• १३ साउन २०८१, आइतबार

नेता असल भए विकास सम्भव : मन्त्री चौधरी

blog

सिमरा, असोज ८ गते ।  सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता असल भएमा विकासका काम तीव्र हुने बताउनुभएको छ । बाराको गढिमाई पार्क, गढिमाई चोकदेखि रसौला, बस्डिल्वा, इनर्वासिया बजार, सानो माटियरिया चिनी मिल हुँदै मानवत मटिअर्वा हुलाकी राजमार्ग जोड्ने सडक खण्ड, टेलिकम चोक– विकासशील चोक –रङ्गशाला चोक –एयर्ट पोर्ट दक्षिण सिमानासम्म जोड्ने सडक निर्माण लगायत ५० करोडका आयोजनाहरुको सहरी मन्त्री चौधरीले शुक्रबार शिलान्यास गर्नुभएको हो ।

शिलान्यास पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले असल नेता नभएपछि बारा पछि परेको धारणा राख्नुभयो ।  मन्त्री चौधरीले भन्नुभयो, “जुन ठाउँका नेता असल, इमानदार र विकासप्रेमी हुन्छन् त्यहाँ तीव्र गतिमा विकास पुग्छ । तर जहाँ जनताको काममा ध्यान दिनेभन्दा पनि गफ ठूला गर्ने नेता हुन्छन्, जहाँ जनतालाई हेप्ने, थर्काउने नेता हुन्छन्, त्यहाँ विकास हुँदैन ।”

चुनाव जितेपछि नेता पार्टीभन्दा माथि उठेर विकासका काममा लाग्नुपर्ने बताउदै उहाँले बाराको विकासमा जनताले चाहे जति बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक दीपिल शेखर श्रेष्ठले स्थानीय तह आत्मनिर्भर हुन जरुरी रहेको बताउँदै शिलान्यास भएका आयोजनाहरु समयमै सकिने बताउनुभयो ।

 सघन सहरी तथा भवन निर्माण बाराका आयोजना प्रमुख झपटबहादुर थापाले शिलान्यास गरिएका जम्मै आयोजनाहरुले जनताको जीवनमा ठुलो परिवर्तन आशा व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रदेश सभा सदस्य शोभा लामा, सुन्दर विक, एकबाल मियाँ, सीता गुरुङ, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारीलगायत विभिन्न दलका प्रतिनिधिले मन्तव्य राख्नुभएको थियो ।