विजयकुमार साह
ढल्केबर, चैत २९ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित कमला नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । शनिबार नदीमा डुबेर बेपत्ता भएका जनकपुरधाम उपमहानगरपालिका–६ का १८ वर्षीय महमद आयन कमड आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार घटना लगत्तै सशस्त्र प्रहरी सुरक्षा बेस रघुनाथपुर र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले खोजी कार्य तीव्र पारेको थियो । स्थानीय स्तरको प्रारम्भिक प्रयासबाट युवक फेला नपरेपछि सशस्त्र प्रहरीको विशेष गोताखोर टोली परिचालन गरिएको थियो ।
उक्त गोताखोर टोलीले नै नदीको गहिराइबाट युवकको शव बाहिर निकालेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षण (पोस्टमार्टम)का लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।