• १३ साउन २०८१, आइतबार

राजनीतिकर्मीले त्याग गर्न बुद्धबाट सिकौं : गृहमन्त्री

blog

गृहमन्त्री बालकृष्ण खाण छात्रवासको उद्घाटन गर्दै । तस्बिर : श्यामशंकर पाण्डे

श्यामशंकर पाण्डे
लुुम्बिनी, असोज ८ गते । 
गृहमन्त्री बालकृष्ण खाणले गौतमबद्धले जस्तै त्यागको भावना लिएर अगाडि बढे राजनीतिकर्मीले पनि सफलता चुम्न सक्ने बताउनुभएको छ । गृहमन्त्री खाणले सबै पार्टीहरूमा टिकटका लागि आकांक्षीहरु धेरै रहेको र सबै उम्मेदवार बन्न नसक्ने भएकाले एक कदम पछाडि हटेर त्याग गर्न आग्रह गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित शान्ति बुद्ध गुम्बाको छात्रवास भवनको उद्घाटन गर्नुहुँदै गृहमन्त्री खाणले सबैजना उम्मेदवार बन्न सम्भव नरहेको राजनीतिक जीवनमा त्याग गर्न पनि सिक्नुपर्ने र त्याग गर्ने कुरा गौतमबद्धबाट सिक्नुपर्ने उल्लेख गर्नुभयो ।

‘‘अहिलेको संवेदनशील अवस्थामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नपर्नेछ, नयाँ जनादेशले नयाँ राजनीतिक उचाई चुम्नुपर्ने छ,’’ उहाँले भन्नुुभयो, ‘‘त्यसैले कहिलेकाही मुलुक र विचारका लागि पनि एक कदम पछाडि हट्न सक्नुपर्छ । यो कुरा बुद्धबाट सिक्नुपर्छ ।’’


बुद्धले संसारभर शान्तिको प्रवर्द्धन गरी सन्देश फैलाएकाले उहाँ प्रति श्रद्धा र सम्मान गर्नु सबैको दायित्व रहेको समेत उहाँले बताउनुभयो ।

गृहमन्त्री खाणले भन्नुभयो, ‘‘जस्तोसुकै हिंसामा लागेको व्यक्ति पनि शान्तिको मार्गमा आउनुपर्छ । बुद्धले मानवीय समाजका लागि सेवा गर्नुपर्छ भन्ने सिकाउनुभएको छ, हामीले सिक्न जरुरी छ ।’’

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले गुम्बामा अध्ययनरत विद्यार्थीहरूले विश्वमा शान्तिको सन्देश फैलाउन अहम् भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

गुम्बाका अध्यक्ष आशबहादुर गुरुङका अनुसार लुम्बिनी प्रदेश सरकार, सिद्धार्थनगर नगरपालिका र स्थानीयको सहयोगमा ३० लाख लागतमा छात्रवास भवन निर्माण भएको हो । उहाँले बजेट विनियोजन गर्नका लागि गृहमन्त्री खाँणले सहयोग गरेको समेत बताउनुभयो ।