• १८ चैत २०८२, बुधबार

एक साताभित्र काम सुरु नभए ठेक्का तोड्ने तयारी

blog

मदन भण्डारी राजमार्गको अलपत्र सिमलटारी–प्युठान खण्ड । तस्बिर : टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), चैत १८ गते । गुल्मी हुँदै जाने देशकै महत्वपूर्ण मदन भण्डारी राजमार्गको दुई खण्डमा काम भइरहेको छ । दुई खण्डमध्येको पश्चिम सिमलटारी–सौतामारे खण्डको काम अलपत्र गरेको छ । विसं २०७९ मा सम्झौता भएकामध्ये रिडी–तम्घास पहिलो खण्डको ९५ प्रतिशत काम सकिएको छ । 

सिमलटारी–सौतामारे खण्डमा भने सम्झौता भएको तीन वर्षभन्दा बढी हुँदा ३० प्रतिशत पनि भौतिक प्रगति हुन सकेको छैन । गुल्मीपश्चिमको सिमलटारीदेखि प्युठानको मच्छीसम्मको ३१.८ किलोमिटर सडकमध्ये सौतामारेसम्मको १६ किलोमिटर गुल्मीमा पर्छ ।

यो सडक निर्माणका लागि श्रेष्ठ सक्षम जेभीले २०७९ कात्तिक ६ गतेदेखि सम्झौता गरेको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रभात तिवारीले अहिलेसम्म ३० प्रतिशत भौतिक र २३ प्रतिशत वित्तीय प्रगति भएको बताउनुभयो । 

इन्जिनियर तिवारीका अनुसार कार्यालयले निर्माण व्यवसायीलाई काममा लगाउन ठेक्का तोड्नेबाहेकका सबै विकल्पमा सहजीकरण गरेको छ । अहिले पुनः आगामी पुससम्म म्याद थप भएको छ । उहाँले भन्नुभयो, “सबै विकल्पमा सहजीकरण गरिसक्यौँ, अन्तिम चोटि एक साता मात्रै हेर्छौं । 

कामको प्रगति फिल्डमा नदेखिए ठेक्का तोड्ने नै हो ।” निर्माण व्यवसायीले सडकमा नियमित काम नगरेका कारण स्थानीय तह पनि आलोचनाको पात्र बन्ने गरेका छन् । मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले बस्ती, खेतबारी बगाउने, पुर्ने र खस्ने थुपै्र जोखिम भएकाले आलोचना सहन बाध्य भएको बताउनुभयो । उहाँले आफूहरूले धेरै पटक जोखिम र काम नभएको विषयमा निर्माण व्यवसायी र कार्यालयमा ध्यानाकर्षण गराए पनि काम नभएको बताउनुभयो ।    

Author
टोपलाल अर्याल

उहाँ गोरखापत्र दैनिकको गुल्मी जिल्लाका लागि रेसुङ्गा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।