• १५ वैशाख २०८३, मङ्गलबार

स्रष्टा मुलुकका पुँजी : राष्ट्रपति

blog

‘राष्ट्रपति रामचन्द्र पौडेल आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घामा सोमबार भानु साहित्य उद्यान शिलान्यास गर्नुहुँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले स्रष्टाहरू मुलुकको अमूल्य पुँजी र पहिचान भएकाले भाषा, साहित्य र संस्कृतिको विकासमा सरकार तथा सम्बद्ध सबै पक्षले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घामा सोमबार आयोजित एक विशेष समारोहबिच ‘भानु साहित्य उद्यान’ शिलान्यास गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।

शिलान्यासपछि समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भानुभक्तको जन्मभूमिलाई नेपाली भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्नुभयो । “आज हामी भानुभक्तको जन्मस्थलमा उभिएका छौँ, भानुभक्तले यही भूमिमा हुर्केबढेर काव्यकृति सिर्जना गरे,” उहाँले भन्नुभयो, “त्यसैले हामीले भानुभक्तप्रति गर्ने सच्चा श्रद्धाञ्जली भनेको उनको जन्मभूमिलाई नेपाली भाषा, साहित्य र संस्कृतिको त्रिवेणीका रूपमा विकास गर्नु हो, यस्तो प्रयास निकै अघिदेखि प्रारम्भ हुँदै आएको पनि छ ।”

भानुभक्तले आजभन्दा दुई सय वर्षअघि रामायणलाई नेपाली भाषामा रूपान्तरण गरी छरिएर रहेका नेपालीलाई भावनात्मक एकताको सूत्रमा बाँध्न खेलेको भूमिकाको राष्ट्रपतिले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “भानुभक्तकै कारण आज हामी संसारको जुनसुकै कुनामा पुगे पनि नेपालीका रूपमा परिचित हुन पाएका छौँ । उहाँको योगदान नेपालको भौगोलिक सिमानामा मात्र सीमित छैन ।” 

राष्ट्रपति पौडेलले भानुका कवितामा पाइने लोकलयको मिठास र सहज भाषाले नेपाली समाजमा साझा सांस्कृतिक सम्बन्ध मजबुत बनाएको चर्चा गर्नुभयो । साझा भूगोलमा बसोबास गर्ने जनतालाई भावनात्मक एकताको सूत्रमा आबद्ध गर्न भानुभक्तको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । राष्ट्रपतिले चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको केन्द्रका रूपमा विकास गर्न स्थानीय समुदायलाई आह्वान गर्नुभयो । उहाँले सङ्घीय र प्रदेश सरकारलाई यस क्षेत्रको पहुँचमार्गको सुदृढीकरण र खानेपानीको स्थायी आपूर्ति सुनिश्चित गर्न तत्काल कार्यान्वयनको आग्रहसमेत गर्नुभयो । “भौतिक निर्माणको चरण प्रारम्भ भएको छ, त्यसलाई सघाउन सबै पक्षले आआफ्नो क्षेत्रबाट योगदान दिनु जरुरी छ,” राष्ट्रपति पौडेलले भन्नुभयो, “चुँदीरम्घालाई रामायण र नेपाली संस्कृतिका अन्य केन्द्रसँग जोड्ने योजना बनाई पर्यटकलाई यहाँसम्म पु¥याउनु पर्छ ।” उहाँले विद्यार्थीको शैक्षिक भ्रमणमा चुँदीरम्घालाई अनिवार्य गन्तव्यका रूपमा समावेश गर्नसमेत सुझाव दिनुभयो ।

राष्ट्रपति पौडेलकै विशेष परिकल्पना र पहलमा अघि बढेको यो आयोजना सहरी विकास मन्त्रालयमार्फत २० करोड रुपियाँको बजेटबाट पहिलो चरणको निर्माण सुरु गरिएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व र योगदानलाई मूर्त रूप दिने गरी रम्घाको शिखरमा गोलघरमाथि भानुभक्तको विशाल प्रतिमा, रामायण मन्दिर, साहित्यग्राम र प्रज्ञा भवन जस्ता संरचना समेटिएका छन् । 

यस परियोजनाको अर्को विशिष्ट पक्ष ‘सप्तधाम’ निर्माण हो, जस अन्तर्गत सातै प्रदेशका प्रसिद्ध धार्मिक एवं सांस्कृतिक स्थलका लघुसंरचना निर्माण गरी नेपालको राष्ट्रिय स्वरूपलाई एकै ठाउँमा झल्काइने छ । २०५३ सालमा भानु जन्मस्थल विकास समिति गठन भएपछि र २०७० सालतिर राष्ट्रपति पौडेल स्वयम्ले प्रस्ताव गरेको यो उद्यानको सपनाले अहिले आएर पूर्णता पाउने दिशा लिएको छ । यस आयोजनाले चुँदीरम्घालाई विश्वभरका नेपालीभाषीको आस्थाको केन्द्र र महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने विश्वास लिइएको छ । 

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले यो परियोजना प्रदेशकै एउटा गौरवपूर्ण सांस्कृतिक सम्पदा हुने उल्लेख गर्नुभयो । भानु साहित्य उद्यान समितिका महासचिव प्राडा व्रतराज आचार्यले उद्यानभित्र सातै प्रदेशका सांस्कृतिक झलक समेटिने जानकारी दिनुभयो । सो अवसरमा रामायण कथामा आधारित बालन नृत्य र स्थानीय कला संस्कृति प्रदर्शन गर्दै स्थानीयले खुसी साटासाट गरेका थिए । कार्यक्रममा तनहुँ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले भानु साहित्य उद्यानलाई अन्तर्राष्ट्रियस्तरको साहित्यिक पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

त्यस्तै वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठीले भानुभक्तको जन्मस्थललाई नेपाली भाषा र साहित्यको केन्द्रका रूपमा विकास गर्दा यसले विश्वभरका नेपालीलाई भावनात्मक रूपमा जोड्ने बताउनुभयो ।