नेतृत्व भनेको साझा लक्ष्य प्राप्त गर्न व्यक्तिलाई उत्प्रेरित गर्ने, प्रभावित पार्ने, उनीहरूको क्षमतालाई उजागर गर्ने र सङ्घर्ष गर्न उत्तेजित गर्ने कला र विज्ञान हो । विसं २०७९ सालको असारमा जन्मेको तत्कालीन कान्छो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले २०७९ मङ्सिरको निर्वाचनमा आइपुग्दा २० सिट ल्यायो । त्यही दलले २०८२ फागुन २१ को संसदीय निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत (१८२ सिट) प्राप्त गर्न सफल भयो । यो सबै नेपाली जनताले समर्थन र सहकार्य गरेकाले सम्भव भएको हो । जनता जनार्दन ! विसं २०८२ फागुन २१ को संसदीय निर्वाचनमार्फत इतिहासमै पहिलो पटक सबैभन्दा धेरै, भनौँ बर्गेल्ती, नयाँ अनुहारका माननीय सांसद कानुन निर्माताका रूपमा सङ्घीय संसद्मा प्रवेश गरेका छन् ।
नवीन विकल्पको खोजीका रूपमा राजनीतिक नेतृत्व तहमा देशका कुनाकाप्चाबाट कहिल्यै कतै सार्वजनिक जीवनमा नभेटिने अपरिकल्पनीय नयाँ अनुहारको खोजी गर्नु नेपाली युवा चेतले गरेको परीक्षण र मूल्याङ्कन दुवै हो । अर्कातिर विसं २०४७ मा प्रजातन्त्रको पुनर्बहाली भएदेखि नै झाँगिँदै गएको व्याप्त भ्रष्टाचारप्रतिको वितृष्णा पोखिएको हो । सङ्घीय संसद् जनताको सर्वोच्च कानुन निर्माण गर्ने संस्था हो । यसले कानुन निर्माण मात्र गर्ने होइन, सरकारका काम, गतिविधिको निगरानी गर्छ । सरकारमा विभिन्न जनसमूहको आवाजको प्रतिनिधित्व गर्छ । देशको नीति, कार्यक्रम तथा बजेट पारित गर्छ ।
किन युवाले नेतृत्व गर्ने
अहिलेको नयाँ पुस्ता डिजिटल क्रान्तिका साक्षी मात्र होइनन्, नैतिक र आत्मिक पुनर्जागरणका वाहक पनि बन्न सक्छन् । क्रोध र व्यङ्ग्यभन्दा माथि उठेर संवाद, समझदारी र करुणालाई अपनाउनु नै उनीहरूको सबैभन्दा ठुलो शक्ति बन्न सक्छ । नागरिकलाई अन्धविश्वास र सत्ताप्रदत्त ‘सत्य’ बाट मुक्त गर्दै वैकल्पिक र वैज्ञानिक दृष्टिकोण खोज्न प्रेरित गर्नु पर्छ । यसरी हेर्दा विनिर्माणवाद र विघटन मात्र होइन, चेतनाको पुनर्निर्माणतर्फको प्रक्रिया सुरु गर्नु पर्छ । यसले नेपाली समाजलाई अझ न्यायपूर्ण, शान्त, सन्तुलित र समावेशी बनाउने सम्भावना बोक्छ ।
मुलुकमा आमूल परिवर्तन क्रान्तिले मात्र ल्याउँदैन, आमनिर्वाचनले पनि ल्याउँछ । विसं २०८४ को संसदीय निर्वाचनलाई २०८२ मा सार्नु जेनजी आन्दोलनको परिणाम हो तर सङ्घीय संसद्मा नयाँ नयाँ सम्भावना बोकेका अनुहारको खोजी गर्नु २०८२ को संसदीय निर्वाचनको परिणाम हो । आफ्ना स्वार्थ र अधिकारभन्दा माथि उठेर देश र जनाताको सेवा गर्न सक्ने नेतृत्वले मात्र नेपालको राजनीतिक स्थिरता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन