• २८ चैत २०८२, शनिबार

भारतीय पर्यटकलाई भारु सुविधा : नीतिमा राहत, सीमामा सास्ती

blog

भारतीय पर्यटक । फाइल तस्बिर

शशिधर पराजुली 

विराटनगर, चैत २८ गते । केही दिन अघि अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले विराटनगरमा आयोजित एउटा कार्यक्रममा भारतीय पर्यटकलाई आकर्षित गर्न ५ हजार डलर बराबर हुने भारतीय मुद्रा लिएर नेपाल आउन कुनै समस्या नरहेको सुनाउँदा व्यवसायीहरू उत्साहित बने । 

उहाँले भन्नुभएको थियो, “भारतीय पर्यटकले अब ढुक्क भएर ४ लाख १५ हजार भारतीय रुपियाँ अर्थात ५ हजार अमेरिकी डलर बराबर हुने रकमसम्म नगद बोकेर नेपाल भ्रमणमा आउन सक्छन् ।”

अहिलेसम्म २५ हजार भन्दा बढी मुद्रा बोकेर नेपाल आउन नपाएका भारतीय नागरिकहरू अब भने सहजै आउने विश्वासले व्यवसायीहरू उत्साहित बनेका थिए । तर, भारतीय पर्यटकहरूले पर्याप्त खर्च बोकेर नेपाल आउन नसक्नुको कारण नेपाल सरकारको निर्णय नभई भारतीय पक्षकै नियन्त्रणका कारण समस्या देखिएको छ । 

गत साता नेपाल–भारत सीमावर्ती बजार जोगवनीमा यस्तै एउटा घटना भएको थियो । नेपाल घुम्न आउँदै गरेका भारतीय पर्यटकहरूको एउटा समूहलाई भारतीय प्रहरीले घण्टौँ रोकेर केरकार गर्‍यो । 

कारण थियो–उनीहरूसँग भारत सरकारले तोकेको २५ हजार भारुको सीमाभन्दा बढी रकम हुनु । अन्तत: २५ हजार मात्र बोक्ने सर्तमा उनीहरू नेपाल छिर्न त पाए, तर उनीहरूको घुम्ने उत्साह जोगवनीमै सेलाइसकेको थियो । यस्तो घटना भारतीय पक्षबाट मात्र होइन नेपाल प्रहरीबाट पनि हुने गरेको छ ।

दुई तीन लाख भारतीय मुद्रा बोकेर आएका पर्यटकहरू पनि विराटनगर र इटहरीबाट बेलाबखत पक्राउ पर्ने गरेका छन् । जसले गर्दा भारतीय पर्यटकहरू नेपाल घुम्न आउनका लागि झन्झट मान्न थालेका छन् । 

बिहीबार मात्रै सुनसरीको भण्टावारीबाट एक जना भारतीयसहित दुई जना व्यक्ति पक्राउ परे । उनीहरूको साथबाट ५ लाख नेपाली र करिब १३ हजार भारतीय रुपियाँ बरामद भएको थियो । प्रहरीले हुण्डीको रकम हुनसक्ने आशङ्कामा उनीहरूलाई पक्राउ गरेको हो । सीमावर्ती क्षेत्रमा यस्ता घटना दिनहुँ हुने गरेको छ । जसले गर्दा प्रहरीलाई पनि पर्यटक हुन् कि अवैध कारोबारी छुट्याउन कठिन छ । 

कोशी पर्यटन वर्ष निर्देशक समितिका संयोजक भविशकुमार श्रेष्ठ सरकारको नीति र कार्यान्वयनका बिचमा केही अन्तरहरू रहेको बताउनुहुन्छ । उहाँले सरकारसँग केहि बुझाइका सीमाहरू रहेको बताउनुभयो ।

“सरकारले समस्या सुन्यो तर बुझेन,” श्रेष्ठ भन्नुहुन्छ, “नेपालले ५ हजार डलर बराबरको भारु ल्याउन दिन्छु भन्नु मात्र समाधान होइन, भारत सरकारले २५ हजारभन्दा बढी बोकेर नेपाल प्रवेश गर्न नदिइरहेको विषयमा समस्या छ । जबसम्म दुई देशबिच यस विषयमा कुटनीतिक समझदारी हुँदैन, तबसम्म यो समस्याको समाधान सहज छैन ।”

नेपालमा क्यासिनो, विलासी होटल, मेडिकल कलेज र धार्मिक पर्यटन र स्वास्थ्य उपचारका लागि समेत भारतीयहरू सीमावर्ती नेपाली सहरहरूमा आउन चाहन्छन् । तर, पर्याप्त नगद बोक्न नपाउँदा उनीहरूले चाहेर पनि खर्च गर्न पाइरहेका छैनन् । 

अर्थ सचिव उपाध्यायले भारु खर्च गर्दा नेपालको डलर सञ्चितिमा राहत पुग्ने तर्क गरे पनि व्यवसायीहरू भने सरकारले आगामी बजेटमार्फत नै यो समस्याको व्यावहारिक समाधान खोज्नुपर्ने बताउँछन् । 

जबसम्म नेपाल र भारतका सुरक्षाकर्मीबिच समन्वय हुँदैन र २५ हजारको ‘सिलिङ’ माथि दुई देशबिच नयाँ समझदारी बन्दैन, तबसम्म भारतीय पर्यटकका लागि नेपालको यात्रा ‘आर्थिक झन्झट’ बनिरहने पर्यटन व्यवसायी श्रेष्ठ बताउनुहुन्छ । 

उहाँले जेनजी आन्दोलनपछि भारतीय पर्यटकहरूको आवागमन घटेको जानकारी दिनुभयो । त्यसअघिका दिनहरूमा विराटनगर, इटहरी, भेडेटारसम्मका होटल तथा लजहरूमा भारतीय पर्यटकको बाक्लो उपस्थिति रहेकोमा अहिले आन्दोलन र सुरक्षाको कुरा उठाएर धेरै भारतीयहरू यहाँ नआइरहेको श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘‘हामीले शान्ति सुरक्षाको प्रत्याभूति र सहज आवागमनको सुनिश्चिता गर्ने हो भने यस क्षेत्रमा प्रसस्त भारतीय पर्यटक ल्याउन सकिने आधार छ । साथै हामीले कोशी पर्यटन वर्षको अवसरमा भारतीय पक्षलाई आकर्षित गर्न पर्याप्त प्रयत्न गरेका पनि छौँ ।’’