हुम्ला समाचारदाता
हुम्ला, वैशाख १५ गते । हुम्लाका दुई गाउँपालिकाका दुई वटा वडाका स्थानीय नागरिकताको सिफारिस लिन छदेखि १२ घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । ताजाकोट गाउँपालिका–३ को मासपुर र सर्केगाड गाउँपालिका–१, तुम्च गाउँका बासिन्दा नागरिकताको सिफारिस लिन १२ घन्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको हो ।
ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँका स्थानीय परिमल बुढाले वडा कार्यालयबाट आवश्यक सिफारिस लिन १२ घण्टासम्म हिँडेर जानुपर्ने बाध्यता रहेको बताउनुभयो । वडा कार्यालय एउटा बस्तीमा रहेको र आफ्नो गाउँ धेरै टाढा रहेका कारण यो दुःख आफूलगायतका वडाका धेरै स्थानीयले बेहोर्नु परेको गुनासो उहाँको छ । सो बस्तीमा २२ घरधुरी छन् । उक्त गाउँका जोकोही स्थानीयले नेपाली नागरिकताको सिफारिस, प्रतिलिपिको सिफारिस, राष्ट्रिय परिचयपत्रको सिफारिस र अन्य आवश्यक पर्ने सिफारिस लिन १२ घण्टासम्म हिँड्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । मासपुरका स्थानीयलाई यी सिफारिस लिनका लागि तीन दिन समय लाग्ने गरेको छ ।
जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिका–१ को तुम्च गाउँमा पनि अवस्था उस्तै छ । सो वडाका स्थानीय प्रकाश मल्लले आफ्नो गाउँका स्थानीयले पनि ६ घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँको वडाको केन्द्र जैरगाउँमा छ । तुम्चबाट वडा कार्यालय रहेको जैरगाउँमा पुग्न छ घण्टा उकालो हिँड्नु पर्छ । मल्ल भन्नुहुन्छ, “देशमा सङ्घीय प्रणाली लागु भएपछि गाउँ गाउँमा सरकार आएको भनिए पनि हामीले त्यो महसुस गर्न पाएका छैनौँ ।” वडाध्यक्षले महिनाको दुई पटक गाउँमा आवश्यक कागजात बोकेर आउन स्थानीयलाई आग्रह गर्नुहुन्छ । उक्त वडाका वडा सदस्य उब्जन मल्लले स्थानीयलाई सरकारी कागजात लिन सास्ती खेप्नु परिरहेको बताउनुभयो ।