• १६ भदौ २०८१, आइतबार

नवौँ राष्ट्रिय खेलकुद हुने जिल्लामा तयारी तीव्र

blog

अर्जुन काफ्ले 

स्याङ्जा, असोज ६ गते । गण्डकी प्रदेशमा गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढेको छ । ३६ खेलका खेलस्थल सार्वजनिक गरेसँगै खेलमैदानको निर्माणलाई अगाडि  बढाइएको छ ।

प्रदेशको राजधानी पोखरालाई मुख्य आयोजनास्थल मान्दै प्रदेशका सात जिल्लामा खेल खेलाउने तयारी राखेपले गरेको छ । खेलस्थल र खेल तालिका सार्वजनिकसँगै प्रतियोगिता मुख्य आयोजनास्थल पोखरामा राष्ट्रिय खेलकुदको सरगर्मी बढेको छ ।

आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म प्रतियोगिता कास्की सहित स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बागलुङमा खेल हुनेछ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुद अन्तर्गतको कम्तीमा एक खेल खेलाउने भनिएपनि अन्तिममा आएर तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको छ । अधिकांश खेल पोखरामा केन्द्रित गरिएको छ । 

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रङ्गशालामा खेलाइने छ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्नष्टिक, ह्याण्डलबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रङ्गशालामा हुने प्रचार प्रसार उप समितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिनुभयो । 

बास्केटबल पुरुष पोखरा रङ्गशाला र महिलाको खेल पृथ्वीनारायण क्याम्पस, आर्चरी, फेन्सिङ पोखरा रंगशालमा हुनेछ । यस्तै जुडो र फुलकन्ट्याक्ट कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने विष्टले बताउनुभयो । 

पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारोत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन, प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ । रग्बी भण्डारढीक खेल मैदान, कबड्डी रञ्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्यान्डबल एकेडेमीमा खेलाइने छ । 

यस्तै म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ भने बागलुङमा आईटिएफ तेक्वान्दो हुनेछ । नवलपुरमा सेपाक ताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल तथा स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ भने पूर्वाधारको अभावमा सुटिङ भने काठमाडौँमा खेलाइने छ । 

परिषद्ले खेलाडीहरूको अनलाइन दर्ता सुरु गरेको छ भने सबै टोलीले अनलाइन फर्म दर्ता गर्नु पर्ने छ । खेल उद्घाटन अगावै महिला क्रिकेट असोज २३ गते देखी पोखरामा सुरु हुनेछ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोलीले १ हजार ३८६ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।