• ८ मंसिर २०८१, शनिबार

म सत्यमोहन

blog

मेरो घरको मूल ढोकाबाट भित्र प्रवेश गर्नेबित्तिकै पिताजी शङ्करराज जोशी र आमा नुगलदेवीको प्रतिमा देखिन्छ । आँगनमै मेरा जन्मदाताहरुको मूर्ति म आफैंले स्थापना गर्न लगाएको हुँ । 

मेरो प्रत्येक दिनको दैनिकीको सुरूवात माता र पिताको सम्झनाबाटै बिहान स्नान गर्दा एकपटक जल अर्पण गर्ने र बेलुकी सम्झनाको रूपमा दियो बालेर आरती गर्ने चलन मैले बाँचुन्जेल कायमै राखेको छु ।

त्यसै गरी मैले जीवनभर मेरी श्रीमती राधाको साथ पाएँ । मेरो व्यक्तिगत परिचय यिनै तीन जनासँग जोडिएको छ । र, योसँगै जोडिन्छ, जोशी परिवारको इतिहास ।

रातो मच्छिन्द्रनाथसँग सोझो सम्पर्क भएको परिवार मानिने प्यंगथाँः (चारवटा थाम) अर्थात् चार जोशी खलकमध्ये एकको मेरै टोल बखुंबहाःमा पनि बसोबास छ । बुङ्गमतीबाट रथजात्राको साइत निकाल्ने काम त्यसै खलकबाट हुन्छ । म भने अत्यन्त सामान्य कृषक परिवारमा जन्मेको हुँ । यस्तो परिवारमा बाँचुन्जेल सङ्घर्ष गर्ने काममात्रै हुन्छ । वंशावली तयार पारेर राख्ने जाँगर हत्तपत्त चल्दैन । त्यसैले मलाई मेरो तीन पुस्ताभन्दा माथिको जानकारी छैन ।

मेरो बाजे नरसिंहराज जोशीसम्मको जीवन खेतीपातीबाटै चलेको थियो । त्यसबाहेक हामी ज्योतिषीका रूपमा पनि चिनिंदै आएका हौं । मेरा अग्रजहरूले चिना लेख्नेभन्दा पनि दिनदशा बताइदिने काम गर्थे । त्यसैगरी साइत दिने र कर्मकाण्डका काम पनि चल्थे । यसरी अन्नप्राशनदेखि लिएर श्राद्धसम्ममा सरिक हने क्रमले मेरा पिताजीका पालासम्म निरन्तरता पाएको थियो ।

त्यस्तो परम्परागत कामले घरचाहिँ धानिएको थिएन । त्यसैले मेरा पिताजी शङ्करराज जोशीको वृत्ति लेखनदासी बन्न पुग्यो । लेखापढी गर्ने कारिन्दाको रुपमा उहाँ व्यस्त रहनुहुन्थ्यो । त्यसरी कागज लेखिदिएबापत कमाइ हुने दुई–चार पैसाले नै हाम्रो घर चलेको थियो ।

घर चलाउनुबाहेक पिताजीले हाम्रै पुस्तादेखि सन्तानलाई शिक्षादीक्षामा अघि बढाउने काम पनि थाल्नुभयो तर त्यस बेलासम्म पनि शिक्षाको उज्यालो त्यति सहजै प्राप्त हुँदैनथ्याे ।

त्यो श्रीपञ्चमीको दिन म पाँच वर्ष पुगेको थिएँ । बाले एउटा काठको फलेकमा अँगारले पोत्नुभयो । यसरी तयार भएको कालो पाटी र खरी मलाई समात्न लगाउनुभयो । त्यस बेला हाम्रा पुरोहित र दीक्षा दिने गुरू विद्यानन्द थिए । उनैले मलाई हात समाएर ’ॐ नमो वागीश्वराय’ लेखिदिए । त्यसपछि अक्षरैपिच्छे छुट्टाछुट्टै उच्चारण गर्न लगाए । अर्थ थाहा नभए पनि मैले विद्यानन्द गुरूलाई पछ्याएँ । त्यसपछि ’ऊँ’ अक्षर लेख्न पनि लगाए । यसरी ओमबाट मेरो अक्षर शुभारम्भ भएको थियो । 

त्यस दिनपछि मलाई पिताजीले घरमै कखरा सिकाउन सुरू गर्नुभयो । अलिअलि जानिसकेपछि त्यस समयको केटाकेटीलाई पढाउने पहिलो पुस्तक आठ आनामा पाइन्थ्यो । त्यो पुस्तक ल्याएर पढाउन थाल्नुभयो ।

