• १८ वैशाख २०८३, शुक्रबार

लुटिएको हतियारसहित राजा तामाङ पक्राउ

blog

लुटिएको हतियार । तस्बिर : केन्द्रीय अनुसन्धान ब्यूरो

गोरखापत्र अनलाइन 

काठमाडौं,  कात्तिक १४ गते । काठमाडौंमाजेन्जी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–१ स्थायी घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बस्दै आएका २२ वर्षीय राजा तामाङ (वाङ्सु लामा) लाई पक्राउ गरेको जनाएको छ।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार,  कात्तिक १३ गते साँझ काठमाडौं महानगरपालिका–७, लाहुरे टोलस्थित प्रवीण घिमिरे (भरत विश्वकर्मा) द्वारा सञ्चालित सोलुखुम्बु खाजा घर बाहिर प्लास्टिकको कुर्सीमा राखिएको कालो झोलाभित्र नम्बर नखुलेको ग्यास गनको बट र नाल छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो।

सो झोलाबारे अनुसन्धान गर्ने क्रममा गोप्य सूचनाको आधारमा उक्त झोला राजा तामाङले राखेको पत्ता लागेको प्रहरीले जनाएको छ। त्यसपछि कात्तिक १४ गते साँझ गोकर्णेश्वर–३, माइती नेपाल नजिकैबाट तामाङलाई पक्राउ गरिएको हो।

पक्राउपछि गरिएको प्रारम्भिक सोधपुछमा तामाङले असोज १३ गते साँझ सो ग्यास गनसहितको झोला उक्त स्थानमा आफैंले राखेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

गोलीसहित बरामद

तामाङलाई कानुनी प्रक्रिया अनुसार डेरा कोठा खानतलासी गर्दा विभिन्न सिरियल नम्बर अंकित तीन थान गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद हतियार र गोलीसहित तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

जेलबाट फरार अभियुक्त

अनुसन्धानबाट तामाङ प्रहरी वृत्त बौद्धमा दर्ता भएको ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त भएको खुलेको छ। काठमाडौं जिल्ला अदालतको आदेशअनुसार २०८२ साउन ७ गते उनलाई कारागार कार्यालय सुन्धारामा पुर्पक्षका लागि पठाइएको थियो। तर, २०८२ भदौ २४ गतेको आन्दोलनको क्रममा सुन्धारा कारागारबाट भागी फरार भएको र त्यसयता लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन्।

थप अनुसन्धान जारी

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ परेका तामाङमाथि लुटिएको हतियारको गैरकानुनी स्वामित्व र अन्य आपराधिक क्रियाकलाप सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। बरामद हतियार र गोली फोरेंसिक परीक्षणका लागि प्रयोगशालामा पठाइएको ब्युरोले जनाएको छ।