शङ्कर केसी
सल्यान, चैत २९ गते । वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा ज्यान गुमाएका सल्यानका एक युवकको शव दुई महिनापछि स्वदेश आइपुगेको छ । लामो पर्खाइ र जटिल कानुनी प्रक्रियापछि आइतबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव आइपुगेको हो ।
जिल्लाको कुमाख गाउँपालिका–७, तुरतुरेका २५ वर्षीय भुवन विकको शव आइतबार बिहान नेपाल ल्याइएको हो । उहाँले क्रोएसियामा गत फागुन १ गते भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउनुभएको थियो । मृतकका दाजु तिलक विकले विमानस्थलबाट शव बुझेर आजै नेपालगन्जतर्फ लगिएको जानकारी दिनुभयो ।
परिवारका कान्छा छोरा भुवन दुई वर्षअघि वैदेशिक रोजगारीका लागि विदेश जानुभएको थियो । परिवारको मुख्य आर्थिक आधारका रूपमा रहनुभएका उहाँको असामयिक निधनले परिवार शोकमा डुबेको छ ।
दुर्घटनापछि सुरुमा भुवनको अवस्थाबारे स्पष्ट जानकारी पाउन समय लागेको थियो । निधन पुष्टि भएपछि शव स्वदेश ल्याउने प्रक्रिया थप जटिल बनेको थियो । पत्रकार डिल्ली मल्लका अनुसार भियनास्थित नेपाली दूतावास, वैदेशिक रोजगार बोर्डको सचिवालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर मात्र शव ल्याउने प्रक्रिया अगाडि बढाइएको थियो ।
शव स्वदेश ल्याउन भियनास्थित नेपाली दूतावासले आवश्यक सहजीकरण गरेको थियो भने नेपाल सरकार र सम्बन्धित निकायले सम्पूर्ण खर्च व्यवस्थापन गरेका छन् । विमानस्थलमा शव बुझ्ने क्रममा विभिन्न सङ्घसंस्था र व्यक्तिहरूको समेत सहयोग रहेको बताइएको छ ।