• १२ असार २०८१, बुधबार

फुङ्लिङका होटलमा क्याबिन राख्न प्रतिबन्ध

blog

ताप्लेजुङ, भदौ १० गते । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाभित्र सञ्चालनमा रहेका होटलमा क्याबिन राख्न प्रतिबन्ध गरिएको छ । जिल्लामा अवाञ्छित गतिविधि मौलाउँदै गएसँगै सुरक्षा चुनौती पनि बढ्दै गएको निष्कर्षसहित होटलहरुमा क्याबिन राख्न प्रतिबन्ध गरिने भएको हो ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको अध्यक्षतामा गएको मङ्गलबार बसेको जिल्लास्थित सुरक्षा निकायका प्रमुख र होटल व्यवसायीका प्रतिनिधिसहित सरोकारवालाको बैठकले क्याबिन राख्नमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । हालसम्म कुनै होटलमा क्याबिन सञ्चालित भए एक साताभित्र हटाइसक्नुपर्ने पनि निर्णय भएको छ । 

केही समयअघि सदरमुकाम फुङ्लिङ बजारका केही होटलमा यौनजन्य गतिविधि पनि हुने गरेको पाइएको र मदिरा सेवन, जुवाजन्य खेल लगायतका अवाञ्छित क्रियाकलाप हुन थालेपछि र अवाञ्छित गतिविधिका कारण हिंसाजन्य घटनाको सम्भावना बढेकाले उक्त निर्णय भएको बताइएको छ । यस्तै होटलमा बालबालिकाको प्रयोग गर्न नपाइने, बिनाअनुमति मदिराजन्य पदार्थको बिक्री वितरण गर्न नपाइनेसमेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

दसैँ तिहारजस्ता ठूला चाडपर्व नजिकिएको र प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनसमेत घोषणा भइसकेकाले सुरक्षा संवेदनशीलतालाई ध्यान दिनु अनिवार्य भएको पनि उहाँको भनाइ छ । यता जिल्लाको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी भएको निर्णयलाई कार्यान्वयन गर्न गराउनमा सबै पक्षको सहयोग हुने विश्वास लिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले बताउनुभयो ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।