लगत्तै मलाई स्कुल भर्ना गर्ने तयारी पनि सुरू भयो । त्यति बेला मङ्गलबजार नजिकै पढाउने ठाउँ थियो । त्यसलाई पाटन स्कुल’ भनिन्थ्यो । त्यसमा भोटेबहालबाट आउने लोकमानसिंह नामका हेडमास्टर थिए । त्यसैको तल्लो तल्लामा सुकुल ओछ्याइएको प्राथमिक पाठशाला थियो । त्यसलाई भाषा पाठशाला भन्थे । 


विगत गाेरखापत्र अनलाइनमा प्रकाशित याे समाचार पढ्न तलकाे लिंकमा क्लिक गर्नुस् 

पाल्पामा ७५ वर्षअघि प्लेग फैँलदा 'लकडाउन' भएको थियो

त्यहाँ पण्डितहरूले सिकाउँथे भने माथिको अङ्ग्रेजी माध्यमबाट पढाइ हुने मिडिल स्कुल थियो । त्यही स्कुल ९० सालमा क्षतिग्रस्त भएपछि मङ्गलबजारबाट सारेर लगनखेलमा लगियो । पाटन अस्पताल भएको ठाउँनिरै टहरा बनाएर केही समय चलाइयो । कालान्तरमा त्यही स्कुल नै पाटन हाइस्कुलका रूपमा अहिले पनि पाटनढोकामा चलिरहेकै छ ।

बाले मलाई घरबाट लगेपछि तिनै पण्डितहरू सामुन्ने उभ्याउँदै 'मेरो छोरालाई पनि भर्ना गरिदिनुस्' भन्नुभयो ।

भर्ना हुनासाथ सबैभन्दा पहिले नै मलाई ती पण्डितहरूले एउटा श्लोक रट्न लगाएका थिए । त्यो थियो :

जय जगदीश्वर जय अविनाशी 

जय जय भगवन् करूणा राशी 

शक्ति छ प्रभुको अपरम्पार 

घुम्दछ जसमा सब संसार !

त्यो भाषा कुन हो ? त्यसले भनेको अर्थ के हो ? मैले केही पनि बुझेको थिइनँ । मलाई ती पण्डितहरूले घोक् भने र मैले घोक्न सुरू गरें ।

त्यसबाहेक पनि जे जे भने, त्यो त्यो पढ़ें । घोक् भनेका कुरा घोकेँ ।

चार–पाँच दिन पढेपछि म नराम्रो सङ्कटमा परें । पढाउँदा पढेकै छु, पर घोकाउँदा घोकेकै छु तर भन्न खोजिएको के हो, मरिगए बुझिनँ ।

मङ्गलबजारको त्यो स्कुलमा लगभग सबैजसो नेपाली भाषा जानेका मानिस थिए । म भने नेवारीमात्र बुझ्थें । एकातिर भाषाले गर्दा असाध्यै अप्ठेरो परेको थियो भने अर्कोतिर मलाई हरेकपटक घरदेखि स्कुलसम्म ल्याउने–लैजाने मानिस पनि थिएनन् ।

यसरी मेरो पढाइ बन्द भयो । मेरो प्रारम्भिक पाठशालाको अनुभवले एक साता पनि नाघ्न पाएन । त्यसपछि मेरा पिताजीले टोलैमा मिडिल स्कुल पढेका केही मानिस पठाउन थाल्नुभयो । उनीहरूले अङ्ग्रेजी माध्यमबाट पढेका थिए । मेरा पिताजीले छोराले अङ्ग्रेजी पढोस् भन्ने थियो । त्यो एक मोहरमा किनेको फस्ट बुक अफ रिडिङ बोकेर म उनीहरूकहाँ नै पढ्न जान थालें । म ’एबीसिडी’तर्फ लागें ।

एबीसीडीपछि त्यस पुस्तकमा भेडाको फोटो टाँसेर ’दि र्‍याम’ लेखिएको थियो । त्यसै गरी आकाशको चित्र राखेर ’दि स्काई’ लेखिएको थियो । मलाई खुब रमाइलो लाग्थ्यो । त्यहाँ मैले अलिकता नेपाली र अलिकता अङ्ग्रेजीको अभ्यास गर्न पाएँ ।

त्यसै क्रममा भाषा पाठशालाभन्दा माथिको मिडिल स्कुलमा करिब एक साता फेरि पढ्न गएको पनि सम्झन्छु तर त्यसले पनि निरन्तरता पाएन । मैले कसैगरी पनि पढाइमा राम्रो गरेर देखाउन सकिनँ । यस्तोमा मास्टरहरूले चुट्ने नै भए ।

एक दिन पिम्बहालका महन्थ मास्टरले मलाई नराम्ररी कुटे । कुटेपछि म ह्वाँह्वाँ रोएँ । सन्यासी थरका भएकाले हामी सबै उनलाई महन्थ मास्टर भनेरै चिन्थ्यौं । ती महन्थ मास्टरको चोट म अहिले पनि सम्झन्छु । मेरो कन्सिरीमा समातेर जुरूक्क माथि उचाल्दै ड्याम्म हिर्काएका थिए । 

