• ४ मंसिर २०८२, बिहिबार

मन्दिर चिनाउन महायज्ञ

blog

लमजुङ समाचारदाता

लमजुङ, मङ्सिर ४ गते । लमजुङको गाउँसहरस्थित कालिका मन्दिर र ऐतिहासिक दरबारको प्रचारप्रसार गर्न श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिको आयोजना र बेँसीसहर नगरपालिका–३ को संरक्षकत्वमा मङ्गलबारदेखि महायज्ञ सुरु गरिएको हो । महापुराण सप्ताह ज्ञान महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले प्रवचन दिनुभएको छ । महापुराण धार्मिक जागरण अभियान अन्तर्गत यज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ ।

महायज्ञ अवधिभर पण्डित दीपकप्रसाद पौडेल र उहाँको समूहबाट विभिन्न देवलीला जनचेतनामूलक नाटक प्रस्तुतिसहित सङ्गीतमय कथा प्रवचन हुने भएको छ । धार्मिक यज्ञले गाउँसहर दरबारको विकास र समृद्धिमा थप टेवा पुग्ने गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं धार्मिक महोत्सव प्रचारप्रसार समितिका संयोजक राजेन्द्र बोहराले बताउनुभयो । धार्मिक यज्ञसँगै पर्यटन, शिक्षा र गाउँसहरको विकाससँग जोडेर छलफल तथा अन्तव्रिर्mयासमेत गरिने उहाँको भनाइ छ ।

पण्डित दीपकप्रसाद पौडेलले धार्मिक जागरण अभियान अन्तर्गत यो यज्ञ आयोजना गरिएको र यसले गाउँसहर कालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने बताउनुभयो । वि.स. १५५० मा कास्कीबाट यशोब्रह्म शाहलाई लमजुङ ल्याएर राजा बनाएपछि गाउँसहरमा दरबार र कालिका मन्दिर स्थापना गरिएको थियो । राज्य एकीकरणपछि सोही कालिका मन्दिरको दियो लगेर गोरखामा गोरखा कालिका मन्दिर स्थापना गरिएको इतिहास रहेको छ । शाह वंशीय शासन प्रणालीको उद्गम स्थल र यहाँबाट आरम्भ भएको शासन प्रणाली नेपाल एकीकरण हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म पुग्दा पनि गाउँसहरमा रहेको लमजुङ कालिका मन्दिर र लमजुङ दरबार ओझेलमा परेपछि यसको प्रचारमा स्थानीय जुटेका हुन् ।