• १७ कात्तिक २०८२, सोमबार

गलकोट नगर अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष सञ्चालन

blog

गलकोट नगर अस्पतालमा सञ्चालन गरिएको प्रसूति प्रतिक्षा कक्ष । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), कात्तिक १७ गते ।
जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ५ मा रहेको गलकोट नगर अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष सञ्चालनमा आएको छ । गर्भवती तथा सुत्केरी र कुरुवाहरूलाई बस्न सहज होस् भनेर अस्पताल परिसरमा प्रसूति प्रतिक्षा कक्षको निर्माण गरिएको हो ।

फेरमेड फाउन्डेसन, नेपाल गाजा डेभलभमेन्ट फाउण्डेसनद्वारा सञ्चालित सम्बोधन प्रोजेक्ट र गलकोट नगर अस्पतालको समन्वयमा करिव १० लाख रुपियाँको लागतमा ३ कोठे प्रसूति प्रतिक्षा कक्ष सञ्चालनमा ल्याइएको नगर अस्पतालले जनाएको छ । उक्त कक्षमा टाढाका क्षेत्रबाट खाएका गर्भवती, सुत्केरी र तिनका कुरुवाहरु बस्न पाउने भएका छन् ।

गलकोट नगरपालिकाका नगरप्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत शर्मा गैरेले गलकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई अत्यधिक प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले प्रसूति प्रतिक्षा कक्ष सञ्चालनले आमाहरुलाई सुरक्षित मातृत्व सेवामा सहज पहुँच दिलाएको र अब कसैलाई पनि प्रसूति सेवाका क्रममा होटलमा खर्चिलो रुपमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

त्यस्तै, गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले यो प्रसुती प्रतिक्षा कक्षले दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवती महिलाहरुलाई ठुलो राहात दिएको बताउनुभयो । उहाँले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै गलकोट नगर अस्पतालमा प्रसुती सेवालाई व्यवस्थित गर्ने सन्दर्भमा सुत्केरी कुरुवाहरुलाई सहजताका लागि प्रसुती प्रतिक्षा कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो ।

त्यस्तै, गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलका अनुसार, दुर्गम ठाउँबाट प्रसूति सेवाका लागि आएका गर्भवतीलाई तत्काल भर्ना गर्नुपर्ने अवस्था नआउँदा घर फर्किन वा होटलमा बस्न कठिन हुने समस्या हुन्थ्यो । यस्तो अवस्थामा गर्भवती र तिनका कुरुवाले निःशुल्क रुपमा यो प्रसूति प्रतिक्षा कक्षमा बस्न पाउँनेछन् ।

कुरुवा घरमा भान्साको समेत व्यवस्था गरिएको छ । अस्पतालले खाना बनाउने सम्पूर्ण सामग्रीहरु उपलब्ध गराउनेछ भने खानेकुराहरु आफैँले व्यवस्था गर्नुपर्ने जनाइएको छ । अबदेखि आमा तथा गर्भवतीलाई होटलमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । जसले सुरक्षित मातृत्वमा सहयोग पुग्ने र स्वास्थ्य संस्थामा प्रसूति हुने महिलाको सङ्ख्या बढ्ने विश्वास गरिएको छ ।

बडिगाड गाउँपालिका ६ का समिता थापाले गर्भवती तथा सुत्केरी र कुरुवाहरूलाई बस्न सहज होस् भनेर अस्पताल परिसरमा सञ्चालन गरिएको प्रसूति प्रतिक्षा कक्षले आफुहरुलाई सहजता मिलेको बताउनुभयो । उहाँले अस्पतालले निःशुल्क रुपमा खान बस्न मिल्ने व्यवस्थासहितको सुविधा सम्पन्न प्रसूति प्रतिक्षा कक्षले आफुहरुलाई खर्चको कटौती भएको बताउँदै महँगो भाडा तिरेर लामो समयसम्म होटलमा बस्नुपर्ने समस्याको अन्त्य भएको बताउनुभएको थियो ।  

गलकोट नगर अस्पतालमा सिएस सेवा पनि सञ्चालनमा आएसँगै सुत्केरी हुने महिलाहरुको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालमा गलकोट, ताराखोला, बडिगाड, ढोरपाटन, निसीखोला, तमानखोला, गुल्मि लगायतका स्थानबाट सुत्केरी हुन आउने गरेका छन् ।