त्यसबेला विद्यार्थीलाई पिट्न भनेपछि मास्टरहरू असाध्यै क्रूरता प्रकट गर्थे । एक जना ठाकुर दास भन्ने मास्टरले त त्यसै गरी विद्यार्थीलाई कुट्दा टाउको फुटेर रगतपच्छे पारिदिएका थिए । त्यति बेला त्यो घटनाले ठूलै हल्लीखल्ली मच्चिएको थियो ।

त्यसरी कुटेपछि सजाय पाउनुको साटो उन्नति पो भयो । विद्यार्थीलाई कुटेलगत्तै ती मास्टर जाउलाखेलतिरका हजुरियाकहाँ चाकडी गर्न गएछन् । त्यसपछि उल्टो उनलाई राम्रो हुनेगरी भक्तपुरतिर सरूवा गरिदिएका थिए ।

त्यस्तो समयमा मेरो हालत झनै खराब थियो । एक त पढाएको कुरा बुझ्नै सकिनँ । त्यसमाथि असाध्यै डरलाग्दा महन्थ मास्टरले त्यस्तरी कुटेपछि म स्कुल जानै छाडिदिएँ ।

पढाइ छुट्यो । पढ्नै पो नसक्ने भएँ जस्तो लाग्न थाल्यो ।  त्यसताका मेरा पिताजी पोता अड्डा (अहिलेको हिसाबले मालपोत बुझाउने र रजिस्ट्रेसन गर्ने कार्यालय) मा रहेर लेखापढीमा व्यस्त रहने गर्नुहुन्थ्यो । त्यो अड्डा पाटनकै सुन्दरीचोकतिर २००७ सालसम्म पनि थियो । त्यहीं बसेर दिनभरि निवेदन लेखिदिने, दर्खास्त गरिदिने जस्ता काम गर्नुहुन्थ्यो ।

एक दिन अर्थात् चन्द्रशमशेर प्रधानमन्त्री भएकै बेला त्यस अड्डामा एक भलाद्मी आइपुगे । उनी प्रधानमन्त्रीका जेठा पुत्र मोहनशमशेरका बैठके थिए । जग्गासम्बन्धी कामका सिलसिलामा पाटनतिर आएका उनलाई मेरा पिताजीले सघाइदिनुभयो । त्यस बखत उनी पिताजीबाट प्रभावित भएछन् । एक त राम्रो अक्षरले लेख्न जानेका र अर्को सीधासोझा मानिस भेटेपछि उत्तिखेरै उनले पिताजीलाई जागिरको प्रस्ताव राखेछन् । 

पिताजीले पनि “पाए खान्छु“ भनेर जवाफ दिनुभएछ ।

त्यसपछि तिनै भलाद्मीले मेरा पिताजीलाई मोहनशमशेरको कार्यालयमा लगेर लेखनदासको जागिर खुवाइदिएका थिए ।

मैले थाहा पाएसम्म मेरा पिताजीको तलब मासिक १५ रूपियाँबाट सुरू भएको थियो । पछि ५ रूपैयाँ बढेर २० रूपियाँ कायम गरिनुका साथै नायब मुखियासम्मको ओहोदा दिइएको थियो ।

मोहनशमशेरका निम्ति काम गरे पनि त्यो जागिर सरकारी नभई निजी थियो । पछि उनी श्री ३ भएपछि मेरा पिताजीलाई सरकारीतर्फ लगेर डिठ्ठासम्म बनाइदिएका थिए । पिताजीले मोहनशमशेरकहाँ जागिर पाएको केही समयमै चन्द्रशमशेर बितेपछि सिंहदरबार छाड्नुपर्ने भयो । परिवारमा भागबण्डा लागिसकेको थियो । 

त्यसैले मोहनशमशेर उतै गए । त्यहाँ पिताजी मोहनशमशेरकै निजी खर्च अड्डामा काम गर्नुहुन्थ्यो । एक जना भट्ट थरका हाकिम थिए । उनैको मातहत पिताजीले स्याह र स्रेस्ता लेखिदिनुपर्थ्याे । 

लक्ष्मी निवासमा दैनिक आवतजावत गर्नुपरेपछि पिताजीलाई पाटनदेखि महाराजगन्जसम्म घर र अड्डा आवतजावत गर्न असाध्यै कठिन हुन थाल्यो । लगत्तै उहाँले पनि महाराजगन्जमै डेरा लिनुभयो ।

