• २० असोज २०८१, आइतबार

एकाउन्न लाख नेपाली बहुआयामिक गरिब

blog

काठमाडौँ, कात्तिक १ गते । नेपालमा १७ दशमलव ५ प्रतिशत नेपाली बहुआयामिक गरिब रहेको प्रतिवेदन सार्वजनिक भएको छ । 

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सोमबार सार्वजनिक गरेको विश्वव्यापी बहुआयामिक गरिबी सूचकाङ्क (एमपीआई) प्रतिवेदनले ५१ लाख ३७ हजार नेपाली बहुआयामिक गरिब रहेको प्रतिवेदन सार्वजनिक गरेको हो । 

पछिल्लो दशक नेपालमा बहुआयामिक गरिबीमा सुधार आएको प्रतिवेदनले औँल्याएको छ । सन् २०११ मा ३९ प्रतिशत रहेको बहुआयामिक गरिबको सङ्ख्या सन् २०१६ मा २५ दशमलव ७ प्रतिशतमा झरेको थियो । यूएनडीपी नेपालका नीति सल्लाहकार धर्म स्वर्णकारले स्वास्थ्य, शिक्षा र जीवनस्तर पक्षबाट गरिबीलाई हेरिएको जानकारी दिनुभयो । 

सो प्रतिवेदनअनुसार नेपालमा स्वास्थ्यतर्फ २३ दशमलव २ प्रतिशत, शिक्षातर्फ ३ दशमलव ९ प्रतिशत र जीवनस्तरतर्फ ४३ प्रतिशत नेपाली बहुआयमिक गरिब रहेका छन् । 

छ अर्ब १० लाख जनसङ्ख्या रहेको विश्वका १११ देशको शिक्षा, स्वास्थ्य र जीवनस्तरका विभिन्न सूचकाङ्कलाई आधार मानेर गरेको अध्ययनले विश्वमा एक अर्ब २० करोड जनसङ्ख्या बहुआयामिक गरिब रहेको देखाएको छ ।