• १२ असार २०८१, बुधबार

ताप्लेजुङमा एकहजार दुई जनाले म्यादी प्रहरीका लागि आवेदन दिए

blog

म्यादी प्रहरीका लागि आवेदन दिनेको लाइन । तस्बिर : चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङमा म्यादी प्रहरीका लागि आवेदन दिनेको सङ्ख्या उल्लेख्य भएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि माग भएको म्यादी प्रहरीमा आवेदन दिनेको सङ्ख्या उल्लेख्य भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार कुल एकहजार दुई जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । म्यादी प्रहरीका लागि आवेदन दिने कुल सङ्ख्यामध्ये सातसय ६४ जना पुरुष र दुईसय ३८ जना महिला छन् । यसपटक आवेदन दिनेहरुमा पूर्व म्यादी प्रहरीको चारसय बढी सङ्ख्या रहेको पनि ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो ।

प्रनाउ राईका अनुसार गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भएका ३१० जना पुरुष र ११२ महिला गरी ४२२ जनाले आवेदन दिएका छन् । यस्तै नेपाल प्रहरी र नेपाली सेनाबाट सेवानिवृत्त भएकाले समेत म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चारसय ५२ पुरुष र एकसय २६ महिला गरी पाँचसय ७८ जनाले भने पहिलोपटक म्यादी प्रहरीका लागि आवेदन दिएका हुन् ।

गत स्थानीय तहको निर्वाचनभन्दा यसपटक म्यादी प्रहरीका लागि आवेदन दिनेको सङ्ख्या भने छसयले कम रहेको प्रहरी कार्यालयको तथ्याङ्क छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा एकहजार छसय दुई जनाले आवेदन दिएका थिए । त्यसबेला आवेदन दिएका मध्येबाट छ सय ५५ जना म्यादी प्रहरीमा भर्ना गरिएको थियो । 

यसपटक अर्थात प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भने दुईवटा मतदानस्थल थप भएकाले म्यादी प्रहरी भर्नाको सङ्ख्या बढ्नसक्ने देखिएको छ । यद्यपि, म्यादी प्रहरीमा कति सङ्ख्यालाई भर्ना गराउने भन्ने यकिन भने भइनसकेको प्रनाउ राईको भनाइ छ । म्यादी प्रहरीका लागि आवेदन दिनलाई भदौ ३० देखि असोज ६ गते बिहीबारसम्म समयसीमा निर्धारण गरेको थियो ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।