पिताजी त्यसरी महाराजगन्जै बस्नु रेपछि म र आमा पालैपालो जानुपर्थ्याे । 

महाराजगन्ज त्यतिबेला गाउँ नै थियो । धारा थिएनन् । कुवामा गएर पानी ल्याउनुपर्थ्याे । पिताजीका लागि पानी ल्याइदिने, दाउरा ल्याउने, आगो फुकिदिने, भात पकाइदिनेलगायत अरू पनि आवश्यक मद्दत गरिदिनुपर्थ्याे । साँझपख फुर्सदका बेला म दरबार आसपासतिरै खेल्न निस्कन्थेँ । खेलिरहेको बेला मानिसहरूले “यो शङ्करदास मुखियाको छोरो हो“ भन्थे । मेरा पिताजीले अन्यत्र नाम राख्ने बेलामा शङ्करराज राखे तापनि मोहनशमशेरको अड्डामा आफूलाई शङ्करदास बनाउनुभएको थियो । त्यो अड्डामा अर्को पनि शङ्करराज नामका कर्मचारी भएकाले त्यो परिस्थिति आइलागेको थियो ।

दरबारका ढोके–पालेहरू सबैले मलाई चिन्थे ।

उनकै दरबार आसपास त्यसरी खेलेर हुर्के पनि मोहनशमशेरलाई प्रत्यक्ष भेट्ने मौकाचाहिँ मैले कहिल्यै पाइनँ । केवल परैबाट देख्थें ।

उनी निस्कने खबर पाउनेबित्तिकै त्यहाँको गारदका मानिसहरूले पूरै घेराबन्दी गरेर कडा पहरा दिइहाल्थे । त्यो गारद बीसौं जनाको हुन्थ्यो ।

त्यस बेला हामी त्यतातिर खेलिरहेका छौं भने पनि धेरै फैलिन नमिल्ने गरेर हामीलाई रोक्थे ।

मोहनशमशेरको सवारी हुनेबित्तिकै गारदका मानिसहरू सलामी ठोक्थे । त्यसै गरी सवारी दरबारभित्र पस्ने बेलामा पनि गारदले उस्तै कडिकडाउ गर्थ्याे  ।

त्यो कम्पाउन्डभित्र म यताउता गरिरहन्थें । सबैले चिन्ने भएपछि म घरी गोठमा पुग्थें, त घरी तबेलामा । त्यसै गरी उता कुकुर पाल्ने ठाउँतिर बेग्लै चहलपहल थियो । त्यहाँ पालेहरूले कुकुर स्याहारेका हुन्थे ।

मोहनशमशेरका दुई भाइ छोराहरू शारदाशमशेर र विजयशमशेर साँझ परेपछि घोडा चढेर छेउको फुटबल मैदानमा आइपुग्थे । त्यहाँ उनीहरू पोलो खेल्थे । कहिलेकाहीं हकी पनि खेल्थे । 

यस ठाउँमै सारा चाकरीदार मानिसहरूको ओइरो पनि लागिरहेकै हुन्थ्यो । आफू वरपरको त्यो रमाइलो म हेरिरहन्थें । नजिक गएर कुराकानी गर्ने  कुरै आउँदैनथ्यो । उनीहरूले बोल्ने घरानियाँ भाषा नजान्ने भएकाले मेरो अघिल्तिर सङ्कोचको अजङ्ग पर्खाल पनि उभिएको थियो ।

दरबारभित्र राणा खलककै केटाकेटी भए तापनि उनीहरूसँग हाम्रो सङ्गत हुँदैनथ्यो । दरबारबाहिर मात्रै साथीहरू हुन्थे ।

महाराजगन्ज बसेकै बेलामा पिताजीले मेरो भर्ना दरबार हाइस्कुलमा गराइदिनुभएको थियो । त्यति बेला म १२ वर्षको थिएँ होला । पढ्ने मामिलामा असाध्यै अल्छी थिएँ । त्यस बेला पढ्ने–लेख्नेभन्दा पनि पिताजीले दिएको एक पैसा वा दुई पैसाको लोभ मलाई बढी हुन्थ्यो । त्यो पैसाले हलुवा खान पाइन्थ्यो । मनभोग र चनाभुजा खान पनि पुग्थ्यो । त्यसको लोभैले म दरबार हाइस्कुल नियमित जान्थें ।


विगत गाेरखापत्र अनलाइनमा प्रकाशित याे समाचार पढ्न तलकाे लिंकमा क्लिक गर्नुस् 

सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का निस्कासन


मेरो भर्ना सात कक्षामा भएको म सम्झन्छु । अहिलेको हिसाबले भन्नुपर्दा म तीन कक्षामा एकैपटक भर्ना भएको थिएँ । त्यति बेला अहिलेभन्दा ठीक उल्टो हिसाबले कक्षा चल्थ्यो । हिजोआज एक कक्षामा विद्यार्थीको भर्ना भएजस्तो उति बेला दश कक्षामा भर्ना हुन्थ्यो । त्यसपछि घट्दै गएर सेकेन्ड क्लास (अहिलेको हिसाबले कक्षा नौ) हुँदै फर्स्ट क्लास (अहिलेको हिसाबले कक्षा दश) पूरा गरेपछि बल्ल मेट्रिक (अहिलेको हिसाबले एसएलसी) परीक्षा दिइन्थ्यो ।

