• ४ मंसिर २०८२, बिहिबार

पचपन्न लाख किलोभन्दा बढी जडीबुटी निर्यात

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, मङ्सिर ४ गते । जडीबुटी निर्यातका लागि देशकै प्रमुख नाकाका रूपमा गणना हुने नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ५५ लाख किलोभन्दा बढी जडीबुटी निर्यात गरिएको छ । केही वर्षयता आएर यस नाकाबाट जडीबुटी निर्यात वृद्धि हुँदै गएपछि त्यसमा लागेका व्यवसायी, सङ्कलक र किसान सबै उत्साहित भएको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ । 

नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले गत आवमा यस नाकाबाट ५५ लाख ६३ हजार ७७० किलो जडीबुटी भारत तथा तेस्रो देशमा निर्यात भएको बताउनुभयो । उहाँले अघिल्लो आव २०८०/८१ मा यस नाकाबाट ४६ लाख ४९ हजार ९२९ किलो जडीबुटी निर्यात भएको थियो । 

गत आवमा सबैभन्दा बढी निर्यात हुने जडीबुटीमा चुत्रो, रिठा, तेजपात, टिमुर, पाषाणभेद, पदमचाल, काउलोको बोक्रा, चुत्रो बोक्रा र कुटकीलगायत रहेको सङ्घले जनाएको छ । जस अनुसार १८ लाख ९८ हजार १९४ किलो चुत्रो, १४ लाख ६४ हजार ३८० किलो रिट्ठा, पाँच लाख ७७ हजार ८६७ किलो टिमुर, दुई लाख २४ हजार ९९७ किलो तेजपात, तीन लाख ३० हजार ४४१ किलो पाषाणभेद, एक लाख ६६ हजार १७ किलो पदमचाल, एक लाख २६ हजार ६६५ किलो काउलोको बोक्रा, एक लाख २८ हजार २७७ किलो चुत्राको बोक्रा र ७२ हजार २८८ किलो कुटकी निर्यात गरिएको छ । 

यस नाकाबाट ४४ प्रकारका जडीबुटी निर्यात भएको जनाउँदै सङ्घका अध्यक्ष शर्माले सोही अवधिमा ४२ हजार ७५० किलो जटामासी मार्क नामक जडीबुटी दुबई र पाकिस्तानमा निर्यात गरिएको बताउनुभयो । 

पछिल्लो समयमा आएर जडीबटी र जडीबुटीसँग सम्बन्धित अन्य वस्तुको निर्यात राम्रो हुन थालेपछि पश्चिम नेपालका जडीबुटी उत्पादन गर्ने किसान र निर्यात गर्ने व्यवसायी दुबैलाई ठुलो राहत महसुस भएको नेपाल जडीबुटी व्यवसायी सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी मोहम्मद याकुब अन्सारीले बताउनुभयो ।  उता नेपालगन्ज भन्सार कार्यालयले पनि नेपालगन्ज नाकाबाट निर्यात हुने वस्तुमा जडीबुटी नै प्रमुख रहेको जनाउँदै बर्सेनि जडीबुटीको निर्यातमा वृद्धि हुँदै गएको जनाएको छ ।