• १५ वैशाख २०८३, मङ्गलबार

गजेन्द्रमोक्ष धाममा तटबन्ध र घाट निर्माण तीव्र : कटान जोखिम न्यूनीकरण

blog

गजेन्द्रमोक्ष धाममा तटबन्ध र घाट निर्माणको प्राविधिक टोलीद्वारा अनुगमन । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख १५ गते ।
नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) स्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको गजेन्द्रमोक्ष धाममा व्यवस्थित सिँढी र तटबन्ध निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ । नारायणी नदीको कटानबाट धामको संरक्षण गर्ने तथा तीर्थयात्रीलाई स्नान गर्न सहज बनाउने उद्देश्यसहित उक्त आयोजना निर्माण भइरहेको हो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, चितवनका कार्यालय प्रमुख डा. नारायण सुवेदीका अनुसार संघीय सरकारको २ करोड १४ लाख रुपियाँ लागतमा सञ्चालित यो आयोजना सोही कार्यालयको रेखदेखमा कार्यान्वयन भइरहेको छ ।

उहाँका अनुसार निर्माण कार्यले नारायणी नदीबाट हुनसक्ने उच्च जोखिम न्यूनीकरण गर्दै पक्की तटबन्धमार्फत धामको सुरक्षा गर्नेछ । साथै, तीर्थयात्रीका लागि स्नान तथा नदी किनारमा आवतजावत गर्न सहज हुने गरी व्यवस्थित सिँढी र पैदल मार्ग (पेटी) निर्माण गरिनेछ, जसले भक्तजनलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

डा. सुवेदीले हाल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना सम्पन्न भएपछि गजेन्द्रमोक्ष धामको भौतिक सुरक्षा मात्र नभई स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय योगदान पुग्नेछ ।

श्रीमद्भागवत महापुराणअनुसार यही स्थानमा गजेन्द्र (हात्ती) र ग्राह (गोही) बीच संघर्ष भएको थियो । संकटमा परेका गजेन्द्रले भगवान विष्णुको स्तुति गरेपछि भगवानले सुदर्शन चक्र प्रयोग गरी गोहीको वध गरेर उद्धार गर्नुभएको विश्वास गरिन्छ । त्यसैले यस स्थानलाई ‘गजेन्द्रमोक्ष’ भनिएको हो ।

गजेन्द्रमोक्ष धाम केवल धार्मिक स्थल मात्र नभई प्रकृति, इतिहास र अध्यात्मको अनुपम संगम हो । हाल भइरहेको सिँढी र तटबन्ध निर्माणले यस पवित्र स्थलको संरक्षण र धार्मिक पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।