समृद्धिको मार्ग दृढतापूर्वक तय गर्न सक्छ । युवाले ऊर्जा र उत्साह, नयाँ सोच र नवप्रवर्तन, दीर्घकालीन भविष्यको जिम्मेवारी, समाज परिवर्तनको शक्ति, प्रविधि अवलम्बन सबै कुरा मन र मस्तिष्कमा आन्तरिकीकरण गरेका हुन्छन् । उनीहरूमा रहेको यो ऊर्जा सबै आधुनिक ज्ञान, विज्ञान र शिक्षाले बोकेको हुन्छ र अगाडि बढाउँछ । युवा प्रविधि र आधुनिक ज्ञानमा बढी सक्षम र अनुकूल हुन्छन्, जसले दिगो विकास, समावेशी विकास र सुशासनलाई सुदृढ बनाउँछ ।
युवाको ऊर्जा, नयाँ सोच, प्रविधिमा दक्षता र परिवर्तन ल्याउने क्षमता, सक्रिय सहभागिता, सक्षमता सबै प्रविधि र आधुनिक ज्ञानमा पहुँच भएकाले सम्भव भएको हो । तिनीहरू सकारात्मक परिवर्तनका वाहक हुन्, उनीहरूमा समानता, न्याय र समावेशिताको भावना हुन्छ; दीर्घकालीन उज्यालो भविष्यको जिम्मेवारी वहन गर्ने क्षमता पनि हुन्छ ।
नेपालमा जेनजी आन्दोलन केवल सामाजिक सञ्जालका एप सरकारले प्रतिबन्ध लगाएको विषयमा मात्र सीमित थिएन, बरु यो मुलुकका नेता भ्रष्टाचारमा लिप्त हुनु, बेरोजगारी बढ्नु, आफन्तवाद झाँगिनु, आर्थिक असमानता र गरिबी बढ्नुप्रति उब्जिएको एउटा ठुलो जनआक्रोश थियो, जुन कुरा युवामा धेरैअघिदेखि नै उकुसमुकुसले व्याकुलता छाइरहेको थियो । जे होस्, २०८२ भदौ २३ र २४ (सेप्टेम्बर ८ र ९, २०२५) को जेनजी आन्दोलनले दुई तिहाइको सरकारलाई उखेलेर फ्याँकिदियो, मुलुकमा सुशासन र नीतिगत स्थिरताको प्रत्याशामा । जनताको अपेक्षा छ– आजको बलियो सरकारले यी कठिन र जटिल परिस्थितिबाट देशलाई बाहिर निकाल्न सकोस्, सरकार हामी सबैको ‘साझा अभिभावक’ हो भन्ने पूर्ण विश्वास दिलाओस् ।
प्रत्यक्ष रूपमा प्रतिपक्षी दल, नागरिक समाज, पत्रकार समाज र आमजनताको निगरानीमा रहेको सरकारले बाटो बिराउँदैन र विराम गर्दैन भन्ने विश्वासका साथ ‘पर्ख र हेर’ स्थानमा नेपाली जनता उभिएका छन् । सभामुख डोलप्रसाद अर्याल भन्नुहुन्छ, “हाम्रा प्रतिपक्षी अरू कोही होइनन्, नेपाली जनता हुन् ।” उहाँको आशय हो, जनमतको कदर गर्दै अघि बढेमा कोही पनि नेपाली हाम्रो दुश्मन वा प्रतिपक्षी बनेर खरो उत्रँदैनन् ।
विसं २०८२ फागुन २१ (मार्च ५, २०२६) को संसदीय निर्वाचनबाट अहिले सङ्घीय संसद्मा बर्गेल्ती नयाँ अनुहारका सांसद निर्वाचित भएका छन् । उनीहरूमा केही नयाँ काम, नवप्रवर्तन गर्ने एउटा छुट्टै लहर र हुटहुटी छ । उनीहरूले जनताको अपेक्षाबमोजिम जनताको लय र गतिमा काम गर्न नसकेमा विसं २०८२ को प्रदेश सभा तथा स्थानीय तह निर्वाचनमा जनताले पुनर्मूल्याङ्कन गर्ने छन् आफ्ना अगुवाको ।
