• १३ साउन २०८१, आइतबार

जनप्रतिनिधि र कर्मचारीलाई कानुनी ज्ञान दिँदै चन्द्रकोट

blog

तिलाचन पाण्डे

तम्घास, असोज ८ गते । चन्द्रकोट गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई कानुनी व्यवस्थाबारे जानकारी गराउन कानूनी शिक्षा प्रदान गरेको छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरु र कर्मचारीहरुको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीका बारेमा स्पष्ट हुने उद्देश्यका साथ कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।

भर्खरै निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो अधिकार र कर्तव्य अन्तर्गत कानुनी व्यवस्थाका बारेमा जानकारी गराउँदा कार्य सम्पादन, सभा सञ्चालनमा स्पष्टता हुने केसीको दाबी छ ।

उहाँले कर्मचारी र जनप्रतिनिधिलाई काम कर्तब्यसंगै अधिकारको बारेमा स्पष्ट भएपछि  मात्रै सही तरिकाले सार्वजनिक सेवा प्रवाह, जनताप्रति उत्तरदायी एवम् जवाफदेहिता हुने भन्दै कार्यक्रम फलदायी भएको बताउनुभयो ।

स्थानीय सरकारलाई न्यायिक अधिकार पनि भएकाले न्यायिक समितिका पदाधिकारीहरुले कसरी  भरपर्दो रुपमा न्याय सम्पादन गर्ने भन्ने बारेमा अभिमुखीकरण गराइएको हो ।

पछिल्लो समयमा स्थानीय तहहरुमा बेरुजुको चाङ लागिरहेको समयमा वेरुजुलाई कसरी कम गर्ने भन्ने बारेमा पनि कर्मचारी र जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको हो ।

उक्त कार्यक्रम फलदायी भएको वडा नम्वर १ का वडा अध्यक्ष एवम प्रवक्ता घनश्याम खरेलले जानकारी दिनुभयो ।

कर्मचारी , जनप्रतिनिधिबीचको तालमेल र काम कर्तब्यसँगै अधिकारका बारेमा जानकारी नहुँदा धेरै स्थानहरुमा कार्यसम्पादनमा समस्या आउने गरेको भन्दै यो कार्यक्रमले उक्त समस्याको पनि हल गर्ने गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

जनप्रतिनिधिहरुले नीतिनियम, कानुन निर्माण गर्ने र कर्मचारीहरुले त्यसको कार्यन्वयन गर्ने भएकाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुने ज्ञवालीको तर्क छ ।

उक्त कार्यक्रमको सहजीकरण नेपाल सरकारका पूर्व मुख्य सचिब लीलामणि पौडेल र गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले गर्नुभएको थियो ।