• १३ साउन २०८१, आइतबार

बर्दिवासमा तस्करीका काठ बरामद, मिल सञ्चालक फरार

blog

रामगोपालपुर नपा–५ स्थित स मिलबाट तस्करीका काठ नियन्त्रणमा लिँदै वन कर्मीको टोली । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिवास, असोज ८ गते ।
सव डिभिजन वन कार्यालय औरहीले रामगोपालपुर नगरपालिका–५ स्थित जय माँ काष्ठ उद्याेगमा शनिबार छापा मारेर सखुवा जातको करिब ३० क्युफिट काठ नियन्त्रणमा लिएको छ । बरामद गरिएका काठमा विभिन्न साइजका ३५ थान चिरान रहेको जनाइएको छ ।

वन अधिकृत कृष्णकुमार पटेलको कमाण्डमा सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकसहित घटनास्थल पुगेको टोलीले स मिल घेराबन्दी गरि करिब एक घण्टा लगाएर खोजतलास गरेको थियो । त्यस क्रममा स मिल परिसरमा रहेको विन्देश्वर यादवको घर आँगनबाट बोराले छोपेर राखेको अवस्थामा उक्त चिरान बरामद भएको डिएफओ सन्तोष झाले जानकारी दिनुभयो ।

सशस्त्र वन रक्षक प्रमुख अवतार लामाले दिएको जानकारी अनुसार सुरक्षाकर्मीसहित घट्नास्थल पुगेपछि स मिल सञ्चालक रामविनय यादव फरार भएका छन् । काठ फेला परेको घरमासमेत महिला र केटाकेटी मात्र रहेकोले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न नसकिएकाे लामाले बताउनुभयो ।

बरामद काठ सागरनाथ वन विकाश परियोजना मातहतको जङ्गलबाट चोरी गरी ल्याइएको वनकर्मीको प्रारम्भिक अनुमान छ । सत्यतथ्य अनुसन्धान गर्दै जादा खुल्ने डिभिजन वन प्रमुख (डिएफओ) झाले बताउनुभयो ।

तस्करको पहिचान खुलेकाले उनीहरुविरुद्ध मुद्दा दर्ता गरी कारवाही अघि बढाइने डिभिजन वन कार्यालयले जनाएको छ । डिएफओ झाले घटनाको अनुसन्धान गरी प्रतिवेदन बुझाउन औरही सव डिभिन वन कार्यालयका अधिकृत कृष्णकुमार पटेललाई अनुसन्धान अधिकृत तोकिएको बताउनुभयो । 

बरामद काठ माइस्थानस्थित सशस्त्र वन सुरक्षा शाखाको जिम्मामा राखिएको छ ।