• १५ वैशाख २०८३, मङ्गलबार

पहिलो पटक एआई प्रविधिबाट क्षयरोग पहिचान

blog

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), वैशाख १५ गते । जुम्लाको चन्दननाथ नगरपालिकामा ‘क्षयरोगमुक्त पालिका’ अभियान अन्तर्गत पहिलो पटक कृत्रिम बृद्धिमता (एआई) प्रविधिको प्रयोग गरी क्षयरोगको पहिचान शिविर सञ्चालन भएको छ । स्वास्थ्य सेवामा आधुनिक प्रविधिको प्रयोगमार्फत रोग पहिचानलाई छिटो, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यसहित उक्त कार्यक्रम सञ्चालन गरिएको हो । 

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको यस अभियानमार्फत नगरपालिकाका विभिन्न वडाका नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । विशेष गरी क्षयरोगको जोखिममा रहेका समूहलाई लक्षित गरी गरिएको पहिचान परीक्षणले प्रारम्भिक चरणमै रोग पहिचान गर्न सहयोग पुगेको स्वास्थ्य शाखाले जनाएको छ । 

वडा नं. ८ अन्तर्गत तलिउम स्वास्थ्य चौकीमा गरिएको परीक्षणमा १४९ जनाको स्वास्थ्य जाँच गरिएको थियो । परीक्षणका क्रममा शङ्कास्पद देखिएका १७ जनाबाट जिनएक्सपर्ट परीक्षणका लागि खकार नमुना सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको छ ।

त्यस्तै वडा नं. ४ स्थित सहरी स्वास्थ्य सेवा केन्द्रमा १८२ जनाको परीक्षण गरिएकोमा १३ जनाको खकार नमुना थप विस्तृत परीक्षणका लागि प्रतिष्ठानको प्रयोगशालामा पठाइएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । 

यसै गरी वडा नं. ६ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा १२५ जनाको परीक्षण गर्दा नौ जनाको नमुना जिनएक्सपर्ट परीक्षणका लागि पठाइएको थियो । तीमध्ये परीक्षण परिणाम अनुसार एक जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित व्यक्तिको उपचार प्रक्रिया तुरुन्तै सुरु गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतका अनुसार एआई प्रविधिको प्रयोगले क्षयरोग जस्ता रोगको प्रारम्भिक पहिचानमा महत्वपूर्ण योगदान पु¥याएको छ । उहाँका अनुसार परम्परागत विधिको तुलनामा यो प्रविधिले जोखिमयुक्त व्यक्तिलाई छिटो पहिचान गर्न, परीक्षणको दायरा बढाउन तथा समयमै उपचारमा लैजान सहज बनाएको छ ।

उहाँले चन्दननाथ नगरपालिकालाई ‘क्षयरोगमुक्त पालिका’ बनाउने लक्ष्यसहित यस्ता आधुनिक प्रविधिमा आधारित स्वास्थ्य अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो । साथै समुदायस्तरमै स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै नागरिकलाई नियमित परीक्षणका लागि प्रेरित गरिने पनि उहाँले बताउनुभयो । यस कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा प्रविधिको प्रयोगको नयाँ अभ्यास सुरु गरेको र भविष्यमा अन्य रोग नियन्त्रण तथा स्वास्थ्य सुधारका क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।