दरबार हाइस्कुल जानुभन्दा पहिले पाटनमै फाटफुट कक्षा लिएको, ट्युसन पढेको र बाले पढाएका हिसाबले गर्दा मैले एकैपटक तीन अर्थात् उति बेलाको सात कक्षाबाट पढ्ने अवसर पाएको थिएँ । यसरी कक्षा बढाएर भर्ना गरिदिँदा सुरूमा मलाई केही मुश्किल परेको थियो ।

म प्रायः सबैभन्दा पछाडिको बेन्चमा बस्थेँ । सङ्कोच लाग्थ्यो । तर बिस्तारै बिस्तारै सबैथोक सामान्य हुँदै गयो ।

दरबार हाइस्कुलमा पढाइलेखाइ गर्नेबाहेक संसारमा नयाँ चिज के आइरहेको छ भनेर जान्ने अवसर पनि पाइन्थ्यो ।

विशेष गरी मैले पहिलोपटक डटपेन देखेको क्षण सम्झन्छु ।

म ६ कक्षामा पढ्दा एक दिन हेडमास्टर रूद्रराज पाण्डे हाम्रो कक्षाकोठामा आए । हेडमास्टर के कामले आएछन् भनेर हामीबीच खासखुस चल्यो । उनले त मसी नै नचाहिने फाउन्टेन पेन पो बोकेर आएका रहेछन् । गोजीबाट कलम निकाले र हामीलाई देखाउँदै भने, “यसलाई मसी चाहिँदैन । थाहा छ तिमीहरूलाई ?“ हामीले घाँटी हल्लाएर “अहँ, थाहा छैन’ भन्यौं ।

त्यसपछि उनले कागजमा कोरेर समेत देखाए । एउटा ठूलो आविष्कार देखेजस्तो लाग्यो हामीलाई । हिजोआजका पुस्ताले यो कुरा सुन्दा अनौठो मान्लान् तर हाम्रो समयको त्यो यथार्थ थियो । 

आजभोलि त्यसैलाई डटपेन भनेर आमरूपमा सबैले प्रयोग गरिरहेको देख्दा म त्यसै क्षणलाई सम्झिरहेको हुन्छु ।

दरबार हाइस्कुलले मलाई थुप्रै साथीसङ्गत पनि दिएको थियो । परिचित पूर्वप्रशासक नरकान्त अधिकारी त्यसै बेलादेखिका मेरा साथी हुन् । हाम्रो यो सङ्गत साथै जागिर खानेदेखि लिएर उनी बाँचुन्जेलसम्मै चल्यो ।

नरकान्तबाहेक गोपाल राजभण्डारी, कृष्ण राजभण्डारी, इन्द्रप्रसादजस्ता मेरा थुप्रै सहपाठी थिए ।

महाराजगन्जमा हुँदा किताब बोकेर लुरुलुरू रानीपोखरी जाने–आउने गर्थें । त्यस बेला त्यस भेगबाट दरबार हाइस्कुल आउने अरू कोही थिएनन् । बीचमा छोटो समय एक जना साथी देखिएका थिए तर उनले पनि फेल भएपछि पढाइ बीचैमा छाडे । यसरी महाराजगन्जदेखि रानीपोखरी आवतजावत गर्ने म एक्लो विद्यार्थी थिएँ ।

१९९० सालको भूकम्पपछि म महाराजगन्ज छाडेर फेरि पाटन बस्न थालें । चाहे महाराजगन्ज होस् वा पाटन, जताबाट पनि दरबार हाइस्कुल उत्तिकै दूरीमा पर्थ्याे । विडम्बनाचाहिं पाटनबाट पनि मसँगै स्कुल जाने अर्को कुनै साथी थिएनन् । केही समयपछि अलिक पर हिमालय होटलको अगाडितिर पुगेपछि भने कमलमणि दीक्षितलाई दरबार हाइस्कुल पढ्न जाने गरेको देख्न थालें । उनको साथमा विष्णुप्रसाद धिताल पनि हुन्थे । यसरी बागमती तरेर जानेमा अर्का एक भवानीशमशेर राणा पनि थिए । उनका चाहिं नोकरले पानी र दूध बोकेर पछिपछि कुदिरहेका हुन्थे । बागमती तरिसकेपछि थापाथली दरबार आइपुग्थ्यो । 

