• ५ फागुन २०८२, मङ्गलबार

गुल्मीको हाटबजार, अर्घाखाँचीको व्यापार

blog

फाइल तस्बिर

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), फागुन ५ गते । गुल्मीको सदरमुकाम तम्घास बजारमा समेत अहिले हाटबजार चलेको छैन । पहाडी जिल्लामा बिरलै ठाउँमा हाटबजार लाग्छ । मदाने गाउँपालिका–६ को छिर्नेमा हरेक शनिबार हाटबजार लाग्ने गरेको छ । मदाने गाउँपालिकाले संरचना निर्माण गरेपछि नियमित रूपमा हाटबजार लाग्दै आएको छ । 

सालझन्डी–ढोरपाटन सडकको किनारमा हाटबजार छ । यो बजारको फाइदा मदानेका उपभोक्ता र अर्घाखाँचीका व्यापारीले लिएका छन् । हाटबजारमा लामो समयदेखि अर्घाखाँचीको सन्धिखर्कमा तरकारी, खाद्यान्य, फेन्सीलगायतका सामग्री बिक्री गर्न व्यापारी आउने गरेका छन् । अर्घाखाँचीको सन्धिखर्कमा लामो समय तरकारी व्यवसाय गर्नुभएकी गीता बिसीले आफूहरूले सन्धिखर्ककै दरमा तरकारी बेचिरहेको बताउनुभयो । 

बिहानै गाडी रिजर्भ गरेर हाटबजार आएपछि साँझ घर फर्किने गरेको बिसीले बताउनुभयो । अहिलेसम्म राम्रो बिक्री हुने गरेकाले नियमित आइरहेको बताउनुभयो । अर्घाखाँचीका व्यापारीले पनि तरकारी आफैँ उत्पादन गर्दैनन् । बुटवलबाट आएको तरकारीमा गाडीभाडा जोडेर बिक्री गरिरहेका छन् । सन्धिखर्कबाट लामो समय हाटबजारमा तरकारी ढुवानी गरिरहनुभएका सन्धिखर्ककै रामु रेग्मीले कुनै स्थानीय उत्पादन र बजारसँग नजोडिनु दुःखद विषय भएको बताउनुभयो । 

उहाँले हाटबजारमा ९८ प्रतिशत व्यापारी र व्यापार अर्घाखाँचीको भइरहेकाले मदानेकालाई उत्पादनमा चासो नभएको गुनासो गर्नुभयो । हाटबजारमा तरकारी बिक्री गरिरहनुभएका मदाने गाउँपालिका–६, पुर्कोट दहका टुकबहादुर केसीले घरदैलोमा व्यापार हुँदा पनि स्थानीयलाई ऊर्जाभन्दा डाहा धेरै रहेको बताउनुभयो । 

केसी लामो समयदेखि आलु, गोभी, टमाटरदेखि पशुपालन गरेर आत्मनिर्भर बन्नुभएको छ । अर्घाखाँचीबाट आएको ब्रोकाउलीको मूल्य ६० रुपियाँ छ तर केसीले स्थानीय उत्पादनका रूपमा प्रतिकिलो एक सय रुपियाँमा बिक्री गर्दा पनि खोसाखोस हुने गरेको छ ।

बिक्री नभएको तरकारी अर्घाखाँचीकै व्यापारीलाई साँझ दिने गरेको केसीले बताउनुभयो । हाटबजारको दिन मात्रै नभएर माग अनुसार पुर्कोट बजारमा पनि तरकारी बिक्री गर्दै आउनुभएको छ । हाटबजार व्यवस्थापनका लागि प्रतिस्टल ५० रुपियाँ शुल्क रहेको केसीले बताउनुभयो ।