किन युवाले राजनीतिक नेतृत्व गर्नु पर्छ भन्ने बारेमा केही कारण छन् । पहिलो विषय हो, युवामा नयाँ विचार, नयाँ ऊर्जा, उत्साह र जोस हुन्छ, जसले राजनीतिमा नवीनता र सक्रियपन ल्याउँछ । दोस्रो विषय हो, नीतिगत स्थिरता र राजनीतिक निरन्तरता । राजनीति वा सत्ता समय समयमा परिवर्तन भए पनि मूल दीर्घकालीन लक्ष्य र नीतिलाई निरन्तरता दिने कुरा सुनिश्चित गर्नु पर्छ, जुन कुरा युवाले गर्न सक्छन् । तेस्रोे विषय हो, समयको आवश्यकतासँग मेल खाने गरी विकास कार्य सम्पन्न गर्न हावापानी÷संस्कृति सुहाउँदो हुने गरी जनताका समस्या तथा आकाङ्क्षालाई नीति तथा योजनाका रूपमा कपेर जनतासामु पस्कनु पर्छ । आधुनिक चुनौती र प्रविधिसँग युवा सजिलै अनुकूल हुन सक्छन् । चौथो विषय हो, परम्परागत सोचभन्दा फरक दृष्टिकोण, ढङ्ग, गतिशीलता अपनाएर समस्याको नयाँ तौरतरिकाले समाधान गर्न युवाले नयाँ विचार र नवप्रवर्तन प्रस्तुत गर्न सक्छन् । पाचौँ विषय हो, जनताको आवाजलाई प्रभावकारी रूपमा उठान गर्दै प्रतिनिधित्व गर्नु पर्छ । युवावर्ग जनसङ्ख्याको ठुलो हिस्सा र शिक्षित समूह भएकाले उनीहरूले जनताका आवाजलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्छन् ।
सक्रिय उमेर मानिने १५ देखि ६४ वर्ष उमेर समूहका नागरिक कुल जनसङ्ख्याको ६५ प्रतिशत रहेका छन् । छैटौँ विषय हो, नयाँ पुस्ता भ्रष्टाचार, असमानता र आफन्तवादसँग लड्दै पारदर्शिता र इमानदारीको मूल्यलाई प्राथमिकता दिन अभिप्रेरित हुन्छ । राज्यको सर्वोच्च नीति नै राजनीति भएकाले युवा नै राजनीतिमा होमिनु पर्छ ।
आत्ममुग्धता र भ्रष्टाचार
आडम ग्रान्टका अनुसार थोरै अहङ्कारले ठुला र क्रान्तिकारी विचार जन्माउन मद्दत पु¥याउला तर चरम आत्ममुग्धता वा आत्ममोहले व्यक्तिलाई असल र सफल बनाउन कदापि टेवा पु¥याउँदैन । पछिल्ला दिनमा नेपालका राजनेतामा म राज्यसत्तामा नरहेमा मेरो अस्तित्व नै समाप्त हुन्छ । सत्तासँग आफ्नो दलको आदर्श र राजनीतिक सिद्धान्त साट्नु बेस हुन्छ । म असाधारण व्यक्ति हुँ, मैले अरूको दृष्टिकोण वा भावनासँग कुनै सरोकार राख्नु छैन जस्ता भ्रम पालिँदै र थपिँदै गए । मुलुकमा शासनसत्ताको मूलधारमा रहेका राजनीतिक दलका राजनेताले जनभावनामा कुठाराघात गर्दा अर्थात् जनमतको कदर गर्न नसक्दा त्यसको धेरै ठुलो मूल्य उनीहरूले चुकाउनु परेको छ । राजनीतिक नेतृत्वमा अत्यधिक आत्ममुग्धता, स्वार्थीपन र जनहितप्रति उदासीनता देखिँदा जनताले चुनावमार्फत त्यसलाई जरो उखेलेर फाल्ने प्रवृत्ति विश्वव्यापी रूपमा देखिन्छ । यसले देखाउँछ कि जनताको मत नै अन्तिम शक्ति हो, जसले गलत दिशामा गइरहेको नेतृत्वलाई सुधार्न वा प्रतिस्थापन गर्न सक्षम हुन्छ । जनता जनार्दन !