त्यहाँबाट उतै पढ्न जाने हिमालयशमशेर पनि देखापर्न थाल्थे । पैदल ओहोरदोहोर गर्ने उनको व्यवहार पनि सामान्य थियो । बरू एक जना मेहरशमशेर नामका विद्यार्थी थिए, जो भव्य अरबी घोडा चढेर आउँथे । शायद कुन जर्नेलकै सन्तान भएकाले उनको फुर्तिफार्ती बेग्लै थियो । जे होस् भित्री पाटनबाट त्यस बखत दरबार हाइस्कुल पढ्न जानेचाहिं ममात्रै थिएँ । 

भाषा पनि राम्ररी बुझ्दिनथें । त्यसैले अलिक सङ्कोच लाग्थ्यो । कक्षामा सबैभन्दा पछाडिको बेन्चमा बस्थें । मलाई सबैले ’येलेचा, येलेचा’ भन्थे । साे ताका यल भनिने पाटनबाट गएको विद्यार्थी भएकाले त्यसरी बोलाउँथे । यसरी पिताजीको इच्छाअनुसारै मेरो पढाइ अघि बढ्दै गयो ।

मैले दरबार हाइस्कुलबाट म्याट्रिक गरिसकेपछि १९९८ सालमा त्रिचन्द्र कलेजबाट आइए पास गरें । त्यसपछि बीए पढ्दापढ्दै २००१ सालमा मेरो जागिरे जीवन सुरू भएको थियो ।

त्यो जमानामा राणाहरूका लागि काम गर्नेले टन्नै बकस पाउँथे । त्यसमाथि मेरा पिताजी स्वयम् मोहनशमशेरको खर्चअड्डा सम्हालेर बस्नुभएको । उहाँले चाहेको भए अरूजस्तै सम्पत्ति जोर्न सक्नुहुन्थ्यो । तर, आफूले पाउने तलबभन्दा बढी कमाइको कहिल्यै आश नगर्ने सोझो–सीधा बानीले गर्दा त्यस्तो अतिरिक्त फाइदा कहिल्यै प्राप्त गर्नुभएन । त्यसरी नै पिताजीले जसोतसो–जेनतेन हामीलाई पढाउनु र हुर्काउनुभएको थियो ।


गाेरखापत्र अनलाइनमा प्रकाशित याे समाचार पढ्न तलकाे लिंकमा क्लिक गर्नुस् 

जोशीको अन्तिम संस्कार नहुने, अध्ययनका लागि अस्पतालमा राखिने

बखुंबहाःस्थित मेरो घर पनि पिताजीले नै किन्नुभएको हो । म जन्मिनुभन्दा ठीकअघि किनिएको यस घरको किस्ता पिताजीले पछिसम्मै कमाएर तिर्नुभएको मलाई सम्झना छ । उहाँले जागिरबाट बचेको समय पनि टोलका मानिसहरूको कागजपत्र लेखिदिएर थप आम्दानी गर्नुहुन्थ्यो ।

त्यसअघि पाटनकै सगोलको घरमा बसोबास गर्दै आउनुभएका पिताजीले उता खटपट परेपछि आफ्ना लागि बेग्लै घरको खोजी गर्नुभयो । त्यसपछि नै बखुंबहाःस्थित अहिलेको घर भेटिएको थियो ।

आमाको गर्भमा म आएकै बखत यो घर खरिद गरेको जानकारी पिताजीले गराइरहँदा मैले उहाँमा आफूप्रतिको अगाध माया महसुस गर्थे । मेरो जन्म यसै घरमा १९७७ साल वैशाख ३० गते भएको थियो  ।

हामीभन्दा अघि यो घरका मालिक कायस्थहरू थिए अर्थात् मल्लकालीन काजी खलक । त्यसै भएर उति बेलाको हिसाबमा यो सम्भ्रान्त शैलीको घर थियो ।

उनीहरूले नै ’बखुंबहाः नाम राखेर यो फराकिलो घर बनाएका रहेछन् । पछि आर्थिक अवस्था गाहो–साँघुरो भएपछि अगाडिको भागमात्रै पूरा हुन पायो । भित्रतिर विहार आकारको घर बनाउन उभ्याइएको जग अहिले पनि देखिन्छ । 

मल्लकालीन काजीहरूले त्यो कालखण्डमा बखुंबहाः विहार बनाउन पक्कै पनि यसमा टन्नै लगानी गरेको हुनुपर्छ ।

जेजति बनेको थियो, ९० सालको भुइँचालोले त्यसलाई पनि भत्काइदियो ।

यस घरको एउटा कुनामा रहेको पञ्चझ्याललाई हामीले तितरबितर अवस्थामा भेटेका थियौं । एकै ढिक्कामा बनाइएको ती पाँचवटा कलात्मक झ्याल कति भव्य थिए भनेर अनुमान लगाउन सकिन्थ्यो । ।

