• १३ साउन २०८१, आइतबार

पाल्पामा चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना

blog

बिन्दु थापा

तानसेन असोज ८ गते । बडा दशैं, भाइटीका तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय पाल्पाले चाडपर्वलक्षित नागरिक सहायता कक्षको स्थापना गरेको छ । जिल्लाको तानसेन बसपार्क, रामपुर, हार्थोक र आर्यभन्ज्याङमा सहायता कक्ष स्थापना गरीएको हो । 

सुरक्षा योजना बनाइ जिल्लामा भित्रिने तथा  बाहिरिने सर्वसाधारणको सुरक्षाको लागी स्थापना भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले बताउनुभयो । पन्थले चाडपर्वको समयमा  सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएकोभन्दा धेरै भाडा नलिन आग्रह गर्नुभयो । 

तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई थप प्रभावकारी बनाउन सोही सुरक्षा योजनाअनुसार प्रहरी परिचालन गरि जनताको सुरक्षामा लाग्नुपर्नेमा जोड दिनुभयो ।  

चाडपर्व मनाउने तथा यात्रु आवतजावतको क्रममा हुनसक्ने सम्भावित धार्मीक तथा साम्प्रदायिक विवाद, पटाकाजन्य विस्फोटक बिक्रीवितरण, चोरी तथा लुटपाट, जुवातास, मादक पदार्थ लागूऔषधको सेवन गरी होहल्ला गर्ने, सवारी दुर्घटना नियन्त्रण सवारी साधनमा हुन सक्ने यौन दुर्व्यवहार लगायतका विषयमा आफूले सुरक्षा योजना बनाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक वीरेन्द्रबहादुर थापाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयले दशैं, लक्ष्मीपूजा र छठपर्वको समयमा जिल्लाको शान्ति सुव्यवस्थालाई थप प्रभावकारी बनाउन योजना बनाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दामोदर मल्लले जानकारी दिदै कुनै पनि यात्रु पैसाका कारण अलपत्र परे यातायात व्यवसायीसँग र प्रहरी मिलेर सम्बधित ठाउँमा पुराइदिने बताउनुभयो । 

तानसेन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष सागरमान महर्जन, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, नेपाल रेडक्रस पाल्पाका अध्यक्ष बुद्विप्रसाद शर्मा, नेपाल पत्रकार महासङ्घ पाल्पाका उपाध्यक्ष भरत शर्मा इन्सेक पाल्पाका प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना श्रीनगर यातायात सेवा कम्पनी प्राली सचिव भविन्द्र गौतम ,यातायात व्यवसायी सेवा कार्यालय प्रमुख केशव सुनारलगायतले बोल्दै  कुनै पनि सवारी साधन जनताको सजिलोको लागी हुनुपर्ने बताउनुभएको थियो ।

सर्वसाधारणलाई यो वा त्यो बहानामा तोकिएको भन्दा धेरै भाडा लिन नहुने , जेष्ठ नागरिक तथा गर्भवती महिला, शारीरिक अस्वस्थ भएकाहरुलाई सम्मानपूर्वक यात्रा गराउनुपर्नेमा जोड दिएका थिए ।

चाडपर्वमा हुन सक्ने सम्भावित घटनालाई दृष्टिगत गरी प्रशासन कार्यालय पाल्पाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पाल्पा र ट्राफिक प्रहरी कार्यालय, पश्चिम बस व्यवसायी समिती, रेडक्रस सोसाइटी पाल्ला, इन्सेक तथा यहाँका संघसस्थाको संयुक्त रूपमा प्रहरी परिचालनको रणनीतिक कार्ययोजना बनाएर सर्वसाधरणको यात्रा सहज बनाउन नागरीक सहायता कक्ष स्थापना गरीकएको हो ।

जिल्लाको रामपुर, तानसेन बसपार्क, हार्थोक र आर्यभन्ज्याङमा नागरिक सहायक कक्षको स्थापना गरिएको छ ।