पुरातन हिसाबले भ्रष्टाचार भन्नाले सरकारी कर्मचारी वा नेताले निजी प्रयोजनका लागि सरकारी सम्पत्ति वा आफ्नो अख्तियारको हिनामिना गर्नुलाई बुझिन्थ्यो तर अहिले यसलाई फराकिलो अर्थमा लिनु पर्छ । हरि रोकाका अनुसार हालका दिनमा राजनीतिज्ञ, पार्टी कार्यकर्ता, कम्पनी, वित्तीय संस्था, तथा दलाली गर्ने व्यक्तिको मिलेमतोमा सत्ताको दुरुपयोग गर्दै नीतिगत र संस्थागत रूपमा र सामाजिक वितरणका लागि छुट्याइएका वस्तु तथा सेवामाथि भ्रष्टाचार हुने गरेको छ । यसले सार्वजनिक संस्था असफल र अविश्वसनीय मात्र भएका छैनन्, यो प्रवृत्ति फैलिँदै गएमा समग्र मुलुक नै असफलतातिर धकेलिन्छ । न्यायालयमा हुने भ्रष्टाचार सबैभन्दा खतरनाक मानिन्छ । कानुनी शासनले दिगो विकास, सन्तुलित विकास र समतामूलक समृद्धिको आधार तयार गर्छ ।
विराट् लक्ष्यमाथि प्रश्न
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकै भाषामा म सरकारमा ‘विराट् लक्ष्य’ लिएर आएको छु । यो विराट् लक्ष्य नेपाल सरकारको १८ बुँदे आक्रामक योजनामा देखिएर पुग्दैन, यो लक्ष्य कार्यान्वयन भई नतिजामा खरो प्रदर्शित हुनु पर्छ । जबसम्म आमनागरिकले जीवन निर्वाहका लागि सार्वजनिक सेवा प्रवाहमा सहजता महसुस गर्दैनन्, तबसम्म सुशासन भएको मानिँदैन । स्वेच्छाचारिता, विभेद र वहिष्करणको अन्त्य भई सुशासन कायम भएको जनताले प्रत्यक्ष अनुभूति गर्न पाउनु पर्छ । सरकारको सफलता उसको घोषणामा होइन, कार्यान्वयनमा मापन हुन्छ; जनताको आशा र सपनामा होइन, तिनको खुसी र सन्तुष्टिमा मापन हुन्छ ।
लोकतन्त्रमा बहुलवादप्रति आस्था गरिन्छ, सत्यको प्रमाणित गर्न बहुलता (बहुसङ्ख्यक अवस्था) को खोजी गरिन्छ किनकि एकल सत्यले तानाशाही जन्माउँँछ; सर्वमान्य र सर्वव्यापी सत्य ‘प्रश्न’ र ‘चिन्तन’ बाट नै जन्मिन्छ । सत्य भनेको त्यस्तो अवस्था वा कथन हो, जुन वास्तविकता (यथार्थ) सँग मेल खान्छ र तथ्यगत रूपमा प्रमाणित वा पुष्टि गर्न सकिन्छ । अर्थात् सत्य त्यो हो, जुन वस्तुनिष्ठ यथार्थसँग मेल खान्छ । अप्रश्नीय र एकलकाँटे बन्न खोज्ने व्यक्ति, संस्था वा राजनीतिक व्यवस्था सबैको पतन सुनिश्चित छ । नेपाली जनता प्रश्न सोध्छन्, जवाफदेहिता खोज्छन् र पद्धति विकासमा सक्रिय सहभागिता जनाउँछन् ।
आगामी बाटो