निकैपछि तालिमका क्रममा कलकत्ता पुगेको बेला मैले त्यहाँको सङ्ग्रहालयमा एकै ढिक्का पारेर बनाइएको उस्तै अर्को एउटा पञ्चझ्याल देखेको थिएँ । त्यसमा ’फ्रम नेपाल’ भनेर लेखिएको पनि थियो । हाम्रो घरमा भेटिएको पञ्चझ्यालको अवशेषसँग त्यसको रूप मिल्दोजुल्दो देख्दा म चकित परेको थिएँ ।

पिताजीले त्यसलाई बल मिल्ने केही आधारहरू सुनाउनु भए तापनि ठोस रूपमा पुष्टि नभएकाले मैले त्यसतर्फ खासै ध्यान दिइनँ ।

अहिले पनि प्रवेश गर्ने विशाल ढोकाले त्यस घरका निम्ति तयार पारिएका उति बेलाका झ्यालढोकाहरूको भव्यतातर्फ सङ्केत गर्छ । मेरो टोल वरपर कसैको पनि निजी घरमा यति ठूलो ढोका देखिंदैन । यो ढोकामै वज्रसत्वको मूर्ति छ । वज्रसत्त्व भनेको बौद्धमार्गी महायानी वज्रयानीहरूका गुरु हुन् । त्यो मूर्ति अहिले पनि बिग्रेको छैन । माथिको दलिन पनि उस्तै महत्त्वको देखिन्छ ।

त्यसभन्दा माथिको भागचाहिं ९० सालको भुइँचालोमा क्षतिग्रस्त हुनपुग्यो । साढे तीन तल्लाको घर भएकोमा त्यो भूकम्पपछि दुई तल्लामा सीमित छ ।

यसरी त्यस बेला कायस्थहरूले उभ्याउन खोजेको ’बखुंबहाः को अनुमान लगाउन सकिन्छ ।

त्यही महत्त्वलाई बल मिलोस् भनेर मैले कालान्तरमा मायादेवी ल्याएर सो परिसरमा स्थापना गरें । बुद्ध पनि राखें । प्रज्ञापारमिताको परिचर्चा पनि चलाएँ । अनुसन्धानका काम गर्नुका साथै प्रकाशनहरू पनि गरें । 

यसरी बखुंबहाः अर्थात् मेरो घरमा बौद्ध धर्मलाई आफ्नै तरिकाले नयाँ किसिमबाट अघि बढाउने काम मैले गरें ।

यस घरको भित्री परिसरमा तयार भएका संरचना र भवनचाहिं मेरा पिताजीले कायस्थहरूबाट किनिसकेपछि उभ्याउनुभएको हो । केही वर्षअघिसम्म पनि मेरो त्यसै घरमा बसोबास थियो । पिताजीसँगका मेरा थुप्रै सम्झना छन् ।

त्यसमध्ये बेस्करी गाँजा खाएको एउटा घटनाले अहिले पनि मलाई कुतकुती लगाउँछ ।त्यस बखत मेरो भर्खरै बिहे भएको थियो । मेरा पिताजीलाई लामो समयदेखि चल्दै आएको पेटको समस्या झन्झनै बल्झिन थाल्यो । निकै औषधोपचार गर्दा पनि निको भएन । केही सीप नलागेपछि एक जना नाताका मामाले ज्वाइँ तपाईंले धेरै दुःख पाउनुभयो । अब एकपटक गाँजा खाएर हेर्नुपर्यो भने ।

दिनको एकपटक बेलुकीपख गाँजा खाइदिने हो भने त्यसले औषधिको काम गर्ने सल्लाह मामाले दिएका थिए । त्यसरी गाँजा खान थालेपछि मेरा पिताजीलाई अलिक बिसेक पनि भएको थियो ।

साँझ परेपछि एक मात्रा गाँजा मलेर माटोको सानो चिलिममा राखिदिनु पर्थ्याे । सुत्ने बेलामा त्यो चिलिम सल्काएर दिएपछि पिताजीले त्यसको सर्को तान्नुहुन्थ्यो र आनन्दले निदाउनुहुन्थ्यो । त्यसरी पिताजीका निम्ति गाँजा तयार पारिदिने काम मैले गर्दै आएको थिएँ । त्यही बेला म पनि पल्किएँ । पिताजीलाई तयार पारेको गाँजा एक–दुई सर्को मैले पनि तान्न थालें ।

