• २९ चैत २०८२, आइतबार

चौकीलाई गाडी कच्ची घरको बलियो सारथि

blog

रेसुङ्गा (गुल्मी), चैत २९ गते । सालझन्डी–ढोरपाटन सडकनजिकै कच्ची र सानो घरभित्र अर्खबाङ प्रहरी चौकी सञ्चालनमा छ । पानी परे छानो चुहिन्छ, हावा चल्दा चिसो सिरेटो भित्र पस्छ । गर्मीमा बस्नै गाह्रो हुन्छ, कहिलेकाहीँ वरपर चल्ने तातो हावासमेत भित्र पस्छ । यस्तो असहज अवस्थाबिच प्रहरीले नागरिकको सुरक्षामा दिनरात खटिनु परेको छ ।

अर्खबाङ स्वास्थ्य चौकीको पुरानो, जीर्ण तीनकोठे भवनमा अहिले प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ । यो भवन पनि प्रहरीको आफ्नो होइन । यो घर वरिपरि पर्याप्त घेराबार पनि छैन, न पार्किङको सुविधा छ तर यस्तै कमजोर भौतिक पूर्वाधारबिच चौकीले हालै नयाँ चिल्लो गाडी पाएको छ । प्रहरी बस्न घर नभए पनि सुरक्षाका लागि नयाँ गाडी पाएपछि यहाँ कार्यरत प्रहरी त निकै खुसी छन् भनेर स्थानीय पनि दङ्ग परेका छन् । गत निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयबाट जिल्लामा आएका तीन गाडीमध्ये एउटा अर्खबाङ प्रहरी चौकीले पाएको छ  । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारूका अनुसार गाडीसहित चालक र इन्धनको व्यवस्थापन कार्यालयले गर्ने छ । अहिले गाडी राख्न अस्थायी टहरो बनाइएको छ ।

सालझन्डी–ढोरपाटन सडक, प्युठान र बागलुङको सिमाना तथा मालिका गाउँपालिकाका–१ देखि ४ सम्म कार्यक्षेत्र रहेको यस चौकीका लागि गाडी पाउनु नै ठुलो राहत बनेको छ । प्रहरी नायब उपरीक्षक सारूले भन्नुभयो, “सदरमुकामबाट टाढा भएकाले कुनै दुर्घटना वा विपत्का बेला निकै सास्ती भोग्नु पथ्र्यो, अब गाडीले केही सहज हुने विश्वास छ ।” 

यसअघि मोटरसाइकलको भरमा सेवा दिइरहेको अर्खबाङ प्रहरी चौकीमा अहिले पनि जनशक्ति सीमित छ । प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको कमान्डमा आठ जना मात्रै कार्यरत छन् । ठुलो भौगोलिक क्षेत्र, सीमित जनशक्ति र कमजोर पूर्वाधारका बिच काम गर्नुपर्ने चुनौती अझै कायम छ । नेपाल सरकारको २०७६ भदौ १५ गतेको निर्णय अनुसार स्थापना भएको अर्खबाङ प्रहरी चौकीसँगै गौँडाकोट, रुरु र जैसीथोकमा पनि चौकी स्थापना भएका थिए । 

अर्खबाङ मात्रै होइन, गुल्मीका धेरै प्रहरी चौकीको अवस्था उस्तै छ । इस्मा गाउँपालिका–१, हस्तिचौरमा रहेको प्रहरी चौकी २०५७ सालदेखि नारायण मरासिनीको पुरानो जीर्ण घरमा भाडामा सञ्चालन हुँदै आएको छ । चार कोठामै आवास, ब्यारेक र कार्यालय सञ्चालन गर्नु पर्दा निकै कठिनाइ भइरहेको छ । कालीगण्डकी गाउँपालिका–७, भुर्तुङ प्रहरी चौकीले पनि बर्सौंदेखि कच्ची घरमा भाडा तिरेर सेवा दिएको थियो । भूकम्पले चर्किएको भवन जोखिमपूर्ण बने पछि हाल स्थानीय बोर्डिङ विद्यालयको भवनमा सरेर बस्न बाध्य भएको छ ।

त्यसै गरी २०४० सालमा स्थापना भएको पुर्तिघाट प्रहरी चौकी चार दशकसम्म भाडाकै कच्ची घरमा सञ्चालन हुँदै आएको छ भने २०५३ सालमा स्थापना भएको मुसिकोटको पौदी अमराई प्रहरी चौकी पनि अहिलेसम्म भाडाकै घरमा आश्रित छ ।    

Author
टोपलाल अर्याल

उहाँ गोरखापत्र दैनिकको गुल्मी जिल्लाका लागि रेसुङ्गा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।