• १६ चैत २०८०, शुक्रबार

राष्ट्रिय दलले संसद् सचिवालयबाट थप सेवा सुविधा नपाउने

blog

काठमाडौं, मङ्सिर १९ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा ८७ दल सहभागी भएकोमा सात दलले राष्ट्रिय मान्यता पाएका छन् । समानुपातिकतर्फको मतपरिणामका आधारमा निर्वाचन आयोगले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीलाई राष्ट्रिय दलको मान्यता दिएको छ । यी सात दलले तीन प्रतिशत थ्रेसहोल्ड कटाएकाले राष्ट्रिय दलको मान्यता पाउने आयोगले जनाएको छ ।

यसअघि पाँच वर्ष अघि भएको निर्वाचनमा पाँच वटा राजनीतिक दलहरूले राष्ट्रिय दलको मान्यता पाएका थिए । सो समयमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी (राजपा) र सङ्घीय समाजवादी फोरम, नेपालले थ्रेसहोल्ड कटाएका थिए ।

पाँच मध्ये यो पटक विगतमा राष्ट्रिय जनता पार्टी (राजपा) को नाममा रहेको अहिलेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मात्र राष्ट्रिय दलको हैसियत गुमाएको छ ।

बाम लोकतान्त्रिक गठबन्धनमा रहेका पाँचमध्ये लाेसपा र नेकपा (एकीकृत समाजवादी) ले तीन प्रतिशत थ्रेसहोल्ड कटाउन सकेनन् ।

यी व्यवस्थाका कारण यसपटक प्रत्यक्षमा १० सिट ल्याएको नेकपा (एकीकृत समाजवादी), चार सिट ल्याएको लोसपा, तीन सिट ल्याएको नागरिक उन्मुक्ति पार्टी, एक सिट ल्याएको राष्ट्रिय जनमोर्चा पार्टी र एक सिट भएको नेपाल मजदुर किसान पार्टीले राष्ट्रिय पार्टी बन्न सकेनन् ।

राष्ट्रिय दलले पाउने सुविधा

सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय दलको मान्यता प्राप्त गरेसँगै यी दलले संसद् सचिवालयबाट पाउने सेवा मात्र सुविधा पाउने छन् । अन्य थप सुविधा नपाउने बताइएकाे छ । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रिय मान्यता पाएको दलले संसदीय दल गठन गर्न पाउने, दल गठन भएपछि दलको कार्यालय खोल्न पाउनेलगायतको सुविधा पाउने बताउनुभयो ।

राजनीतिक मान्यताका रूपमा मात्रै ऐनमा राष्ट्रिय दलको व्यवस्था गरिएको भए पनि संसद् सचिवालयबाट पाउने सेवा सुविधामा फरक नरहेको प्रवक्ता पाण्डेको भनाइ छ ।

राष्ट्रिय दलले संसदमा एउटा संसदीय दलको कार्यालयसहित सांसदको सङ्ख्याअनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् ।

हरेक राष्ट्रिय दलको संसदीय दलका प्रमुख सचेतकले पनि संसद् सचिवालयबाट गाडीसहित सचिवालय र कर्मचारी सुविधा पाउँछन् ।

राष्ट्रिय दलले हरेक निर्वाचनमा आफ्नो चुनाव चिह्न कायम राख्ने सुविधा पाउँछन् । तर राष्ट्रिय दलको मान्यता असफल भएका पार्टीहरूले हरेक निर्वाचनमा त्यही चुनाव चिह्न पाउँछन् भन्ने निश्चित हुँदैन । यद्यपि, निर्वाचन आयोगले उनीहरूले रोजेको चुनाव चिह्न प्रदान गर्दै आएको छ।

त्यसबाहेक राष्ट्रिय मान्यता प्राप्त दलले पाएको मतअनुसार मतपत्रमा चुनाव चिह्न पनि सबैभन्दा अगाडिबाट क्रमशः राखिने व्यवस्था छ ।

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक

प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा सार्वजनिक भइसकेको छ । आयोगको विवरणअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ ।

त्यस्तै, नेकपा (एमाले) ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी, नेपाल (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी सात/सात सिटमा विजयी भएका छन्

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा नेपाल, मजदुर किसान पार्टी र जनमत पार्टी एक/एक स्थानमा विजयी भएका छन् । यस्तै, प्रतिनिधि सभामा पाँच स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

आयोगको पछिल्लो तथ्याङ्कअनुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १२ राजनीतिक दलका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचन हुने व्यवस्था छ ।