अघिपछि अलिअलिमात्र केही हो कि जस्तो हुन्थ्यो । एक दिन त बेस्मारी नशाले धुत पारिदियो । मैले त दुनियै अर्को देख्न थालें । संसारै अर्को भयो । हाँस्न थालेपछि पनि बेस्मारी हाँस्याहाँस्यै भएँ । के भन्नुहुन्छ र के भन्नुहुन्न भन्ने कुराको पनि मेसो नै भएन । जथाभावी बोल्न थालेँछु । भर्खर बिहे गरेको ठिटो । मलाई कसले सम्हाल्ने ? एक घण्टासम्म अनेक तमासा देखाएँछु । अन्तिममा केही सीप नलागेपछि पिताजीले “यसको सुरूवाल खोलिदेऊ’ भन्नुभयो । जस्तै लठ्ठ परे पनि पिताजीको त्यो वाक्यले चाहिं मेरो दिमागमा हिर्कायो र नियन्त्रित हुनपुगें । त्यसपछि बल्ल निद्रा लागेर सुतेको थिएँ । त्यस दिनपछि मैले जीवनमा फेरि कहिल्यै गाँजा खाइनँ ।

मेरी आमाको तुलनामा पिताजी चाँडै दिवङ्गत हुनुभयो । उहाँको एकपटक मात्र बुढापास्नी गर्न पायौं ।

अन्तिम समयमा मैले मेरा पिताजीलाई उहाँको इच्छा सोधेको थिएँ । उहाँमा हामी जोशी भइकन पनि ज्योतिषीका रूपमा जेजति गर्नुपर्ने थियो, त्यो गर्न नसकेकामा पछुतो रहेछ । यस्तो अवस्थामा नन्दीकेशरका रुपमा मानिंदै आएका ललितपुरका तमाम जोशीहरूलाई सङ्गठित गरेर सामूहिक रुपमा नन्दीकेशर पूजा गराउनुका साथै सगोत्रीय जोशीभोज गराउने इच्छा प्रकट गर्नुभयो । तर परिस्थितिले गर्दा त्यो इच्छा पूरा गर्न नपाउँदै उहाँको निधन ७८ वर्षको उमेरमा २०३० सालमा भयो ।

पिताजीको निधनपछि मैले उहाँले ज्योतिषशास्त्रसँग जोडिएका कतिपय टिपनटापनहरू फेला पारें । किताबको नाम थियो, ’शङ्कर नगुमा’ । शङ्कर अर्थात् पिताजीको नाम र नगुमा अर्थात् पात्रो । पिताजी त रहनुभएन तर उहाँको पुस्तकलाई नै साक्षी राखेर हामी दुवै दाजुभाइले उहाँको अन्तिम इच्छा मुताबिक जोशीभोज आयोजना गरिदिएका थियौं । भएभरका जोशीहरू आमन्त्रित त्यस भेलामा पुस्तक पनि वितरण गरिएको थियो ।

कालान्तरमा म बस्दै आएको पिताजीले बनाइदिनुभएको घर पनि २०७२ सालको महाभूकम्पले नराम्ररी क्षतिग्रस्त भयो ।

त्यसै स्थानमा ’लोकसाहित्य भवन’ बनाउने हो भने सांसद विकास कोषबाट सहयोग गरिने प्रस्ताव सांसद कृष्णलाल महर्जन र प्रदेश सांसद ज्ञानेन्द्र शाक्यबाट आयो । कुनै समय त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन संयुक्त क्याम्पसमा मैले स्नातकोत्तर तहका विद्यार्थीलाई लोकसाहित्य पढाएको थिएँ । 

२०३८ सालमा विश्वविद्यालयले नेपालभाषा स्नातकोत्तरको नियमित कक्षा सुरू गरेको थियो । त्यो दुईवर्षे पढाइमध्ये दोस्रो वर्ष ऐच्छिक विषयअन्तर्गत नेवाः लोकसाहित्य’ पनि राखिएको थियो । उक्त विषय पढाउनका निम्ति लोकसाहित्य विशेषज्ञका रूपमा मलाई नियुक्त गरियो । 

त्यति बेलै मेरो नेतृत्वमा पहिला ब्याचका विद्यार्थीहरूलाई राखेर ’लोकसाहित्य परिषद्’ स्थापना २०४१ सालमा भएको थियो । त्यही प्रयासलाई अघि बढाउँदै यसरी भवन नै उभ्याउने प्रस्ताव मलाई पनि उचित लाग्यो । यो भवनमा सांसद विकास कोषबाहेक मेरा शुभचिन्तकहरूले पनि सहयोग प्रदान गरेका छन् ।

त्यसरी भवनको पहिलो तलालाई मैलै पिताजी लिखित पुस्तकको नाम अर्थात् शङ्कर नगुमा ग्यालरी भनेर नामकरण गराएको छु । पिताजी र उहाँको कृति शङ्कर नगुमा यो ग्यालरीका रुपमा जीवित रहिरहनेछ । 

–गिरिश गिरीले लेख्नुभएकाे 'सत्यमाेहन' कृतिबाट 'म सत्यमाेहन' शीर्षककाे लेखबाट साभार गरिएकाे छ । –सम्पादक