रेसुङ्गा(गुल्मी), मङ्सिर ३ गते । भारतको सहरमा कठिन परिश्रमपश्चात करिब डेढ वर्षपछि घर फर्किदै गर्नुभएका बुबा फर्किन लाग्दा १२ वर्षीय सुजन खत्रीको मन खुसीले चङ्गा थियो । गत सोमबार बिहानै सुजन गाउँको गाडीमा बुबा लक्ष्मण खत्रीलाई लिन प्युठानको बाग्दुल्ला हिड्नुभयो । छिमेकी बाबुराम खत्रीका अनुसार बजार पुगेर सुजनको लामो समय बुवासँग फोन सम्पर्क नभएपछि घर फर्किरहेका बेला बुबाले सम्पर्क गर्नुभयो ।
सुजन पुन: फर्किएर बुबा लिन जिपमै बाग्दुल्ला हिड्नुभयो । तर, उहाँ सवार जिप साँझ करिब ७ बजे गौमुखी गाउँपालिका–५ ठूलाबेँसी नजिकै आँटीमा दुर्घटनामा पर्यो । दुर्घटनाका कारण सुजनको बुबा भेट्ने आशा त्यहिँबाट टुङ्गियो । गाडी दुर्घटनामा परेको खबर सुजनका काका ऋषिराम खत्रीसम्म आइपुगेपछि परिवार शोकमग्न बनेको स्थानीय शिक्षक समेत रहनु भएको बाबुराम खत्रीले बताउनुभयो । परिवारको माया बोकेर घर फर्किदै गर्नुभएका लक्ष्मणले छोरालाई बजारसम्म लिन बोलाउनु भएको थियो ।
छोरा आउने प्रतिक्षामा बाग्दुल्लामा बस्नु भएका बुबा लक्ष्मण खत्रीको चाहानापनि बीच बाटोबाटै खोसियो । खत्री परिवारका एउटा मात्र छोरा सुजन हुनुहुन्थ्यो । घरमा आमासहित सुजन, दुई दिदि र एउटी बहिनी हुनुहुन्थ्यो । पाँच जनाको परिवारको सपनाकै लागि लक्ष्मण विगत केहि वर्षदेखि परदेश आउ–जाउ गर्नुहुन्थ्यो । लामो समयपछिको सुःखद पारिवारीक भेटका लागि घर फर्किनु भएका लक्ष्मण छोरानै नरहेपछि पीडाले विक्षिप्त बन्नुभएको छ । उसै दिन छोरा नरहेको खबर पाउनु भएकी आमा मनिषा अचेत हुनुहुन्छ । घर परिवार मात्रै नभएर कलिलो बालक गुमाएकोमा अग्लुङ्ग निपाने गाउँ शोकमा डुबेको छ ।
अग्लुङ्ग माविले समेत एउटा भविष्यको कर्णधार प्रतिभा गुमाएकाे छ । सुजनसहित १३ जना विद्यार्थी दुई घण्टाको बाटो हिडेर विद्यालय पढ्न आउँथे । सुजनकै परिवारमा दुई दिदिहरुले पनि अग्लुङ्ग माविमा पढ्दै आएका छन् । मङगलबार विद्यालयको प्रार्थना सभामा सुजनको अभावले साथीहरुसँगै सिङ्गो विद्यालय आँसुको आहालमा डुबेकाे थियाे । सुजनसँगै गाउँबाट विद्यालयसम्म आउने साथीहरुको समूहमा पनि सुजन थिएनन् । सधैसँगै आउने एउटा साथी अब कहिल्यै नभेट्ने गरेर छुटेका छन् । शिक्षक कृष्ण चन्दले भन्नुभयो,“ घरमा देखेको विद्यार्थी भएकाले आँखामा घुमिरहेको छ । मृत्युको खबरले घरपरिवारसहित विद्यालय शोकमग्न बनेको छ ।”