• ३ मंसिर २०८२, बुधबार

केन्द्रीय सुरक्षा समितिको बैठक

आगामी निर्वाचन लक्षित ‘बलियाे सुरक्षा योजना’ कार्यान्वयनमा

blog

काठमाडौँ, मंसिर ३ गते । गृह मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले मुलुकको पछिल्लो सुरक्षा अवस्था, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन तथा समग्र सुरक्षा समन्वयबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।

समितिको बैठकमा चारवटै सुरक्षा निकायबाट हालको सुरक्षा चुनौती तथा अवस्थाबारे विस्तृत प्रस्तुति दिइएर त्यसको समीक्षा, छलफल र विश्लेषण गरिएको गृहमन्त्रालयले जनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतका निर्वाचनका अनुभव र सिकाइका आधारमा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ तयार गरी सबै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ। सो योजना अहिले कार्यान्वयन चरणमा छ।

निर्वाचन सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाउन सबै प्रदेशमा प्रदेश प्रमुख सचिवको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख, आन्तरिक मामिला हेर्ने मन्त्रालयका सचिव तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी हुने गरी प्रदेश कमाण्ड पोष्ट तथा निर्वाचन सेल गठन गर्ने व्यवस्था योजना अनुसार छ।

यसका लागि सबै प्रदेशका प्रमुख सचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत आवश्यक निर्देशन पठाइने बैठकले निर्णय गरेको छ।

वर्तमान सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै चारै सुरक्षा निकायबीच घनिष्ट समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन बैठकले जोड दिएको छ।