• १५ वैशाख २०८३, मङ्गलबार

नवौँ मेडिकल तथा ल्याब प्रदर्शनी हुँदै

blog

काठमाडौँ, वैशाख १५ गते । नेपालको मेडिकल क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यले नवौँ नेपाल मेडिकल तथा ल्याब प्रदर्शनी हुने भएको छ । वैशाख १७ देखि १९ गतेसम्म काठमाडौँको भृकुटीपण्डपमा सञ्चालन हुने मेडिकल तथा ल्याब प्रदर्शनी (एक्स्पो)मा दुई सयभन्दा बढी मेडिकल स्टलहरु रहने छन् ।

मेडिकल तथा रसाइन आपूर्ति संघ नेपाल, एसडी प्रोमो मिडिया र ईइपीसी भारतले संयुक्त रुपमा मेडिकल तथा ल्याबको प्रदर्शनीको आयोजना गर्न लागेका हुन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मेडिकल तथा रसाइन आपूर्ति संघ नेपालका अध्यक्ष भक्त हमालले स्वास्थ्य क्षेत्रमा हरेक वर्ष नयाँ–नयाँ उपकरणहरुको आविष्कार हुने भएकाले ती कुरा अस्पतालसम्म पु¥याउने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले प्रदर्शनीबाट नयाँ कम्पनीहरूका लागि स्थापित संस्था तथा ब्रान्डसँग परिचय तथा चिनजानका लागि महत्त्वपूर्ण अवसर हुने जानकारी दिनुभयो । अध्यक्ष हमालले प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न १५ देशका उत्पादकले आफ्ना ८०० बढी ब्राण्ड र एक हजार बढी उत्पादन प्रदर्शनीमा राखिने जानकारी दिनुभयो ।

उहाँले प्रदर्शनीमा चिकित्सा क्षेत्रका प्रमुख अस्पताल, डाक्टरहरू, रोग विशेषज्ञहरू, सर्जिकल, निदान र अनुसन्धान प्रयोगशालाका विज्ञ, वैज्ञानिक, डिलर, वितरक, नर्स, स्वास्थ्यकर्मी, आयातकर्ता, खुद्रा विक्रेता र अन्य खरिद समूहका लागि मुख्य आकर्षण हुने बताउनुभयो ।

एसडी प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको जानकारी दिनुभयो । उहाँले एक्स्पोमा सबैभन्दा ठुलो बिटुबी मेडिकल, डाइग्नोस्टिक, प्रयोगशाला तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुन लागेको बताउनुभयो ।

परासरका अनुसार प्रदर्शनीले विभिन्न मूल्यका नवीन प्रयोगहरू तथा विविध उत्पादनहरू देखाउनेछ । एक्सपोले साना तथा ठुला कम्पनीहरूलाई एक अर्कासँग परिचय तथा सम्बन्ध बढाउदै आफ्ना सृजनाहरू परिचित गराउने सुनौलो अवसर दिने बताउनुभयो । गतवर्ष नेपाल मेडिकल एण्ड ल्याब एक्स्पोले नेपाल तथा अन्तर्राष्ट्रिय उद्योग, प्रदर्शक तथा आगन्तुकहरुबाट अत्यन्तै सकारात्मक प्राप्त गरेको उहाँको भनाइ थियो ।