निर्वाचनबाट प्राप्त हुने शासकीय जनादेश लोकतन्त्रको आधारस्तम्भ हो । जनताका आकाङ्क्षा तथा समस्या पहिचान गरेर तिनको समाधान पहिलो सर्त बनाउनु पर्छ । नेपाली नेतृत्वमा धेरै नभनौँ, अब तीन मात्र सूचक लागु हुन सक्यो भने नेपाली जनताले राहतको सास फेर्न सक्छन्– दृढ इच्छाशक्ति, दूरदृष्टि र निःस्वार्थीपन । अमेरिकी नागरिक अधिकारका नेता मार्टिन लुथर किङका अनुसार “जहाँ दूरदृष्टि हुँदैन, त्यहाँ जनता नष्ट हुन्छन् ।” नेतासँग स्पष्ट भविष्यदृष्टि छैन भने समाज र राष्ट्र दुवै दिशाविहीन हुन सक्छन् । नेल्सन मन्डेला भन्छन्, “असल नेता त्यो हो जसले आफ्ना स्वार्थभन्दा जनताको हितलाई प्राथमिकता दिन्छ ।” जनादेशको सम्मान केवल सत्ता प्राप्तिमा होइन, सहमति, सहकार्य र साझा उत्तरदायित्वमा पनि प्रतिविम्बित हुनु पर्छ । जनता केवल ऐतिहासिक विरासत वा राजनीतिक नाराभन्दा बढी सुशासन र विकासको परिणाम सन्धान गरिरहेका छन् । बेथितिको अन्त्य, सिपमूलक गुणात्मक शिक्षा, युवकयुवतीलाई स्वदेशमै रोजगारी, सत्तापक्ष र प्रतिपक्षबिच आपसी समझदारी, श्रमप्रति गौरव गर्ने बानी, प्रत्येकले आआफ्नो जिम्मेवारी बहन गर्ने बानी, राज्यलाई कर तिर्दा गौरव गर्ने बानी, नागरिक क्षेत्रसहितको सुशासन आजका आवश्यकता हुन् ।
युवा राजनेताका लागि विसं २०८२ को संसदीय निर्वाचन केवल एउटा पद प्राप्तिका लागि मात्र होइन, नेपाललाई विचार, प्रक्रिया, सस्तो भाषण र अलमलबाट बाहिर निकालेर पद्धतिको राजमार्गमा लैजाने एउटा ऐतिहासिक अवसर पनि हो । योग्यता र क्षमतालाई सम्मान गरेर परिणाममुखी शासनको जगमा उभिएर समृद्धिको सपनालाई साकार पार्न सक्नु पर्छ । नवप्रवर्तनलाई विकासको केन्द्रमा राख्न सकियो भने नेपालले केवल क्रमिक प्रगति मात्र होइन, गुणात्मक छलाङ मार्न सक्छ । अहिलेको चिन्ता केवल सत्ता जोगाउने मात्र होइन, सङ्घर्ष गरी प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र (व्यवस्था) र मुलुकको भविष्य जोगाउने हुनु पर्छ । लक्ष्य अनुसार ७.३ प्रतिशतको वृद्धि हासिल गर्न केवल कागजी योजना र बजेट भाषणले मात्र पुग्दैन । यसका लागि राजनीतिक दृढ इच्छाशक्ति, नीतिगत स्थिरता र कार्यान्वयानमा इमानदारी जरुरी छ । स्पष्ट, दृढ तथा साहसिक इच्छाशक्तिबिना सही नीति, लगानी र संस्थागत संरचनाबाट मात्र पनि समृद्धि सम्भव छैन । नेतृत्व तहमा कम से कम चार सूचक– विश्वकोशीय ज्ञान, दृढ इच्छाशक्ति, दूरदृष्टि र निःस्वार्थीपन हुनै पर्छ । विज्ञान, प्रविधि र नवप्रवर्तनलाई आधार मानि सबै राजनीतिक दल, समूह, क्षेत्र र तहको सहकार्यबाट मुलुकमा समृद्धि ल्याउनु आजको आवश्यकता हो ।