• १३ साउन २०८१, आइतबार

नक्कली कागज बनाएर भिजिट भिसामा

blog

काठमाडौँ, भदौ १३ गते । भिजिट भिसामा दुबई जाने क्रममा शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट फर्काइएकी मुगुकी २४ वर्षीय रमिता बस्नेत (नाम परिवर्तन)लाई आफ्नै बैङ्किङ विवरण र खातामा कति रकम छ भन्नेसमेत जानकारी छैन ।  

धादिङकी सुनिता तामाङ र मोरङकी कमला दर्जी (दुवैको नाम परिवर्तन)लाई दुबई पुगेर कहाँ जाने र के गर्ने भन्नेसम्म थाहा छैन । यो केही प्रतिनिधि पात्रको अवस्था मात्र हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पछिल्ला तीन दिनमा भिजिट भिसाको आवरणमा वनावटी र नक्कली कागजपत्र प्रयोग गरी खाडी मुलुक जान लागेका ११४ जना युवती र १०३ युवक गरी २१७ जनालाई विमानस्थलबाट फर्काइएको थियो । फर्काइएका अधिकांशको कागजपत्र नक्कलीसमेत रहेको पाइएको छ । अधिकांश यात्रुले प्रयोग गरेका बैङ्किङ कागजपत्रदेखि प्रहरी रिपोर्टसमेत बनावटी रहेको पाइएको छ । 

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जीसीले अधिकांश यात्रुले प्रयोग गरेका कागजपत्र बनावटी रहेको पाइएपछि विमानस्थलबाट फिर्ता गरिएको जानकारी दिनुभयो ।

फर्काइएका अधिकांश यात्रुको बैङ्किङ विवरण एकै किसिमको पाइएको छ । खातामा रकम जम्मा भएको मिति, रकम जम्मा गर्ने व्यक्ति तथा जम्मा गरेको रकमसमेत एउटै रहेको छ ।

मोरङ, सुनसरी, बारा, पर्सा र धनुषाबाट दुबई जान लागेका सात जना यात्रुको बैङ्किङ विवरणमा व्यक्तिको नामबाहेक सबै एउटै छ ।   

कुवेत जान लागेकी मुगुकी रमिता र दुबई जान लागेकी मोरङकी कमला दर्जीको बैङ्क फरक भए पनि जम्मा गरिदिने व्यक्ति, कारोबार र रकम एउटै छ तर दुवै जनालाई कारोबार रहेको बैङ्कको नाम र रकमबारे समेत जानकारी छैन ।

अध्यागमन विमागले जारी गरेको कार्यविधिमा भिजिट भिसामा खाडी मुलुक जाने यात्रुलाई आफ्नै परिवारकाले बोलाएको पत्र (स्पोन्सर लेटर) र सम्बन्धित देशको दूतावासको अनुमति अनिवार्य गरिएको छ । गृह मन्त्रालयले उक्त घटनाबारे अध्यागमन विभाग र प्रहरीबाट अनुसन्धान भइरहेको जनाएको छ । प्रवक्ता फणीन्द्रमणि पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमबाट यात्रुले प्रयोग गरका कागजपत्रको प्रमाणीकरण जटिल रहेको बताउनुभयो ।  उहाँले पछिल्लो घटनाबारे नेपाल प्रहरी अध्यागमन विभागलेसमेत छानबिन गरिरहेको र कमजोरी भएको पाइएमा कानुनी कारबाही अघि बढाइने बताउनुभयो ।

सेटिङको आशङ्का  

पछिल्ला घटनाक्रम यात्रु भ्रमण यात्रा र प्रयोग भएका कागजपत्रबाट भिजिट भिसाको आवरणमा मानव तस्करी भएको आशङ्का गर्ने प्रशस्त ठाउँ रहेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । यात्रुले प्रयोग गरेका बनावटी कागजपत्र र उनीहरूले प्रयोग गरेको उडान रुट र यात्रा समयसमेत शङ्कास्पद रहेको अनुसन्धानमा खटिएका प्रहरीले जनाएको छ ।  

भिजिट भिसामा जाने यात्रुलाई दुईतर्फी टिकट अनिवार्य गरिएकोमा अधिकांश यात्रुले अध्यागन पार गरेपछि फर्किने टिकटसमेत रद्द गरेकोसमेत खुलेको छ, प्रहरी प्रधान कार्यालयले सो घटनाबारे विस्तृत अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन ब्युरोलाई निर्देशनसमेत दिइसकेको जनाएको छ । 

यसैबीच फर्काइएर माइती नेपालको संरक्षणमा राखिएकामध्ये ७० जनालाई परिवार तथा आफन्तको जिम्मा लगाइएको छ ।