गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ३ गते । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले देशको वर्तमान अवस्था निकै जटिल अवस्थामा रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बस्नेतले सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेशको कार्यक्रममा सहभागी हुन बारा जान लाग्नु भएका पार्टी महासचिव शंकर पोखरेल तथा बस्नेतसहितका नेताहरू विमानस्थलतर्फ प्रस्थान गर्ने क्रममा जेनजी समूहको नाममा केही युवाले सिमरा विमानस्थलमा प्रदर्शन गरेपछि अवस्था जटिल बनेको थियो । सोही कारण काठमाडौँ–बारा उडान अवरुद्ध भएपछि नेता बस्नेतले पत्रकार सम्मेलन गरी अहिले अन्तर्राष्ट्रिय शक्तिहरुको चासो नेपालमा बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज देशको अवस्था जटिल छ, अन्तर्राष्ट्रिय शक्तिहरु खेल्न खोजेका छन्, आफूलाई राष्ट्रवादी, विकासवादी र जनताको पक्षधर भन्ने शक्ति पनि छद्म भेषमा छन्, उनीहरूले लोकतन्त्रलाई समाप्त पार्न खोजिरहेका छन् ।’ जेनजी समूहको नाममा देशलाई अस्थिर बनाउने गतिविधि भइरहेको कुरा दैनिक घटनाक्रमले पुष्टि गर्दैगएको उहाँले बताउनुभयो ।
दुर्गा प्रसाईँको मध्यराति भएको पक्राउ गलत भएको दाबी गर्नुभयो। दलीय व्यवस्थाको विकल्प नरहेको भन्दै उहाँले लोकतन्त्रमा दलका नेतालाई अवरोध सह्य नभएको बताउनुभयो । उहाँले प्रहरी प्रशासनको मनोबल अत्यन्त कमजोर रहेको टिप्पणी गर्नुभयो।
देश जोगाउन ‘राष्ट्रिय सुरक्षा फोर्स’ गठन गर्ने तयारी भइरहेको जानकारी दिँदै बस्नेतले मंसिर ६ गते एमालेले ठुलो सभा गर्दै सरकारलाई स्पष्ट राजनीतिक दबाब दिने बताउनुभयो। आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।