• २८ चैत २०८२, शनिबार

बिरलै पाइने राजगोमन धनकुटामा फेला

blog

नगरपालिकाको वडा ३ र ६ को सिमानामा फेला परेको करिब १३ फिट लामो विषालु राजगोमन सर्प ।

कविराज घिमिरे

हिले (धनकुटा), चैत २८ गते । धनकुटाको कागतेमा लामो विषालु राजगोमन (किङ कोब्रा) फोला परेको छ । नगरपालिकाको वडा ३ र ६ को सिमानामा फेला परेको करिब १३ फिट लामो विषालु राजगोमन सर्पको उद्धार गरिएको छ । 

धनकुटाको महालक्ष्मी नगरपालिका–५, लेगुवाका प्रदीप श्रेष्ठले शनिबार उक्त सर्प सुरक्षित रूपमा नियन्त्रणमा लिनुभयो ।  समुद्री सतहबाट करिब १३ सय मिटर उचाइमा रहेको कागतेस्थित बोधप्रसाद वाग्लेको गोठमा उक्त सर्प तीन दिनदेखि बसिरहेको थियो । 

स्थानीयको सूचनापछि त्यहाँ पुगेका श्रेष्ठले जोखिमपूर्ण अवस्थाबिच सर्पको उद्धार गर्नुभएको हो । उद्धारमा संलग्न श्रेष्ठका अनुसार राजगोमन पहाडी क्षेत्रमा विरलै देखिने अत्यन्तै विषालु सर्प हो । यो सर्पलाई नचलाएसम्म आक्रमण नगर्ने भए पनि चलाउँदा आक्रमण गर्दछ । 

“यसको टोकाइले तत्काल मानिसको मृत्यु समेत हुनसक्छ” श्रेष्ठ भन्नुभयो । उद्धार गरिएको राजगोमनलाई डिभिजन वन कार्यालय धनकुटासँगको समन्वयमा सुरक्षित रूपमा वन क्षेत्रमा छोड्ने तयारी गरिएको धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो ।