• ११ असोज २०८१, शुक्रबार

अपाङ्गता भएका व्यक्तिलक्षित रोजगार मेला

blog

रङ्गेली समाचारदाता

विराटनगर, असोज ८ गते । अपाङ्गता भएका व्यक्तिको रोजगारी सुनिश्चितताका लागि विराटनगरमा दुईदिने रोजगार मेला आयोजना गरिने भएको छ ।  नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ सहित निजी क्षेत्रका सङ्घसंस्थाको सहकार्यमा आगामी कात्तिक १८ र १९ गते मेला आयोजना गरिने भएको हो ।

सो मेलामा प्रदेश १ का आठ जिल्लाबाट तीन सय लाभग्राही र एक सय रोजगारदातालाई एकै थलोमा राखिने भएको छ । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, धनकुटा, सङ्खुवासभा र भोजपुर सहभागिता रहने भएको छ । 

विभिन्न नौ क्षेत्रका रोजगारदातासँग दक्षता र क्षमताका आधारमा लाभग्राहीले परामर्श गर्नेछन् ।

शिक्षा, स्वास्थ्य, उत्पादन, हस्पिटालिटी, गार्मेन्ट, बैङ्क, विकास साझेदार, साना उद्योगअन्तर्गतका सिलाइ–कटाइका स्टल रहने उपाध्यक्ष राउतले जानकारी दिनुभयो । “रोजगारदाताको माग र लाभग्राहीको क्षमताको परीक्षण हुनेछ । त्यसका आधारमा उनीहरूलाई छनोट गर्ने र रोजगार सुनिश्चित गरिनेछ,” नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले भन्नुभयो । 

‘रोजगारीमा अपाङ्गता भएका व्यक्ति नछुटौँ, राष्ट्र निर्माणमा सबै जुटौँ’ भन्ने नारासहित आयोजना हुने मेलामा महासङ्घसहित द लेप्रोसी मिसन नेपाल, राष्ट्रिय अपाङ्गता महासङ्घ नेपाल र करुणा फाउन्डेसन संलग्न छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले समन्वय गर्ने मेलामा मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङ, विराट व्यापार सङ्घ सहयोगी छन् । 

प्रदेश १२५ जनाभन्दा बढीलाई रोजगारी दिइरहेका रोजगारदातालाई मेलामा सहभागी गराइने भएको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर मेलाबारे जानकारी दिइएको हो । 

प्रदेश १ का ७९ स्थानीय तहले अपाङ्गता रोकथाम कार्यक्रम सञ्चालन गर्दै आएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ ले हालसम्म ७५ जनालाई रोजगारीसँग जोडेको र १२५ जनालाई स्वरोजगार बनाएको बताइएको छ ।