनिक भइसकेको छ । मतपरिणामलाई आधार मान्दा मधेश प्रदेशमै मधेश केन्द्रित दल कमजोर देखिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत मधेश केन्द्रित दल जसपा प्रतिनिधि सभातर्फ सात स्थानमा विजयी भएको छ भने प्रदेश सभातर्फ ११ स्थानमा विजयी भएको छ ।

मधेश प्रदेशका आठ जिल्लामध्ये सात जिल्ला सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा जसपाका उम्मेदवार विजयी भएका छन् भने लुम्बिनी प्रदेशको बाँके जिल्लाका दुई स्थानमा विजयी भएका छन् ।

२०७४ को चुनावमा बलियो वाम गठबन्धनलाई मधेशवादी दलले मधेशमा कमजोर बनाएका थिए । मधेश प्रदेशमा सङ्घीय समाजवादी फोरमले २९ र जनता समाजवादी पार्टीले २५ सिट जितेका थिए । २०७४ को चुनावपछि प्रदेशमा आफ्नै सरकार बनाएका मधेशवादी दलको टुटफुटले अहिले मधेशमा नै मधेसवादी दल कमजोर बनेका हुन् । 

सिराहा निर्वाचन क्षेत्र नं. १ को (ख) मा जसपाका उम्मेदवार राजकुमार गुप्ता १६ हजार २३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का अशोककुमार यादव १३ हजार २३३ मत ल्याउनुभएको छ ।

त्यस्तै, जसपाका उम्मेदवार राम आशिष् यादव १० हजार ६१४  मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार श्यामकुमार यादवले नौ हजार ५६६ मत ल्याउनुभएको छ ।

यसैगरी, महोत्तरी निर्वाचन क्षेत्र नं. ४ को (ख)मा जसपाका उम्मेदवार सरोजकुमार सिंह विजयी हुनुभएको छ । उहाँले ११ हजार ५०६ मत प्राप्त गरी विजयी हुनुभएको हो । सिंहका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार लालेन्द्रकुमार मण्डलले १० हजार २४२ मत ल्याउनुभएको छ ।

सर्लाही निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (ख)मा जसपाका उम्मेदवार सञ्जयकुमार यादव १३ हजार १९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सरोजकुमार रायले आठ हजार ३४८ मत ल्याउनुभएको छ ।

रौतहट निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा (ख)मा जसपाका शेख अबुलकलाम आजादले आठ हजार ७४१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सञ्जय यादवले पाँच हजार ८७५ मत प्राप्त गर्नुभएको छ ।

बारा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (ख)मा जसपाका उम्मेदवार सरोजकुमार यादव विजयी हुनुभएको छ । उहाँले १५ हजार ९२७ मत प्राप्त गरी विजयी हुनुभएको हो । यादवका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्रप्रसाद कानुले ११ हजार ४० मत प्राप्त गर्नुभएको छ ।

बारा निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (ख)मा जसपाका उम्मेदवार बच्चा राउत अहिरले १० हजार ३०२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामअयोध्या प्रसाद यादवले आठ हजार ९३९ मत ल्याउनुभएको छ ।

यसैगरी, बाँके निर्वाचन क्षेत्र नं. २ को (क)मा जसपाका उम्मेदवार भण्डारी लाल अहिर विजयी हुनुभएको छ । उहाँले ११ हजार ५०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । अहिरका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार विजयबहादुर यादवले नौ हजार ३५८ मत ल्याउनुभएको छ ।

त्यस्तै, बाँके निर्वाचन क्षेत्र नं. २ (ख) मा जसपाका आदेशकुमार अग्रवाल आठ हजार २४६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार निरकबहादुर गुरुङले छ हजार ७०९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, धनुषा निर्वाचन क्षेत्र नं. २ को (ख)मा जसपाका रामअशिष यादव, पर्सा निर्वाचन क्षेत्र नं. (ख)मा लालबाबु राउत र पर्सा निर्वाचन क्षेत्र नं. ४ को (ख)मा सिंहासन सा कलवार विजयी हुनुभएको छ।