• २० माघ २०८२, मङ्गलबार

मापसेले बढ्दै अपराध

blog

बुवाले छोराको हत्या गरेपछि शोकाकुल इस्मा गाउँपालिका-२ की कमला कुमाल । तस्वीर : टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), माघ २० गते । गत बुधबार मदिरा पिएर इस्मा गाउँपालिका–२, छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमालले आफ्नै तीनमहिने छोरा सुवास कुमाललाई पछारेर हत्या गरे । सन्तबहादुरको लामो समयदेखि श्रीमतीसँग विवाद भइरहन्थ्यो । मदिरा सेवन गरेको अवस्थामा श्रीमतीसँग विवाद हुँदा दुधेबालकको कुमालले हत्या गरे । 

माघ १४ गते विवाद बढ्दै गएपछि कुमालले छोरालाई आमाको काखबाट खोसेर भुइँमा बजारेका थिए । दुई पटक भुईंमा बजारेका कारण राति नै छोराको ज्यान गएको आमा कमला कुमालले बताउनुभयो । उहाँले लामो समयदेखि श्रीमान्को शारीरिक तथा मानसिक यातना सहन बाध्य भएको बताउनुभयो । सुत्केरी अवस्थामा भएको कुटपिटबाट कमलाको खुट्टा हिँड्न नसक्ने भएको छ भने शरीरभरि निलडाम छन् । 

घटनालगत्तै हत्या आरोपित कुमाललाई पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारूले जानकारी दिनुभयो । केही समयपहिले मालिका गाउँपालिका–८ का २९ वर्षीय डम्बरबहादुर घर्तीले मादक पदार्थ सेवन गरेर बुवा ६० वर्षीय लालबहादुर घर्तीलाई कुटपिट गरेर बीभत्स हत्या गरे । मादक पदार्थ सेवन गरेर लट्ठिएका घर्तीले वृद्ध बुवालाई हत्या गरेर बारीमा ढुङ्गाले पुरेको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले नै हत्याको आशङ्का गरेर प्रहरीलाई खबर गरेका कारण प्रहरी टोली घटनास्थल पुगेर तत्काल डम्बरबहादुरलाई पक्राउ गरेको थियो । घटनाको अनुसन्धानपछि गुल्मी अदालतले घर्तीलाई जन्मकैदको फैसला गरेको छ । 

गत वर्ष छिमेकमा साँधसीमाको विवादमा अत्यधिक मादक पदार्थ सेवन गरी इस्मा गाउँपालिका–४, दोहलीका ४८ वर्षीय मीनबहादुर अछामीले छिमेकी ५० वर्षीय मीना दर्लामीको निर्मम हत्या गरे । हत्यापछि फरार अछामीलाई प्रहरीले दुई दिनपछि रिडीबाट पक्राउ ग¥यो । अछामी पक्राउ परेलगत्तै प्रहरीको प्रारम्भिक बयानमा घरायसी साँधसिमानाका कारण विवाद उत्कर्षमा पुगेपछि मादक पदार्थ सेवन गरेर दर्लामीको हत्या गरेको स्वीकार गरेका थिए । अछामीलाई प्रहरीको अनुसन्धानपछि गुल्मी अदालतले जन्मकैदको फैसला गरेको छ । 

गत कात्तिक १५ गते मालिका गाउँपालिका–३, ह्वाङ्दीका २५ वर्षीय टोपबहादुर विकले बुवा ५० वर्षीय धनबहादुर विकलाई हँसिया र मुङ्ग्रो प्रहार गरेर हत्या गरेका थिए । विकले बुवाको हत्या मात्रै गरेनन् ४८ वर्षीय आमा धनमाया विकलाई समेत हत्याको प्रयास गरे । कुटपिटबाट सख्त घाइते आमा धनमाया उपचारपछि अहिले घरमा हुनुहुन्छ । घटनाले गाउँ नै शोकमग्न बन्यो । छोरा टोपबहादुर विकलाई प्रहरीले घटनाकै दिन पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले मादक पदार्थको उत्पादन, सेवन र शिक्षाको कमी, लोभ, रिसिइबीका कारण अपराध हुने बताउनुभयो । यसको न्यूनीकरणको उपाय भनेकै सामुदायिक सचेतना भएकाले मातहतका सबै युनिटमा आफूहरूले काम गरिरहेको भए पनि प्रहरीको प्रयासले मात्रै सम्भव नभएको अधिकारीले बताउनुभयो ।   

Author
टोपलाल अर्याल

उहाँ गोरखापत्र दैनिकको गुल्मी जिल्लाका लागि रेसुङ्गा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।